दोश्रो टि-२०मा श्रीलंकाद्वारा ओमान पराजित, करुनारत्नेको अलराउण्ड प्रदर्शन

दोश्रो खेलमा घरेलु टोलि ओमानलाई ५ विकेटले पराजित गर्दै श्रीलंकाले ओमान भ्रमण अन्तर्गत दुई खेलको टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज २-० ले आफ्नो पक्षमा पारेको छ। सिरिज अन्तर्गत पहिलो खेलमा श्रीलंका १९ रनले विजयी भएको थियो।

अल अमिरात मैदानमा ओमानले दिएको १६० रनको लक्ष्य श्रीलंकाले १७.३ ओभरमा ५ विकेट गुमाएर भेटायो।

लक्ष्य पछ्याउने क्रममा श्रीलंकाले ८९ रन बनाउदा ५ विकेट गुमाएको थियो। त्यो अवस्थामा भानुका राजापक्ष र चमिका करुनारत्नेले छैठौं विकेटको लागि अविजित ७४ रनको साझेदारी गर्दै जितसम्म पुर्याए। राजापक्ष र करुनारत्ने दुवैले अविजित रहँदै समान ३५ रन बनाए। अभिस्का फर्नान्डोले ३३, पथुम निसंकाले २६ तथा दिनेश चण्डीमालले १८ अरन बनाए। ओमानको बलिंगमा मोहम्मद नदीमले दुई विकेट तथा कलेमुल्ल्लाह, फयाज बट र जिशान मक्सुदले समान एक विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको ओमानले निर्धारित २० ओभरमा ८ विकेट क्षेतीमा १५९ रन बनाएको थियो।

ओमानको ब्याटिंगमा अकिब इल्यासले सर्वाधिक ६० रन बनाए जुन क्रममा ३८ बलमा ३ चौका र ४ छक्का प्रहार गरे। यस्तै कश्यप प्रजापतिले २२, आयान खानले २०, जिशान मक्सुदले १६ तथा सन्दिप गौडले १२ रन योगदान दिए। तेश्रो नम्बरमा ब्याटिंग गरेका इल्यासले तेश्रो विकेटको लागि कप्तान मक्सुदसंग ३९ रनको तथा चौंथो विकेटको लागि आयानसंग ५९ रनको महत्वपूर्ण साझेदारी गरे।

श्रीलंकाको बलिंगमा दायाँ हाते पेसरद्वय लाहिरु कुमारा ( ४-१-२०-२ ) र चमिका करुनारत्नेले ( ४-०-३९-२ ) समान दुई विकेट लिए। यस्तै बिनुरा फर्नान्डो, महेश थिक्साना र दासुन शनाकाले समान एक विकेट लिए।

ओमान र युएईले संयुक्त रुपमा आयोजना गर्ने टि-२० विश्वकप २०२१ अक्टोबर १७ तारिख देखि सुरु हुँदैछ। पहिलो चरणमा ओमान समुह ‘बि’मा बंगलादेश, पपुवा न्यु गिनी र स्कटल्याण्डसंग रहेको छ भने श्रीलंका समुह ए”मा आयरल्याण्ड, नामिबिया र नेदरल्याण्डसंग रहेको छ। समुह चरणमा शिर्ष-२ स्थानमा रहने टोलि सुपर-१२ चरण खेल्न छनोट हुनेछ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy