पाकिस्तान क्रिकेटरको नयाँ वर्गीकरण , पढ्नुस मासिक कति कमाउनेछन्

२०७६ श्रावण २३, बिहीबार २०:१७

पाकिस्तान क्रिकेट बोर्डले बिहिबार २०१९/२० सिजनको लागि क्रिकेटरहरुको केन्द्रीय अनुबन्धमा रहेका खेलाडीहरुको नयाँ वर्गीकरण गरेको छ।

पाकिस्तान बोर्डले क्रिकेटरहरुलाई ए , बि र सी गरि ३ वटा श्रेणीमा वर्गीकरण गरेको छ। ३ वटा श्रेणीमा कुल १९ जना क्रिकेटरहरु रहेका छन्। अघिल्लो पटक ३३ जना खेलाडीहरुलाई बोर्डले केन्द्रीय कन्ट्रयाक्ट दिएको थियो जसमा यो पटक ठुलो कटौती गरेको हो। त्यस बेला ५ वटा श्रेणीमा खेलाडीहरुलाई विभाजित गरिएको थियो।

यो पटक ए श्रेणीमा मात्र ३ जना क्रिकेटरहरुलाई समावेस गरिएको छ जसमा बाबर आजम, सरफराज एहमद र यासिर शाह रहेका छन्। बि श्रेणीमा इमाम उल हक, वहाव रियाज, शाहिन अफ्रिदी जस्ता क्रिकेटरहरु रहेका छन्। मोहम्मद आमिर, फखर जमान, हसन अलि जस्ता क्रिकेटर सी श्रेणीमा रहेका छन्।

सरफराज एहमद ए श्रेणीमा रहेका छन्

मोहम्मद हफिज र शोयब मालिक जस्ता सिनियर खेलाडीहरुलाई कन्ट्रयाक्ट दिईएको छैन तर उनीहरु टिम छनौटमा भने उपलब्ध हुनेछन्। बोर्डले पछिल्लो १ वर्षको प्रदर्शन र फिटनेस हेर्दै आगामी दिनमा पाकिस्तानको लागि खेल्न सक्ने खेलाडीहरुलाई कन्ट्रयाक्ट दिएको बिज्ञप्तिमा बताएको छ।

कन्ट्रयाक्ट १ जुलाई २०१९ देखि जुन ३० २०२० सम्मको लागि हो। यो अवधिमा पाकिस्तानले श्रीलंकासंग टेस्ट, एकदिवसीय र टि-२० सिरिज खेल्नेछ भने अस्ट्रेलिया र बंगलादेशसंग पनि टेस्ट र टि-२० सिरिज खेल्नेछ।


पाकिस्तान क्रिकेट बोर्डको कन्ट्रयाक्ट ( १-जुलाई २०१९ देखि जुन-३० २०२० सम्म ) 

क्याटेगरि ए – बाबर आजम, सरफराज एहमद र यासिर शाह
क्याटेगरि बि – अशद शफिक, अजहर अलि, हरिस सोहेल, इमाम उल हक, मोहम्मद अब्बास, शदाब खान, शाहिन अफ्रिदी, वहाब रियाज 
क्याटेगरि सी –
अबिद अलि , हसन अलि , फखर जमान, इमाद वासिम, मोहम्मद आमिर, मोहम्मद रिजवान, सहन मसुद र उस्मान शिन्वारी

कति पाउनेछन् खेलाडीहरुले वर्गीकरण अनुसार तलब ? 

क्रिकबजका अनुसारगत साल भन्दा २५ देखि ४० प्रतिशतसम्म खेलाडीहरुको तलब बढेको बताईएको छ। ‘ए’ श्रेणीमा रहेका ३ जना खेलाडीहरुले प्रति महिना ११ लाख पाकिस्तानी रुपैयाँ ( करिब ७ लाख ७७ हजार नेपाली रुपैयाँ ) पाउनेछन्। यस्तै ‘बि’ श्रेणीमा रहेका खेलाडीहरुले प्रति महिना ७.५ लाख पाकिस्तानी रुपैयाँ ( करिब ५ लाख ३० हजार नेपाली रुपैयाँ ) पाउनेछन्। यस्तै ‘सी’ श्रेणीमा रहेका क्रिकेटरहरुले ५ लाख ५० हजार पाकिस्तान रुपैयाँ ( करिब ३ लाख ८८ हजार नेपाली रुपैयाँ ) पाउनेछन्।

शोयब मलिक र मोहम्मद हफिज वर्गीकरणमै परेनन्

भारतीय क्रिकेटरको दाँजोमा पाकिस्तानी क्रिकेटरको तलव निकै कम हो। भारतले आफ्ना क्रिकेटरहरुलाई ए+ , ए , बि र सी गरि ४ वटा श्रेणीमा वर्गीकरण गरेको छ। ए+ ग्रेडका खेलाडीहरुले वार्षिक ७ करोड भारु, ए ग्रेडकोले वार्षिक ५ करोड भारु, बि ग्रेडकोले वार्षिक ३ करोड भारु र सी ग्रेडकाले वार्षिक १ करोड भारु पाउछन्। ए+ ग्रेडमा बिराट कोहली, रोहित शर्मा, जस्प्रित बुम्राह जस्ता खेलाडीरहेका छन् भने ए ग्रेडमा धोनी, भुवनेश्वर कुमार, रभीचन्द्रन आश्विन, मोहम्मद शामी, शिखर धवन जस्ता क्रिकेटरहरु रहेका छन्। 

विश्वकपमा पाकिस्तान सेमीफाइनल पुग्न असफल भएपछि पाकिस्तान नयाँ योजनाका साथ अघि बढ्ने बताईएको छ। न्युजिल्याण्डसंग अंक बराबरी भए पछि नेट रनरेटमा पछि पर्दै पाकिस्तान सेमीफाइनल पुग्न असफल भएको थियो। बुधबार बोर्डले प्रशिक्षक मिकी अर्थरको कन्ट्रयाक्ट नथप्ने निर्णय गरिसकेको छ। पाकिस्तानको टिम छनौट समिति नयाँ गठन गरिनेछ भने प्रशिक्षण टिम नयाँ हुनेछ।

२०१७ को च्याम्पियन्स ट्रफीमा भारतलाई फाइनलमा पराजित गर्दै उपाधि जितेको पाकिस्तानले त्यसबाहेक खास उपलब्धि गर्न सकेको छैन। टेस्ट र एकदिवसीयमा उत्कृस्ट प्रदर्शन गर्न असफल पाकिस्तान टिमले टि-२० मा मात्र राम्रो प्रदर्शन गर्न सक्यो।

( क्रिक्बजको सहयोगमा तयार पारिएको )

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy