पाकिस्तान र बंगलादेश नेपालसंग पराजित हुँदा

nepal cricket team u19 world cup 2002

टेस्ट रास्ट्र पाकिस्तान र बंगलादेशलाई पराजित गर्दै सन् २००२ को यु-१९ बिश्वकपमा नेपाली क्रिकेट टिमले प्लेट-च्याम्पियनसिप फाइनलको यात्रा गर्न सफल भएको थियो । यु-१९ बिश्वकपमा उत्कृस्ट प्रदर्शन पछि निकै चर्चा कमाएको नेपाली टिम छिट्टै टेस्ट रास्ट्र बन्ने अनुमान त्यसबेला धेरैले गरेका थिए।

फाइनलमा जिम्बाबेसंग पराजित हुनु अघि उच्चस्तरीय क्रिकेट खेलेको नेपाली टिममा त्यसबेला बलिंगतर्फ सन्जम रेग्मी, बिनोद दास, शक्ति गौचन तथा ब्याटिंगतर्फ बरदान चालिसे, कनिस्क चौगाईं, यशवन्त सुबेदीले महत्वपूर्ण प्रदर्शन गरेका थिए।

रोय डायसको प्रशिक्षणमा रहेको नेपाली टिमले समग्रमा उक्त बिश्वकपमा एकजुट भएर थियो। प्रतियोगितामा बरदान चालिसेले उत्कृस्ट खेल प्रदर्शन गरेका थिए। उनले नेपालको तर्फबाट सर्बाधिक कुल २३१ रन मात्रै बनाएका थिएनन् बलिंगतर्फ पनि ७ विकेट पनि हात पारेका थिए।

हारबाट सुरुवात 

न्युजिल्यान्डमा आयोजित उक्त बिश्वकपमा नेपाल रहेको समुह ‘सी’ मा पाकिस्तान , इंग्ल्यान्ड र पपुवा न्यु गिनी थियो। नेपालले प्रतियोगिताको सुरुवात इंग्ल्यान्डसंगको खेलबाट गर्यो। इंग्ल्यान्डलाई सहज जित नदिए पनि नेपालले पहिलो खेल ३७ रनले हार्न पुग्यो। सन्जम रेग्मीले अविजित ३५ रन बनाएर संघर्ष गरेपनि अन्य ब्याट्सम्यानले ठुलो स्कोरमा योगदान दिन सकेनन्। उक्त इंग्ल्यान्ड टिममा निक कम्पटन, समित पटेल, टिम ब्रेस्नन जस्ता क्रिकेटरहरु रहेका थिए।

पाकिस्तानले यसरी घुंडा टेक्यो 

पहिलो खेलमा हार पछि दोश्रो चरणमा प्रवेश गर्न नेपाललाई जित आवस्यक थियो तर नेपाल अघि अर्को टेस्ट राष्ट्र पाकिस्तान थियो। उक्त पाकिस्तानी टिम सलमान बटको कप्तानीमा थियो भने टिममा पाकिस्तानका वर्तमान क्रिकेटर अजहर अलि, उमर गुल, जुनैद जिया जस्ता खेलाडी थिए।

टस जितेर पाकिस्तानले नेपाललाई ब्याटिंग गर्ने निम्तो दियो। नेपाल ४८.५ ओभरमा १५१ रनमा समेटिन पुग्यो। तेश्रो नम्बरमा ब्याटिंग गरेका चालिसेले आठौ विकेटको रुपमा आउट हुनु अघि ८७ बलमा ४२ रनको धैर्यतापूर्ण इनिंग खेल्दै नेपाललाई सम्मानजनक स्कोरसम्म पुर्याए। मन्जित श्रेष्ठले १७, सन्जम रेग्मीले १६ तथा कनिस्क चौगाईंले १५ रन योगदान दिए।

प्रतिउत्तरमा ब्याटिंग गरेको पाकिस्तानलाई १५२ रनको लक्ष्य ठूलो थिएन तर पाकिस्तानलाई नेपालले सुरुवात देखि दबाबमा राख्न सफल भयो। शक्ति गौचन र सन्जम रेग्मीले उत्कृस्ट स्पिन बलिंगको नुमना प्रस्तुत गरेपछि पाकिस्तानले आफ्नो सम्पूर्ण विकेट १२१ रनमै गुमाउन पुग्यो। नेपालले ३० रनको शानदार जित हात पार्यो। बरदान चालिसेले बलिंगतर्फ पनि ३ ओभरमा मात्र २ रन खर्चदै १ विकेट हात पार्दै खेलको म्यान अफ द म्याच अवार्ड हात पारे। शक्ति गौचनले १० ओभरमा ३ मेडन ओभर सहित १९ रन खर्चेर ३ विकेट लिए भने सन्जम रेग्मीले ९.४ ओभरमा १ मेडन ओभर सहित २७ रन खर्चेर ३ विकेट लिए।

२ खेलमा १ जित हात पारेको नेपालले समुह चरणको अन्तिम खेलमा पपुवा न्यु गिनीलाई हराउन कठिनाई बेहोर्नु परेन। ६५ रनको जित दिलाउन नेपालको लागि लाक्पा लामाले ४ विकेट हात पारेका थिए।

नेट रनरेटको बाधा

३ खेलमा २ जित हात पारेको नेपाल दोश्रो चरणमा पुग्न दाबेदार थियो तर थोरैले मात्रै नेपाल चुक्न पुग्यो। समान २/२ जित हात पारे पनि नेपाल नेट रनरेटमा पछि पर्यो। पाकिस्तान र इंग्ल्यान्ड क्रमशः ०.८२०, ०.८०४ नेट रनरेटको कारण समुहको उत्कृस्ट-२ हुँदै अघि बढ्यो। नेपालको नेट रनरेट ०.३८७ थियो जसकारण समुहको तेश्रो हुँदै प्लेट च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नु पर्यो।

प्लेट च्याम्पियनसिपमा नेपालको समुहमा नामिबिया, स्कटल्याण्ड र क्यानडा थिए।

नेपालले प्लेटतर्फ ग्रुपको पहिलो खेलमा क्यानडालाई ९ विकेटको अन्तरले पराजित गर्दै जितको लय कायम राख्यो। बिनोद दास र सन्जम रेग्मीले ३/३ विकेट लिएपछि क्यानडा १०२ रनमा समेटियो। प्रतिउत्तरमा यशवन्त सुबेदीले अविजित ४१ र बरदान चालिसेले ३२ रन योगदान दिएपछि नेपालले २२.३ ओभरमै सहज जीत निकाल्यो।

नामिबियाको चुनौती पार गर्दै प्लेट सेमीफाइनलमा 

दोश्रो खेलमा नामिबियाले भने नेपाललाई कडा टक्कर दियो। बरदान चालिसेले ६९ तथा कनिस्क चौगाईंले १३ रन बनाउनु बाहेक अन्य कुनै पनि नेपाली ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन नसक्दा नेपाल पहिलो इनिंगमा १३७ रनमै समेटिन पुग्यो। नेपाली बलरहरुले आफुलाई पुनः प्रमाणित गरे, १०५/४ को अवस्थामा रहेको नामिबियाले बाँकी २२ रन जोड्दा सम्पूर्ण विकेट गुमाउन पुग्यो। बिनोद दास र लाक्पा लामाले ३/३ विकेट हात पारेपछि नेपालले १० रनको कठिन जित निकाल्न सफल भयो।

बरदान चालिसे , सन्जम रेग्मी र प्रमोद बस्नेत ( प्रतियोगिता दौरान )

लगातार जित पछि नेपालले प्लेट समुह चरणको अन्तिम खेलमा स्कटल्याण्डलाई पनि पराजित गर्दै प्लेट च्याम्पियनसिपतर्फ सेमीफाईनलको यात्रा तय गर्यो। ओपनर यशवन्त सुबेदी र कनिस्क चौगाईंले क्रमशः ४५ र ४३ तथा बरदान चालिसेको ३० र शक्ति गौचनको ३१ रनको मदतले नेपालले २०५ रन बनायो। शक्ति गौचनले ३ तथा सन्जम रेग्मीले २ विकेट हात पारेपछि स्कटल्याण्ड १५७ रनमा समेटीदै नेपाललाई ४८ रनको जित सुम्पियो।

प्लेट ग्रुप चरणमा लगातार ३ जितको साथ समुह बिजेता बन्दै नेपाल प्लेट सेमीफाइनल पुग्यो जसमा नेपालको भिडन्त हुँदै थियो अर्को टेस्ट रास्ट्र बंगलादेशसंग।

बरदानको स्पिनमा घुम्यो बंगलादेश

पछि बंगलादेश राष्ट्रिय टिमको प्रतिनिधित्व गरेका अफताब एहमद, नफिस इकबाल,  मोहम्मद अश्रफुल, सयद रसेल जस्ता खेलाडीहरुले भरिएको बंगलादेशसंग नेपाल प्लेट सेमीफाइनल खेल्दै थियो।

टस जितेर नेपालले ब्याटिंग गर्यो। नेपालले खराब सुरुवात गरेपनि ब्याट्सम्यानहरुले सम्हालिएर ब्याटिंग गरे। बासुदेब थापा र मन्जित श्रेष्ठले सातौँ विकेटको लागि अविजित अर्धशतकीय ५६ रनको साझेदारी गरेपछि नेपालले पुरै ५० ओभर ब्याटिंग गर्दै ६ विकेट नोक्सानीमा १८० रन बनायो। बासुदेब थापाले अविजित ४१ तथा मन्जित श्रेष्ठले अविजित २७ रनको योगदान दिए।

बरदान चालिसे र प्रमोद बस्नेत ( प्रतियोगिता दौरान )

जवाफमा ब्याटिंग गरेको बंगलादेशलाई नेपाली बलरहरुले निरन्तर विकेट लिंदै दबाबमा राखे। देब्रेहाते स्पिनर बरदान चालिसेले उत्कृस्ट बलिंग गर्दै ४ विकेट ( ९.३-०-३८-४ ) हात पारेपछि बंगलादेशी ब्याट्सम्यानहरु निरिह सावित भए। ४७.३ ओभरमा बंगलादेशले पुरै विकेट गुमाइ मात्र १५७ रन बनाउन सकेपछि नेपालले २३ रनको शानदार जित दर्ता गर्न सफल भयो।

पाकिस्तानलाई पराजित गरिसकेको नेपालले अर्को टेस्ट रास्ट्र बंगलादेशलाई पनि पराजित गर्नु चानचुने उपलब्धि थिएन। पहिलो खेलमा इंग्ल्यान्डसंगको हार पछि लगातार जित हात पारेको नेपाल प्लेट च्याम्पियनसिपको फाइनलमा पुग्यो जसमा नेपालको प्रतिद्वन्दी थियो अर्को टेस्ट राष्ट्र जिम्बाबे।

जिम्बाबेसंग इतिहास रच्ने मौका 

जिम्बाबेलाई पराजित गर्दै इतिहास कायम गर्ने मौका नेपालसंग थियो, अर्को तिर ततेन्द्र तैबू, ब्रेन्डन टेलर, चार्ल्स कोभेन्ट्रि जस्ता क्रिकेटरहरु भएको जिम्बाबे नेपाललाई जित दिने पक्षमा थिएनन्।

फाइनलमा टस जिम्बाबेले जित्यो र पहिले ब्याटिंग गर्यो। उत्कृस्ट प्रदर्शन गरिरहेका नेपाली बलरहरुले त्यही लय जिम्बाबे ब्याट्सम्यानहरु सामु कायम गर्न सकेनन्। ओपनर कोभेन्ट्रिले ६४ रनको योगदान दिएर आउट हुनुनै नेपालले लिएको एउटै विकेट थियो। ब्रेन्डन टेलरले अविजित १०० तथा ततेन्द्र तैबूले अविजित ६५ रन बनाएपछि उसले ५० ओभर ब्याटिंग गर्दै २४७ रनको ठुलो योगफल तयार पार्यो।

विकेटकिपर मनोज कटवाल र जिम्बाबे ब्याट्सम्यान ब्रान्डन टेलर

२४८ रन निकै ठुलो लक्ष थियो र नेपाली ब्याट्सम्यानहरु सामू ठुलो चुनौती पनि। अघिको प्राय जितमा बलरहरुले मुख्य भूमिका खेलेका थिए तर फाइनलमा ब्याट्सम्यानहरु चल्नु पर्ने आवस्यकता थियो। त्यसो हुन सकेन, मासाकाट्जा र म्वाएंगाले ३/३ विकेट लिएपछि नेपाल ३६ औ ओभरमा ११० रनमै समेटीदै १३७ रनको बिशाल जित सुम्पियो। शक्ति गौचनले ३०, बिनोद दासको ३० तथा कनिस्क चौगाईंको १२ रन बाहेक अन्य ब्याट्सम्यानहरु धेरै बेर क्रिजमा जम्न नसक्दा नेपाल ऐतिहासिक मौकाबाट चुक्न पुग्यो।

प्लेटतर्फ फाइनलमा पराजित भए पनि आफ्नो दोश्रो यु-१९ बिश्वकप सहभागितामा फाइनल सम्मको यात्रा गरेको नेपालको प्रदर्शनले बिश्व क्रिकेटमा निकै तारिफ पाएको थियो। प्रतियोगिताको प्रदर्शन पछि नेपाल त्यसपछिका अन्य यु-१९ बिश्वकपमा पनि आकर्षण बन्न पुग्यो भने नेपाल चमत्कार गर्न सक्ने टोलिको रुपमा अझै पनि रहीरहेको छ।

अफस्पिनर सन्जम रेग्मीले कुल १२ विकेट लिंदै उक्त प्रतियोगितामा धेरै विकेट लिने बलरहरुको सुचीमा १० औ स्थानमा रहेका थिए भने धेरै रन बनाउनेहरुको सुचीमा बरदान चालिसे १३ औ स्थानमा रहेका थिए।

नेपाली टिम

नेपाली यु-१९ क्रिकेट टिम ( २००२ यु-१९ बिश्वकप )

बिनोद दास ( कप्तान ) , कनिस्क चौगाईं, यसवन्त सुबेदी, बरदान चालिसे, शक्ति गौचन, प्रेम चौधरी, मन्जित श्रेष्ठ, मनोज कटवाल, सन्जम रेग्मी, प्रमोद बस्नेत, लाक्पा लामा, बासुदेब थापा, रोहित शर्मा

२००२ यु-१९ बिश्वकपमा नेपाली खेलाडीहरुको प्रदर्शन :-

ब्याटिंग :-

खेलाडी कुल रन सर्वाधिक
बरदान चालिसे २३१ ६९
कनिस्क चौगाईं १६२ ४३
यशवन्त सुबेदी १४७ ४५
बिनोद दास १३१ ३१
शक्ति गौचन ११६ ३१

बलिंग :-

खेलाडी कुल विकेट उत्कृस्ट
सन्जम रेग्मी १२ ३/१०
बिनोद दास ११ ३/१३
शक्ति गौचन १० ३/१९
लाक्पा लामा ४/१४
बरदान चालिसे ४/३८

बिरुद्ध/ नतिजा

१. इंग्ल्यान्ड ( समुह चरण ) / इंग्ल्यान्ड ३७ रनल बिजयी , २. पाकिस्तान ( समुह चरण ) / नेपाल ३० रनले बिजयी
३. पपुवा न्यु गिनी ( समुह चरण ) / नेपाल ६५ रनले बिजयी , ४. क्यानडा ( प्लेट समुह चरण ) / नेपाल ९ विकेटले बिजयी
५. नामिबिया ( प्लेट समुह चरण ) / नेपाल १० रनले बिजयी , ६. स्कटल्याण्ड ( प्लेट समुह चरण ) / नेपाल ४८ रनले बिजयी
७. बंगलादेश ( प्लेट, सेमीफाइनल ) / नेपाल २३ रनले बिजयी , ८. जिम्बाबे ( प्लेट, फाइनल ) / जिम्बाबे १३७ रनले बिजयी

( फोटो श्रोत : प्रमोद बस्नेत फेसबुक )





थप समाचार

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]