पान्ड्या र जडेजाले कीर्तिमानी साझेदारी गर्दा भारतद्वारा अस्ट्रेलियालाई ३०३ रनको लक्ष्य

२०७७ मंसिर १७, बुधबार १३:०३

भारतको अस्ट्रेलिया भ्रमण अन्तर्गत एकदिवसीय सिरिजको तेश्रो तथा अन्तिम एकदिवसीय मेनुका ओभल, क्यानबेर्रामा जारि रहेको छ। सिरिज यस अघिनै अस्ट्रेलियाले २-० ले जितीसकेको हुँदा आजको खेल जित्दै भारत प्रतिष्ठा जोगाउन चाहन्छ।

खेलमा टस जितेर ब्याटिंग रोजेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट क्षेतिमा ३०२ रन बनाउदै अस्ट्रेलियालाई ३०३ रनको लक्ष्य प्रस्तुत गरेको छ।

ओपनर शिखर धवन १६ रन बनाएर आउट भएपछि शुबमन गिल र बिराट कोहलीले दोश्रो विकेटको लागि ४६ रनको साझेदारी गरेका थिए। गिल ३३ रन, श्रेयस ऐयर १९ रन तथा केएल राहुल मात्र ५ रन बनाएर आउट भए।

हेजलवुडले लगातार चौथो पटक कोहलीको विकेट लिए

एक किनार सम्हालीरहेका कप्तान बिराट कोहलीलाई ३२ औं ओभरमा जोश हेजलवुडले विकेटकिपर एकेल्स केरीबाट क्याच आउट गराउदा भारत नाजुक अवस्थामा पुग्यो। कोहलीले ७८ बलमा ५ चौका मद्दतले ६३ रन बनाए। हेजलवुडले लगातार चौथो पटक कोहलीको विकेट लिए जो कोहलीको सबैभन्दा धेरै लगातार विकेट लिने बलर बनेका छन्।

कोहलीको विकेट जाँदा १५२/५ को अवस्थामा रहेको भारतको इनिंगलाई त्यसपछि छैठौं र सातौँ नम्बरमा ब्याटिंग गरेका हार्दिक पान्ड्या र रभिन्द्र जडेजाले सम्हाले।

सुरुवातमा सम्हालिएर ब्याटिंग गरेता पनि दुवैले इनिंगको अन्त्यमा आक्रामक ब्याटिंग गर्दै टिमको योगफल ३०० पार गराए। अन्तिम ५ ओभरमा दुवैले ७६ रन जोडे।

पान्ड्याले छैठौं एकदिवसीय अर्धशतक बनाउने क्रममा अविजित ९२ रन बनाए जुन क्रममा ७६ बलमा ७ चौका र १ छक्का प्रहार गरे। एकदिवसीयमा पान्ड्याको यो व्यक्तिगत सर्वाधिक स्कोर हो। जडेजाले ५० बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै अविजित ६६ रन बनाए।

साझेदारीको नयाँ कीर्तिमान 

मात्र १०८ बलमा जडेजा र पान्ड्याले १५० रनको साझेदारी गरे। यो साझेदारी अस्ट्रेलिया बिरुद्ध छैठौं विकेटको लागि भारतको सर्वाधिक साझेदारी हो। सन् १९९९ मा एस रमेश र रोबिन सिंहले कोलोम्बोमा अस्ट्रेलिया बिरुद्ध १२३ रनको साझेदारी गरेका थिए। २१ वर्ष पछि जडेजा र पान्ड्याले उक्त रेकर्ड तोडेका हुन्।

यस्तै भारतको लागि एकदिवसीय अन्तर्राष्ट्रियमा यो समग्रमा छैठौं विकेटको लागि तेश्रो ठुलो साझेदारी हो। यस अघि २०१५ मा अम्बाती रायडु र स्टुवार्ट बिनिले जिम्बाबे बिरुद्ध १६० रनको तथा २००५ मा युभराज सिंह र महेन्द्र सिंह धोनीले जिम्बाबे बिरुद्धनै १५८ रनको साझेदारी गरेका थिए।

सिरिज अन्तर्गत पहिलो र दोश्रो खेल अस्ट्रेलियाले क्रमशः ६६ र ५१ रनले जितेको थियो। एकदिवसीय सिरिज पछि अब डिसेम्बर ४, ६ र ८ तारिखमा तिन वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज खेलिनेछ। डिसेम्बर १७ देखि ४ वटा टेस्टको सिरिज सुरु हुनेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy