इंग्ल्याण्डमा जारि एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत इंग्ल्याण्डले जित्ने पर्ने खेलमा न्युजिल्याण्डलाई ११९ रनको ठुलो अन्तरले पराजित गर्दै इंग्ल्याण्ड सेमीफाइनलमा पुगेको छ।
सन् १९९२ को एकदिवसीय विश्वकप पछि विश्वकप सेमीफाइनल पुग्न इंग्ल्याण्डले २७ वर्ष प्रतीक्षा गर्नु पर्यो। सन् १९७५ देखि ९२ सम्म लगातार ५ पटक इंग्ल्याण्ड सेमीफाइनल पुगेको थियो।
इंग्ल्याण्ड भन्दा अघि अस्ट्रेलिया र भारतले सेमीफाइनलमा स्थान बनाइसकेका छन्। अब पाकिस्तान र न्युजिल्याण्ड मध्ये एक टिम सेमीफाइनल प्रवेश गर्नेछ।
अंकतालिका
लिग चरणका बाँकी खेलहरु –
जुलाई ४ – अफगानिस्तान Vs वेस्टइन्डिज , जुलाई ५ – पाकिस्तान Vs बंगलादेश , जुलाई ६ – श्रीलंका Vs भारत र अस्ट्रेलिया Vs दक्षिण अफ्रीका
लिग चरणको सम्पूर्ण खेल खेल्दा न्युजिल्याण्डले ९ खेलमा ५ जित, ३ हार बेहोर्यो भने १ खेल नतिजा विहिन रह्यो। यस क्रममा उसको ११ अंक रहेको छ र अंकतालिकामा चौथो स्थानमा रहेको छ।
अँकतालिकामा पाँचौ स्थानमा रहेको पाकिस्तानले बंगलादेशसंग १ खेल खेल्न बाँकी रहेको अवस्थामा ८ खेलमा ४ जित, ३ हार र १ नतिजाविहिन खेल सजित ९ अंक बटुलेको छ।
यो अवस्थामा पाकिस्तान सेमीफाइनल पुग्न जुलाई ५ शुक्रबार बंगलादेशसंगको खेल जितेर मात्रै हुनेछैन नेट रन रेटमा न्युजिल्याण्डलाई पछि पार्नु पर्नेछ। न्युजिल्याण्डको नेट रन रेट +०.१७५ रहेको छ भने पाकिस्तानको -०.७९२ रहेको छ।
पाकिस्तान निम्न अवस्थामा सेमीफाइनल पुग्न सक्छ
पाकिस्तानले बंगलादेशसंग खेलमा पहिले बलिंग गरेमा खेल सुरु हुनु अगावै सेमीफाइनल सम्भावना समाप्त हुनेछ। यदी बंगलादेशसंग पहिले ब्याटिंग गरेमा भने निम्न अवस्थामा सरफराज एहमदको टिम सेमीफाइनल प्रवेश गर्नेछ।
१. पहिले ब्याटिंग गर्दै ३५० रन बनाएर बंगलादेशलाई ३९ रनमा अलआउट गर्दै ३११ रनले जित्ने
२. पहिले ब्याटिंग गर्दै ४०० रन बनाएर बंगलादेशलाई ८४ रनमा अलआउट गर्दै ३१६ रनले जित्ने
३. पहिले ब्याटिंग गर्दै ४५० रन बनाएर बंगलादेशलाई १२९ रनमा अलआउट गर्दै ३२१ रनको जित निकाल्ने
एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा हालसम्मको सबै भन्दा ठुलो रन अन्तरको जित २९० हो। न्युजिल्याण्डले सन् २००८ मा आयरल्याण्डलाई २९० रनले पराजित गर्दा पहिले ब्याटिंग गर्दै ४०२ रन बनाएको थियो र आयरल्याण्डलाई ११२ रनमा अलआउट गरेको थियो।
पाकिस्तान सेमीफाइनल पुग्न एकदिवसीय अन्तर्राष्ट्रीयमा नयाँ इतिहास कायम गर्नुपर्नेछ।
बंगलादेश यति ठुलो अन्तरले पराजित हुने सम्भावना छ ?
प्रतियोगितामा ठुला टिम बिरुद्ध उत्कृस्ट क्रिकेट खेल्दै आएको बंगलादेश कमजोर टिम छैन र पाकिस्तानलाई उल्टै पराजित गर्ने क्षमता राख्छ।
जारि विश्वकपमा बंगलादेशले बनाएको सबैभन्दा कम योगफल न्युजिल्याण्डसंग बनाएको २४४ रन हो। उसले भारतसंग २८६, अफगानिस्तानसंग २६२, अस्ट्रेलियासंग ३३३, वेस्टइन्डिजसंग ३२२, इंग्ल्याण्डसंग २८० तथा दक्षिण अफ्रीकासंग ३३० रन बनाएको थियो।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा बंगलादेशले बनाएको सबैभन्दा कम योगफल ५८ रन हो जुन २०११ मा वेस्टइन्डिजसंग थियो। पाकिस्तानले पुन: यही इतिहास दोहोर्याउनु पर्नेछ जसको लागि पहिले ब्याटिंग गर्दै ४०० रन बनाउनुपर्नेछ।
बंगलादेशको एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा ठुलो रन अन्तरको हार २३३ रन हो। पाकिस्तानले सन् २००० मा अर्थात् १९ वर्ष अघि बंगलादेशलाई ३२१ रनको लक्ष्य दिंदै ८७ रनमा अल-आउट गरेको थियो। यो इतिहास दोहोरिए पनि पाकिस्तान सेमीफाइनल पुग्नेछैन।
तथ्य हेर्दा पाकिस्तानको यो पटक विश्वको सेमीफाइनल यात्रा वास्तविकतामा भन्दा गणितीय हिसाबमा मात्र सिमित देखिन्छ। बंगलादेश बिरुद्ध चमत्कारिक नतिजा ल्याएमा मात्र पाकिस्तानको यात्रा अघि बढ्नेछ।
New Zealand have lost their last two games by a combined margin of 205 runs still they are miles ahead of Pakistan in NRR. That shows how terribly Pakistan played in the first game against West Indies. #CWC19
— Mazher Arshad (@MazherArshad) July 3, 2019
प्रतियोगितामा वेस्ट इन्डिजसंगको पहिलो खेलमा पाकिस्तान ७ विकेटले पराजित हुँदा २१.४ ओभरमा १०५ रनमा अल आउट हुन पुगेको थियो। वेस्ट इन्डिजले उक्त खेल १३.४ ओभरमै जित्यो। इतिहासकै दोश्रो कम योगफलमा अल आउट हुनुको कारण पाकिस्तानको नेट रन रेट कमजोर रह्यो। त्यस खेल पछि पाकिस्तानको नेट रन रेट -३.०६ रहेको थियो।