- विकेटनेपाल, बैशाख २४
प्रदेश-२ ले मनमोहन मेमोरियल अन्डर-१६ अन्तर प्रदेश क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।
टियु मैदानमा मंगलबार सम्पन्न फाइनल खेलमा प्रदेश-७ ( सुदुरपश्चिम ) लाई ४ विकेटले पराजित गर्दै प्रदेश-२ ले उपाधि जितेको हो।
उपाधि सहित प्रदेश-२ ले २ लाख ५० हजार रुपैयाँ तथा २ लाख ५० हजारको खेलकुद सामग्री पनि प्राप्त गर्यो। उपविजेता प्रदेश-७ ले १ लाख २५ हजार नगद र सो सरहको खेलकुद सामग्री पनि प्राप्त गर्यो।
प्रतियोगिताको उत्कृस्ट खेलाडी प्रदेश-७ का कप्तान सुवास ऐर चुनिए। प्रदेश-३ का अइस भट्टराई उत्कृस्ट ब्याट्सम्यान तथा प्रदेश-३ कै दिपक बोहरा उत्कृस्ट बलर चुनिए भने उदयमान खेलाडीको अवार्ड भार्गव चतौटले पाए। सुवास, अइस र दिपक ३ जनानै अन्डर-१६ राष्ट्रिय क्रिकेटर हुन् ।
फाइनल खेलमा टस जितेर पहिले ब्याटिंग गर्दै प्रदेश-७ ले दिएको १३४ रनको लक्ष्य प्रदेश-२ ले २६.३ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो।
जितमा प्रदेश-२ का ओपनर रोहण बिकले सर्वाधिक ३६, बिशाल पटेलले अविजित २८ र निखिल सिंहले २७ रन बनाए। प्रदेश-७ का बलर आशिष भट्टले ३ विकेट ( ६-०-९-३ ) लिए।
लक्ष्य पछ्याउने क्रममा ७८ रनमा ५ विकेट गुमाएको अवस्थामा छैठौं विकेटको लागि निखिल सिंह र बिशाल पटेलले ४१ रनको साझेदारी टिमलाई जित नजिक पुर्याएका थिए।
यस अघि पहिले ब्याटिंग गर्ने क्रममा प्रदेश-७ का कप्तान सुवास ऐरले सर्वाधिक ४७ रन बनाएका थिए। ५४ बलमा ऐरले ७ चौका प्रहार गरे। यस्तै सन्दिप बिस्टले २८ र आशिष भट्टले २१ रन बनाए। प्रदेश-२ बलर बि पटेल र निखिल सिंहले ३/३ विकेट लिए।
निखिल सिंह खेलको प्लेयर अफ द म्याच चुनिए।