ओमानद्वारा अमेरिका ७२ रनले पराजित, सिरिज समाप्तिमा अंकतालिकाको अवस्था

२०७८ आश्विन ४, सोमबार २३:५०

अमेरिकालाई ७२ रनले पराजित गर्दै ओमानले आईसीसी विश्वकप लिग-२ अन्तर्गत एघारौं जित दर्ता गर्न सफल भएको छ।

अल अमिरात मैदानमा सम्पन्न त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा ओमानले दिएको २७५ रनको लक्ष्य पछ्याएको अमेरिकाले ३९.५ ओभरमा सबै विकेट गुमाएर २०२ रन मात्र बनाउन सक्यो। अमेरिकाको लागि मोनाक पटेलले सर्वाधिक ५६ रन, गजानन्द सिंहले ४८ रन बनाए।

ओमानका देब्रे हाते स्पिनर आयान खानले सर्वाधिक ४ विकेट ( ८-०-३६-४ ) लिए भने खवर अलिले ३ विकेट ( ८.५-०-४९-२३ ) लिए। बिलाल खान र कलेमुल्लाहले समान १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको ओमानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २७४ रन बनाएको थियो। ओमानको लागि कप्तान जिशान मक्सुदले सर्वाधिक ५३ रन, जतिन्दर सिंहले ४२ रन, आयान खानले ४१ रन, नसिम खुसिले ३५ रन तथा डेब्यु गरेका ओपनर पृथ्वीकुमार मच्ची र सन्दिप गौडले समान २५ रन तथा कलेमुल्लाहले अविजित १६ रन योगदान दिए।

अमेरिकाको बलिंगमा देब्रे हाते स्पिनर नोस्थुस किन्जिगेले सर्वाधिक ३ विकेट ( १०-०-४९-३ ) लिए। स्टेभेन टेलर , निसर्ग पटेल र करिमा गोरेले समान १ विकेट लिए।

सिरिज अन्तर्गत ओमानले ४ खेलमा ३ जित र १ हार बेहोर्यो भने अमेरिकाले ४ खेलमा १ जित र ३ हार बेहोर्यो। नेपालले २ जित र २ हार बेहोर्यो। ओमानले अमेरिकालाई दुवै खेलमा पराजित गर्यो भने नेपालसंग एक खेलमा हार बेहोर्यो। अमेरिकाले नेपाललाई एक खेलमा पराजित गर्यो भने ओमानसंग दुवै खेलमा तथा नेपालसंग एक खेलमा हार बेहोर्यो। नेपालले ओमान र अमेरिकालाई एक/एक खेलमा पराजित गर्दा एक/एक खेलमा हार पनि बेहोर्न पुग्यो।

त्रिकोणात्मक सिरिज पछि ओमान आईसीसी विश्व कप लिग-२ अंकतालिकामा १४ खेलमा ११ जित र ३ हार सहित २२ अंक बटुल्दै शिर्ष स्थानमा रहेको छ। अमेरिका १६ खेलमा ७ जित र ९ हार पछि दोश्रो स्थानमा छ। नेपाल ८ खेलमा ४ जित र ४ हार पछि चौंथो स्थानमा रहेको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy