भारतलाई पराजित गर्दै पाकिस्तानले जित्यो एसीसी इमर्जिंग टिम्स एसिया कप

२०८० श्रावण ७, आईतवार २१:३४

भारत ‘ए’ लाई १२७ रनको विशाल अन्तरले पराजित गर्दै पराजित गर्दै पाकिस्तान ‘ए’ ले लगातार दोश्रो पटक एसीसी इमर्जिंग टिम्स एसिया कपको उपाधि जितेको छ।

२०१९ मा बंगलादेशमा आयोजित अघिल्लो संस्करण पनि पाकिस्तानले जितेको थियो जुन क्रममा फाइनलमा बंगलादेशलाई पराजित गरेको थियो।

आर प्रेमदासा स्टेडियम कोलोम्बोमा सम्पन्न फाइनलमा पाकिस्तानले दिएको ३५३ रनको लक्ष्य पछ्याएको भारतले ४० ओभरमा सबै विकेट गुमाएर २२४ रन मात्र बनाउन सक्यो।

भारतको लागि ओपनर अभिषेक शर्माले सर्वाधिक ६१, कप्तान यश धुलले ३९ रन, साई सुदर्शनले २९ रन योगदान दिए। शर्मा र सुदर्शनले ६४ रनको ओपनिंग साझेदारी गरेता पनि त्यसपछि भारतले नियमित अन्तरलमा विकेट गुमाउन पुग्दा पाकिस्तान खेलमा हावी रह्यो।

पाकिस्तानको बलिंगमा सुफियान मुकिमले ३ विकेट लिंदा अर्शद इकबाल, मेहरान मुम्ताज र मोहम्मद वासिमले २/२ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट क्षेतीमा ३५२ रन बनायो।

पाकिस्तानको लागि तय्यब ताहिरले शतकीय योगदान दिए जुन क्रममा ७१ बलमा १२ चौका र ४ छक्का प्रहार गरे। साहीबजादा फरहानले ६५, सैम अयुबले ५९, ओमर युसुफ र मुबसिर खानले समान ३५ रन बनाए।

सैम अयुब र साहीबजादा फरहानले १२१ रनको ओपनिंग साझेदारी गर्दै पाकिस्तानलाई उत्कृस्ट सुरुवात दिलाएका थिए। छैठौं विकेटको लागि तय्यब ताहिर र मुबसिर खानले १२६ रनको साझेदारी गरे।

भारतको बलिंगमा राजवर्धन हांगरगेकर र रियान परागले २/२ विकेट लिए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy