प्रधानमन्त्री कप राष्ट्रिय महिला टि-२० प्रतियोगिता अन्तर्गत मंगलबार सम्पन्न समुह ‘बि’ अन्तर्गतको दोश्रो खेलमा प्रदेश-१ ले बागमती प्रदेशलाई ४६ रनले पराजित गरेको छ।
लमही क्रिकेट मैदानमा सम्पन्न खेलमा प्रदेश-१ ले दिएको १०७ रनको लक्ष्य पछ्याउने क्रममा बागमतीले १६.४ ओभरमा ६० रन मात्र बनाउन सक्यो। स्कोरकार्ड , अंकतालिका
लक्ष्य पछ्याउने क्रममा बागमतीको लागि कन्चन श्रेष्ठले सर्वाधिक १३, सुमन खतिवडाले १२ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
प्रदेश-१ को बलिंगमा निगिमा तामांगले सर्वाधिक ३ विकेट तथा अप्सरी बेगमले २ विकेट हात पारिन् भने सबनम राई, अलिशा खडीया र निशा शाहको नाममा समान १ विकेट रह्यो।
यस अघि खेलमा टस जितेर ब्याटिंग गरेको प्रदेश-१ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनाएको थियो।
प्रदेश-१ को लागि कप्तान तथा ओपनर रुबिना क्षेत्रीले अर्धशतक बनाउने क्रममा सर्वाधिक ५५ रन प्रहार गरिन्। उनले ५५ बलमा ६ चौका हिर्काइन्। त्यस बाहेक अप्सरी बेगमले १६ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। अप्सरीले प्रतियोगिताकै पहिलो छक्का समेत प्रहार गरिन् जुन क्रममा लेग स्पिनर आरति बिडारीलाई लंगअनमा छक्का हिर्काईन्।
पहिलो ओभरमा काजल श्रेष्ठलाई खाता नखोली क्रिस्मा गुरुङले क्याच आउट गराएपछि रुबिनाले दोश्रो विकेटको लागि रोमा थापासंग ४५ रनको साझेदारी गरेकी थिईन्। यस्तै तेश्रो विकेटको लागि रुबिनाले लतिका राजबंशीसंग ३६ रन जोडिन्।
१६ औं ओभरमा रुबिनालाई आरति बिडारीले क्याच आउट गरेपछि भने प्रदेश-१ ले लगातार विकेट गुमाउन पुग्यो। सोहि ओभरमा आरतिले लतिकालाई समेत पेभेलिन फर्काइन्। ८५/५ को अवस्थाबाट अप्सरी बेगमले न्गिमा तामांगसंग अविजित २१ रनको साझेदारी गरिन्।
दिनको पहिलो खेलमा समुह ‘बि’ अन्तर्गत सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई ६० रनले पराजित गर्यो।
प्रतियोगिता अन्तर्गत समुह ‘ए’ को विजेताको रुपमा एपीएफ तथा उपविजेताको रुपमा लुम्बिनी प्रदेश सेमीफाइनल प्रवेश गरिसकेका छन्।