युएई र ओमानमा संयुक्त रुपमा जारि सातौँ संस्करणको टि-ट्वान्टी विश्वकप अन्तर्गत समुह ‘बि’ अन्तर्गतको खेलमा बंगलादेश र आयोजक ओमान प्रतिस्पर्धा गरिरहेका छन्। जारि खेल जितेको खण्डमा ओमान र स्कटल्याण्ड सुपर-१२ चरण प्रवेश गर्नेछ भने बंगलादेश र पपुवा न्यु गिनी पहिलो चरणबाट बाहिर हुनेछ।
गर या मरको खेलको अल अमिरात मैदानमा टस जितेर ब्याटिंग रोजेको बंगलादेशले निर्धारित २० ओभरमा सम्पूर्ण विकेट गुमाएर १५३ रन बनाउदै ओमानलाई १५४ रनको लक्ष्य प्रस्तुत गरेको छ। बंगलादेशको लागि ओपनर मोहम्मद नैमले सर्वाधिक ६४ रन बनाए जुन क्रममा ५० बलमा ३ चौका र ४ छक्का प्रहार गरे। यस्तै शाकिब अल हसनले २९ बलमा ६ चौका मद्दतले ४२ रन बनाए। महमुदुल्लाहले १७ रन बनाए।
लिटन दास र मेहदी हसन छिटै पेभेलियन फर्किएपछि नैम र शाकिबले तेश्रो विकेटको लागि ८० रन जोडेका थिए। शाकिब र नैम आउट भएपछि लगातार विकेट गुमाएको बंगलादेश १०१/२ को अवस्थाबाट १२२/६ को अवस्थामा पुग्यो। त्यसपछि पनि विकेट जाने क्रम नरोकिदा बंगलादेशले अन्तिम ५ ओभरमा ६ विकेट गुमाएर ४१ रन मात्र बनायो।
ओमानको बलिंगमा फयाज बट ( ४-०-३०-३ ) र बिलाल खानले ( ४-०-१८-३ ) समान ३ विकेट लिए। कलेमुल्लाहले २ विकेट ( ४-०-३०-२ ) तथा जिशान मक्सुदले १ विकेट ( २-०-१७-१ ) लिए।
प्रतियोगिता अन्तर्गत ओमानले पहिलो खेलमा पपुवा न्यु गिनीलाई पराजित गरेको थियो भने बंगलादेश पहिलो खेलमा स्कटल्याण्डसंग पराजित भएको थियो।
