- विकेटनेपाल, माघ-१४ , सोमबार
पारस खड्का एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको लागि शतक बनाउने पहिलो खेलाडी भएका छन्।
युएई बिरुद्ध एकदिवसीय सिरिज अन्तर्गत तेश्रो खेलमा शतक बनाउदै पारसले ऐतिहासिक उपलब्धि हाँसिल गरेका हुन्। शतक बनाउने क्रममा पारसले १३ चौका र १ छक्का प्रहार गरेका छन्।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पारसले सोमपाल कामिको सर्वाधिक व्यक्तिगत रनको रेकर्ड समेत तोडेका छन्। सोमपालले गत वर्ष नेदरल्याण्डसंगको एकदिवसीय सिरिजमा ६१ रनको इनिंग खेलेका थिए।
नेपाली राष्ट्रिय टिमको लागि खेल्दै पारस खड्काले प्रहार गरेको यो चौथो शतक हो। ४ वटा शतक प्रहार गर्ने पारसनै नेपालको एक्लो खेलाडी हुन्।

पारसले सन् २०१२ को एसीसी ट्रफी प्रतियोगितामा कुवेत बिरुद्ध पहिलो शतक प्रहार गरेका थिए। त्यसपछि सन् २०१६ को नेपालमै भएको आईसीसी बिश्व क्रिकेट लिग च्याम्पियनसिपमा नामिबिया बिरुद्ध शतक प्रहर गरेका पारसले गत वर्ष युएई बिरुद्ध नामिबियामा आयोजित बिश्व क्रिकेट लिग डिभिजन-२ को फाइनलमा शतक बनाएका थिए।
पहिलो शतक – १०६* ( ७७ बल, ७ चौका र ४ छक्का ) – बिरुद्ध कुवेत, सन् २०१२ एसीसी ट्रफी
दोश्रो शतक – १०३ ( ९४ बल, ५ चौका, ७ छक्का ) – बिरुद्ध नामिबिया, सन् २०१६ बिश्व क्रिकेट लिग च्याम्पियनसिप
तेश्रो शतक – ११३ रन ( १०३ बल, ३ चौका ८ छक्का ) – बिरुद्ध युएई, सन् २०१८ , बिश्व क्रिकेट लिग डिभिजन-२
पारसको शतकसंगै नेपालको लागि एकदिवसीय क्रिकेटमा बनेको शतक संख्या ११ पुगेको छ। पारस खड्काले ४ वटा, अनिल मण्डलले २ वटा, राजु खड्का, शक्ति गौचन, शरद भेसावकर, ज्ञानेन्द्र मल्ल र सुबास खकुरेलले १/१ वटा शतक प्रहार गरेका छन्।
लिस्ट ‘ए’ क्रिकेटमा पनि पारस खड्काको ३ वटा शतक पुरा भएको छ। अनिल मण्डल र पारस खड्का मात्रै नेपालको लागि लिस्ट ए क्रिकेटमा शतक बनाउने खेलाडी हुन्। अनिलको नाममा एउटा शतक रहेको छ भने पारसको आजको शतक सहित ३ शतक र १० अर्धशतक रहेको छ।
नेपाली क्रिकेट टिमको लागि सबैभन्दा पहिलो शतक प्रहार गर्ने खेलाडी राजु खड्का हुन् जसले सन् २००३ को एसीसी ट्रफीमा भुटान बिरुद्ध शतक बनाएका थिए।
( फिचर फोटो – फाइल )