चिर प्रतिद्वन्दी भारतलाई टि-ट्वान्टी विश्वकप इतिहासमै पहिलो पटक पराजित गर्दै पाकिस्तानले टि-ट्वान्टी विश्वकपमा विजयी सुरुवात गरेको छ।
युएईको दुबई अन्तर्राष्ट्रिय स्टेडियममा सम्पन्न सुपर-१२ चरण अन्तर्गत समुह ‘२’ को खेलमा भारतले दिएको १५२ रनको लक्ष्य पाकिस्तानले विकेट नगुमाई पछ्याउदै १० विकेटको जित हात पार्यो। टि-ट्वान्टी विश्वकप इतिहासमा भारत बिरुद्ध पाकिस्तानको यो पहिलो जित हो। यस अघि विश्वकपमा भएका ५ वटै भेटमा भारतले पाकिस्तानलाई पराजित गरेको थियो।
पाकिस्तानको जितमा कप्तान मोहम्मद रिजवानले सर्वाधिक ७९ रन बनाए जुन क्रममा ५५ बलमा ६ चौका र ३ छक्का प्रहार गरे। यस्तै कप्तान बबर आजमले ५२ बलमा ६ चौका र २ छक्का मद्दतले ६८ रन बनाए।
लक्ष्य पछ्याउने क्रममा पाकिस्तानको सुरुवात राम्रो रह्यो जुन क्रममा पावरप्लेमा विकेट नगुमाई उसले ४३ रन बनायो। त्यसपछि पनि मोहम्मद रिजवान र बाबर आजमले विकेट दिएनन्। मध्यम ओभरमा भारतीय बलरले कसिलो बलिंग गरेता पनि वरुण चक्रवर्तीले गरेको तेह्रौं ओभरमा १६ रन बनाउदै रन गतिको दबाब हटायो। आजम र रिजवानले वर्ष २०२१ मा चौंथो पटक शतकीय साझेदारी पुरा गरे। जितको लागि ३ ओभरमा १८ रन आवस्यक हुँदा मोहम्मद रिजवानले मोहम्मद शामीले गरेको अठारौं ओभरको पहिलो ३ बलमा छक्का र २ चौका प्रहार गरे। ओभरको पाँचौ बलमा आजमले २ रन लिंदै पाकिस्तानलाई जितसम्म पुर्याए।
यस अघि टस हारेर ब्याटिंग गरेको भारतले २० ओभरमा ७ विकेट क्षेतीमा १५१ रन बनाएको थियो। भारतको ब्याटिंगमा कप्तान बिराट कोहलीले सर्वाधिक ५७ रन बनाए जुन क्रममा ४९ बलमा ५ चौका र १ छक्का प्रहार गरे। यस्तै रिशभ पन्तले ३० बलमा २ चौका र २ छक्का मद्दतले ३९ रन बनाए। रभीन्द्र जडेजाले १३ तथा सुर्यकुमार यादव र हार्दिक पान्ड्याले समान ११ रन बनाए।
भारतको सुरुवात खराब रह्यो। पहिलो ओभरमा खाता नखोल्दै रोहित शर्मा तथा तेश्रो ओभरमा ३ रन बनाएका केएल राहुललाई शाहिन अफ्रिदीले क्रमशः एलबिडब्लु र बोल्ड गरे। छैठौं ओभरमा हसन अलिले ११ रन बनाएका सुर्यकुमार यादवलाई विकेटपछाडी क्याच आउट गराए। पावरप्लेमा भारतले ३६ रन बनाउदा ३ विकेट गुमायो।
चौंथो विकेटको लागि तेश्रो नम्बरमा ब्याटिंग गरेका कप्तान कोहली र रिशभ पन्तले अर्धशतकीय साझेदारी गर्दै स्थिरता दिए। साझेदारी खतरनाक देखिएकै बेला तेह्रौं ओभरमा पन्तलाई शदाब खानले आफैद्वारा क्याच आउट गराए। कोहलीले त्यसपछि रभीन्द्र जडेजासंग ४१ रनको साझेदारी गरे। अठारौं भरमा जडेजालाई हसन अलिले क्याच आउट परे। लगत्तै ओभरमा कोहलीलाई शाहिन अफ्रिदीले विकेटकिपर मोहम्मद रिजवानबाट क्याच आउट पारे। तर उक्त ओभरमा अफ्रिदीले १७ रन खर्चिए जसमा नो बलमा एउटा चौका तथा ओभरथ्रोको रुपमा बाईको रुपमा ४ रन सामेल रह्यो। अन्तिम ओभरमा हरिस रौफले मात्र ७ रन खर्चेर हार्दिक पान्ड्याको विकेट लिए। अन्तिम ५ ओभरमा भारतले ३ विकेट गुमाएर ५१ रन बनायो।
पाकिस्तानको बलिंगमा शाहिन अफ्रिदीले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा ३१ रन खर्चिए।हसन अलिले २ विकेट ( ४-०-४४-२ ) तथा हरिस रौफ ( ४-०-२५-१ ) र शदाव खानले ( ४-०-२२-१ ) समान एक विकेट लिए।
प्रतियोगिता अन्तर्गत पाकिस्तानले आगामी खेल न्युजिल्यान्ड बिरुद्ध अक्टोबर २६ मा तथा भारतले अक्टोबर ३१ तारिखमा न्युजिल्यान्ड बिरुद्ध खेल्नेछ।