सन्यास घोषणा पछि क्यान अध्यक्ष चन्दको पारसलाई यस्तो आग्रह

मंगलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले सन्यास लिएपछि र कप्तानी छोड्दा समेत नेपाल क्रिकेट संघका ( क्यान ) अध्यक्ष चतुर बहादुर चन्दले आफुलाई फोन गर्दै निर्णय बारे पुनर्विचार गर्न आग्रह गरेको बताएका छन्।

सन्यास घोषणा पछि बुधबार पत्रकार सम्मेलन आयोजना गरेका पारसले सो क्रममा अध्यक्ष चन्दसंग भएको कुराकानी खुलाएका हुन्- “अध्यक्ष ज्यूले मलाई फोन गर्नु भएको थियो। मैले इमेल गरेर जानकारी गराएको थिएँ। कप्तानी छोड्दा मैले इमेल आएन भनेर भन्नु भएको थियो त्यसैले मैले इमेल लेखेर जानकारी गराएँ। त्यसपछि अध्यक्ष ज्यूसंग कुराकानी भएको थियो।”

सन्यास बारे क्यान र अध्यक्ष चन्दको प्रतिक्रिया बारे जिज्ञासामा उनले बताए- “क्यानको सोसल मिडिया पोस्ट गरे मैले। त्यसपछि अध्यक्ष ज्यूसंग कुरा भयो। वहाँले तपाईले ( सन्यास बारे ) फेरी पनि पुनर्विचार गर्न सक्नुहुन्छ भन्नुभयो। कप्तानी छोडी सके पनि तपाईं फेरी कप्तान बन्नुस भनेर पनि प्रस्ताव गर्नु भएको थियो। मैले कुनै निर्णय लिनु अघि धेरै पटक सोचविचार गर्ने खालको मान्छे हो। त्यसले गर्दा खेरि अहिलेको लागि यहीनै निर्णय हो। सहि गलत निर्णय समयले बताउला।”

कप्तानी छोड्दा समेत अध्यक्ष चन्दले फोन गरेर निर्णय पुनर्विचार गर्न गरेको आग्रह पारसले सम्झिए “मलाई कप्तानी छोड्दा पनि अध्यक्ष ज्यूले फोन गर्नु भएको थियो र अलिकति चांडो भएको कि भन्नु भएको थियो।”

उनले सन्यासको निर्णय व्यक्तिगत भएको र क्यानसंग नराम्रो सम्बन्ध देखाउन नखोजेको बताए- “मैले यति भने कि यो मेरो निर्णय थियो मैले क्रिकेट संघ आएर, क्रिकेट संघको नराम्रो देखाएर मैले क्रिकेट छोडेको हैन। यो मेरो व्यक्तिगत निर्णय थियो। भोलि गएर म क्रिकेट व्यवस्थापनमा आउनु पर्यो भने पनि सबै जनासंग मिलेर काम गर्नुपर्छ र त्यस्तो वातावरण सिर्जना गर्नुपर्यो।”

क्यान अध्यक्ष चन्दले सन्यास पछि प्रतिक्रिया दिने क्रममा पारसको सन्यास अप्रत्यासित भएको बताएका थिए – “पूर्व जानकारी गराएर सन्यास लिएको भए केही फरक परिस्थिति बन्ने थियो, अचानक सन्यास लिनु क्रिकेट र देशका लागि राम्रो भएन”

https://www.youtube.com/watch?v=8xCX5PmAs28

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy