पारस खड्काले बनाए नयाँ विश्वकिर्तिमान, एकै खेलमा बने १० ठुलो रेकर्ड

सिंगापुरमा जारी त्रिकोणात्मक टि-२० सिरिज अन्तर्गत नेपालले दोश्रो खेलमा आयोजक सिंगापुरलाई ९ विकेटको विशाल अन्तरले पराजित गर्यो। खेलमा प्लेयर अफ द म्याच चुनिएका कप्तान पारस खड्काले अविजित १०६ रन बनाउदै उत्कृस्ट खेल प्रदर्शन गरे। पहिले ब्याटिंग गर्दै सिंगापुरले दिएको १५२ रनको लक्ष्य नेपालले १६ ओभरमै मात्र १ विकेट गुमाएर पुरा गरेको थियो। खेलमा पारस खड्काले नयाँ विश्वकिर्तिमान बनाए भने १० ठुला किर्तिमान पनि कायम भए :-

१. टि-२० अन्तर्राष्ट्रियमा नेपालको पहिलो शतक

पारस खड्का नेपालको लागि टि-२० अन्तर्राष्ट्रियमा शतक बनाउने पहिलो ब्याट्सम्यान बनेका छन्। पारसनै एकदिवसीय अन्तर्राष्ट्रियमा शतक बनाउने पनि पहिलो नेपाली ब्याट्सम्यान हुन् जसले यसै वर्ष जनवरीमा युएई बिरुद्ध शतक बनाएका थिए।  टि-२० अन्तर्राष्ट्रियमा पारसको नाममा १ शतक र ३ वटा अर्धशतक रहेको छ। एउटा भन्दा बढी अर्धशतक कुनै पनि नेपाली ब्याट्सम्यानले टि-२० अन्तर्राष्ट्रियमा बनाउन सकेका छैनन्।

२. व्यक्तिगत सर्वाधिक स्कोर , तोडे आफ्नै रेकर्ड

शतक बनाएसंगै पारस नेपालको लागि टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा एकै इनिंगमा सर्वाधिक स्कोर गर्ने ब्याट्सम्यान बनेका छन्। यस अघि पारसले मलेसिया बिरुद्ध यसै वर्ष जुलाईमा अविजित ८६ रन बनाएका थिए जुन रेकर्ड उनि आफैले तोडे।

३. सबैभन्दा ठुलो साझेदारी , दोश्रो विकेटको विश्वकै पाँचौ ठुलो साझेदारी

पारस खड्का र आरिफ शेख बीच दोश्रो विकेटको लागि भएको अविजित १४५ रनको साझेदारी कुनै पनि विकेटको लागि नेपालको सबैभन्दा ठुलो साझेदारी हो। यस अघि नेपाली ब्याट्सम्यानहरुले टि-२० अन्तर्राष्ट्रियमा शतकीय साझेदारी गर्न सकेका थिएनन्। पारस खड्का र शरद भेसावकरले सन् २०१४ टि-२० विश्वकपमा गरेको ८५ रनको साझेदारी यस अघिको सर्वाधिक साझेदारी थियो।

यस्तै १४५ रनको साझेदारी कुनै पनि विकेटको लागि टि-२० अ. क्रिकेटमा विश्वकै १६ औं ठुलो साझेदारी हो। यस्तै दोश्रो विकेटको लागि यो पाँचौ ठुलो साझेदारी हो।

४. एकै इनिंगमा सर्वाधिक छक्का 

पारस नेपालको लागि टि-२० अ. को एकै इनिंगमा सबैभन्दा धेरै छक्का प्रहार गर्ने ब्याट्सम्यान बनेका छन्। पारसले कुल ९ छक्का र ७ चौका प्रहार गरे। यस अघि पारस र बिनोद भण्डारीले यसै वर्ष मलेसिया बिरुद्ध समान ५ छक्का प्रहार गरेका थिए।

५. बाउन्ड्रीबाट सर्वाधिक रन 

एकै इनिंगमा बाउन्ड्रीबाट सर्वाधिक रन बनाउने रेकर्ड पनि पारस खड्काले आफ्नो नाम गरेका छन्। १०६ रन बनाउने क्रममा पारसले चौका र छक्का बाटै ८२ रन बनाएका थिए। यस अघि यो रेकर्ड पारसकै नाममा रहेको थियो जसले मलेसिया बिरुद्ध यसै वर्ष ६२ रन बाउन्ड्रीबाट बनाएका थिए।

Paras Khadka Century

६. लक्ष्य पछ्याउदै शतक प्रहार गर्ने विश्वकै पहिलो कप्तान 

टि-२० अन्तर्राष्ट्रियमा लक्ष्य पछ्याउने क्रममा शतक बनाउने पारस खड्का विश्वकै पहिलो कप्तान बनेका छन्। यस अघि विश्वका कुनै पनि ब्याट्सम्यानले लक्ष्य पछ्याउदा शतक बनाउन सकेका थिएनन्। यस अघि लक्ष्य पछ्याउने क्रममा नेदरल्याण्डका कप्तान पिटर सिलरले यसै वर्ष स्कटल्याण्ड बिरुद्ध अविजित ९६ रन बनाएका थिए जुन रेकर्ड पारस खड्काले तोडेका छन्।

७. एकै इनिंगमा कप्तानको रुपमा विश्वकै तेश्रो धेरै छक्का 

कप्तानको रुपमा टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा एकै इनिंगमा सबैभन्दा धेरै छक्का प्रहार गर्ने रेकर्ड बनाउन पारस मात्र १ छक्काले चुके। रोहित शर्माले २०१७ मा श्रीलंका बिरुद्ध र आरोन फिन्चले २०१८ मा जिम्बाब्वे बिरुद्ध कप्तानको रुपमा समान १०/१० छक्का प्रहार गरेका थिए। पारसले ९ छक्का प्रहार गर्दै यो सुचीमा दोश्रो स्थानमा पुगेका छन्। यस क्रममा पारसले क्रिस गेल, ओएन मोर्गन जस्ता ब्याट्सम्यानलाई पछि पारे।

८. दोश्रो इनिंगमा विश्वकै सातौँ ठुलो व्यक्तिगत स्कोर

लक्ष्य पछ्याउने क्रममा पारसले बनाएको १०३ रन विश्वकै सातौँ ठुलो व्यक्तिगत स्कोर हो। ग्लेन म्याक्सवेलले बनाएको १०३ रनको रेकर्ड तोड्दै पारस सातौं स्थानमा उक्लिएका छन्।

९. नेपालको सबैभन्दा ठुलो विकेट अन्तरको जित 

सिंगापुर बिरुद्ध ९ विकेटको जित टि-२० अन्तर्राष्ट्रियमा नेपालको सबैभन्दा ठुलो विकेट अन्तरको जित हो। यस अघि नेपालले मलेसियालाई २ पटक ७ विकेटले तथा कुवेतलाई १ पटक ७ विकेटले पराजित गरेको थियो।

यस्ती बल बाँकी रहेको आधारमा भने यो नेपालको दोश्रो छिटो जित हो। नेपालले २४ बल बाँकी छदा खेल जित्यो। यस अघि नेपालले कुवेतलाई टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) मा यसै वर्ष २५ बल बाँकी छदै जितेको थियो।

१०. नेपालले पछ्याएको हालसम्मकै ठुलो योगफल , दोश्रो सर्वाधिक योगफल 

टि-२० अन्तर्राष्ट्रियमा नेपालले पछ्याएको यो नै सबैभन्दा ठुलो योगफल हो। यस अघि यसै वर्ष टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) प्रतियोगितामा नेपालले कुवेतले दिएको १४२ को लक्ष्य पछ्याएको थियो।

यस्तै नेपालले टि-२० अन्तर्राष्ट्रियमा बनाएको यो दोश्रो सर्वाधिक योगफल हो। नेपालको सर्वाधिक योगफल १७३ रन हो जुन मलेसिया बिरुद्ध यसै वर्ष नेपालले बनाएको थियो। तेश्रो ठुलो योगफल १४९ ओ जुन २०१४ मा टि-२० विश्वकपमा नेपालले बंगलादेश बिरुद्ध बनाएको थियो।

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy