“कुनै पनि बिपक्षिलाई कमजोर लिने छैनौं” – पारस खड्का

२०७५ भाद्र १२, मंगलवार १८:५७

  • विकेटनेपाल – १२ भदौ, मंगलवार

नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले एसिया कपमा पुग्नु सुनौलो अवसर रहेको बताएका छन्। एसिया कप छनौट प्रतियोगिता सुरु हुने अघिल्लो दिन मंगलवार संचारकर्मीहरुसंग कुराकानी गर्दै एसिया कप छनौट नेपालको लागि प्राप्त हुने थोरै मध्येको एक मौका रहेको बताए।

नेपालले प्रतियोगिताको पहिलो दिन आफ्नो पहिलो खेलमा ओमानको सामना गर्दैछ। नेपालले मंगलबार मलेसियाको किनरारा ओभल मैदानमा अभ्यास समेत गर्यो। त्यसै क्रममा कप्तान पारस खड्काले एसिया कप छनौटमा जित निकाल्ने आशाका साथ प्रतियोगितामा अघि बढ्ने बताए। उनले भने, “सबै टोलीले सबै टोलिसंग खेल्नु पर्नेहुन्छ त्यसैले हामी एक खेललाई एक पटक लिनेछौं। ओमानले हामीलाई यसअघि पनि हराइसकेको छ त्यसैले हामी कुनैपनि बिपक्षिलाई कमजोर लिने छैनौं।”

यदि यो प्रतियोगिता जित्न सकेमा नेपालले भारत र पाकिस्तानसंग खेल्ने मौका पाउनेछभन्ने प्रशंगमा पारसले भने, “नेपालले पाउने थोरै मौका मध्येको एक योपनि हो। तर हामीले त्यति परसम्म सोचिसकेका छैनौ। हामी हरेक खेललाई एक पटक लिएर खेल्ने रणनीतिमा हुनेछौं र सुरुमा फाइनल पुगेपछि मात्र बिजेता बन्ने अनि भारत र पाकिस्तानसंग खेल्ने कुरा आउंछ।”

यसअघि मलेसिया प्रस्थान गर्नु अगाडी नेपाली टोलीले श्रीलंकामा ३ अभ्यास खेले खेलेको थियो, जहाँ नेपालले ३ वटै अभ्यास खेल जित्न समेत सफल भएको थियो। सो अभ्यास खेलमा हात पारेको जितले कतिको सहयोग पुर्याएको छ भन्ने प्रश्नमा पारसको जवाफ थियो, ” हामीले अभ्यास खेलमा सोचे अनुरुपनै प्रदर्शन गर्यौं र खेलाडीहरुले समेत आफुले पाएको सिमित मौकामा आफुलाई प्रमाणित गर्ने कोसिस गरिरहेका छन्। तर पनि हरेक खेल एउटा नयाँ सुरुवात हो।”

टोलीमा पुनारगमन गरिरहेका सागर पुन र बिनोद भण्डारीको बिषयमा पारसले भने, ” अभ्यास खेलमा दुबैको प्रदर्शन राम्रो नै थियो। सागरलाई हामीले ओपनिंगका लागि भने हेरेका छैनौं तर उसलाई मध्यक्रममा खेलाउने प्रयास रहने छ।”

नेपालले आफ्नो पहिलो खेल बायुमास ओभलमा बुधवार ओमान बिरुद्ध खेल्दै छ। ५० ओभरको खेल मलेसियाको समय अनुसार बिहान १० बजे तथा नेपाली समय अनुसार बिहान ७:४५ बजे सुरु हुनेछ।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy