युएईमा ओपनिङ्ग गर्दै छन् पारस ? यस्तो छ पारसको जवाफ

Paras Khadka
  • विकेटनेपाल, माघ-८ ,मङ्गलबार 

युएईसंग नेपालले यही जनवरी २५ तारिक देखि एकदिवसीय  र टि-२० अन्तर्राष्ट्रिय सिरिजमा प्रतिस्पर्धा गर्दैछ। सिरिज खेल्न मङ्गलबार युएई प्रस्थान गर्नु अघि नेपाली टिमका कप्तान पारस खड्काले नेपाली टिमको तयारी, युवा खेलाडीहरुको प्रवेश, ओपनिङ्ग जोडी परिवर्तनको हल्ला लगायत बिषयमा पत्रकारहरुको जिज्ञासाको उत्तर दिएका छन्।

नेपालको तयारी कस्तो भएको छ ?

तयारी राम्रै भाको छ, १६ सदस्यीय टिम जाँदैछौ यो पटक। अर्को एउटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल्नासाथ हाम्रो वरियता पनि आउने भाकोभएर हाम्रो लागि अवसर छ। आशा गरौँ राम्रो प्रदर्शन गर्न सकौं।

कति महत्वपूर्ण छ यो खेल नेपालको लागि ?

सबै खेल महत्वपूर्ण छ किनकि अब नेपालले ३-४ वर्ष खेल्ने यस्तै सिरिज हो। एउटा एकदिवसीय राष्ट्रको रुपमा नतिजाहरु सबै रेकर्डमा जान्छ त्यसलाई संसारभरको क्रिकेट रास्ट्रहरुले हेर्नेगर्छन्। हामि आशावादी छौ टेस्ट रास्ट्रहरुसंग आगामी दिनमा खेल्नको लागि त्यो खेल्न हामीले अहिले देखि हाम्रो स्तरको टिमसंग राम्रो खेल्दा अवसर जुर्ने हो।

शरद भेसावकरको अनुपस्थितिले कति फरक पार्छ टिमलाई ? 

दुर्भाग्य फिटनेस नभए पछि कुनै खेलाडीले केहि गर्न सक्दैन। राम्रो खेलाडी हो मिस त हुन्छनै। व्यक्ति भनेको आउने जाने भइराख्छ, पारस होस्, शरद होस् , ज्ञानेन्द्र होस्, बसन्त होस्। कम्पिटिसन बढीराकोछ टिममा अहिले देखि टिम तयार गर्नुपर्छ। त्यसले गर्दा मिडियालाई पनि आग्रह गर्छु युवा खेलाडीलाई धेरै आलोचना नगर्नु होला। भर्खरै सिक्ने उमेरमा छन् एकै चोटी राम्रो खेलाडी बन्दैन। १-२ वर्ष पछि भन्न सक्छौ को खेलाडी कस्तो छ भनेर। घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गरेको आधारमा खेलाडीलाई प्रवर्धन गरेका छौँ।

Nepal National Cricket Team

अविनाश बोहारालाई ललित भण्डारीको सट्टामा ल्याईएको छ, टिम कम्बिनेसन कस्तो हुनेछ यो पटक ?

कसैको तुलना गर्नु भन्दा वा प्रतिस्थापन भन्दा कुन खेलाडीले कस्तो रोल टिमलाई दिन सक्छ भन्ने हो। १६ जना लैजानुको मुख्य कारण टि-२० र ५० ओभर २ फर्म्याट भएर हो। २ फर्म्याट भएर टिम कम्बिनेसन फरक हुनेछ र सबैले आफ्नो जिम्मेवारी पुरा गर्नुपर्छ।

ओपनिङ्गमा धेरै प्रयोग भएको छ , यो पटक परिवर्तन हुँदैछ ? 

धेरै प्रश्न ओपनिङ्गको बिषयमा आएको छ। ओपनिङ्ग आफै सजिलो कुरा हैन , बिगतमा हामीले धेरै ओपनर परिवर्तन गरेका छौँ। कस्तो हुन्थ्यो भने प्रतियोगिताको मागनै बढी हुन्थ्यो, प्रदर्शन गर्ने पर्ने , त्यसले गर्दा जिम्मेवारी जसलाई दिईन्छ उसले खेल्नु पर्छ। खेलाडीहरुले टिमको सबै क्षेत्रमा राम्रो गर्ने पर्छ। ओपनिङ्गमा पहिले देखि प्रश्न चिन्ह खडा हुँदै आको हुनाले हामीले सुधार गर्दै जानुपर्छ। एउटा खेलाडीको रुपमा हामीले प्रयास गरिनै रहेका छौँ। हामीलाई पनि ब्याटिंगमा निरन्तरता दिन मनछ त्यसको लागि अहिले देखि प्रयास गरिरहेका छौँ।

Paras Khadka

ओपनिङ्गमा तपाई आफै आउने कुरा छ नि ? 

हुन सक्छ। हेरौं कस्तो खालको परिस्थिति आउछ। त्यो जिम्मेवारी मलाई दिईन्छ भने मैले त्यो चुनौतीको लागि तयार हुनुपर्छ।  मिडल अर्डरमा म करियर भर खेल्दै आएको छु, नामिबीयासंग खेलेपछि म तेश्रो नम्बरमा ब्याटिंग गरिरहेको थिए। सबै भन्दा महत्वपूर्ण कुरा तपाई ओपनिङ्ग गर्नुस, मिडल अर्डरमा खेल्नुस या १० नम्बरमा खेल्नुस , टिमलाई चाहिएको बेला रन बनाउनु महत्वपूर्ण कुरा हो। त्यो अवसर आउछ भने म दुवै हातले लिन तयार छु।

युएई टिम कस्तो छ ? 

उनिहरुको खेलाडी नयाँ भए पनि क्रिकेट खेलीरहेका हुन्छन्। युएईको लागि पहिलो पटक खेल्ने ३-४ जना होला , अनुभवी खेलाडीहरु छैनन्। त्यसो हुँदै गर्दा पनि उनीहरुको टिममा ३-४ जना बाहेक अरु खेलाडीहरुसंग हामीले खेलीनै रहेका छौँ। ३-४ वर्ष यता भन्ने हो भने नेपाल र युएईको हेड टु हेड नतिजा बराबरीकै छ। हाम्रो टिम उनीहरुलाई पराजित गर्न लायक छ।

हाम्रो बलियो पक्ष बलिङ्ग नै हो ? 

अब हामीले यो विबाद बन्द गर्नुपर्छ। २०१९ देखि २३ सम्म ओडीआई मान्यता छ हामिसंग त्यसैले अब ४ वर्ष कुन क्षेत्र कमजोर बलियो भन्दा एउटा टिमको रुपमा हामि कसरि गर्न सक्छौ भन्ने कुरामा हामि फोकस छौ।

समय लाग्छ, ब्याटिंग राता-रात सुधार हुने कुरा हैन। यसको लागि धेरै मेहनत चाहिन्छ। ब्याट्सम्यानको लागि गल्ति गर्ने ठाउँ पनि एकदमै कम छ। एउटा टिमको रुपमा ब्याट्सम्यानले रन हान्दैन भने बलरले या फिल्डरले कभर गर्नेपर्छ। नेपालको ब्याटिंग कम्जोर छ भन्ने विवाद चै अब अन्त्य गर्नुपर्छ।

नेपाली टिम अब नयाँ पुस्तामा प्रवेश गरेको हो ? 

१ वर्ष अघि देखि नयाँ पुस्तामा प्रवेश गरिसकेको हो। ४-५ जना बाहेक सबै युवा छन्। नयाँ पुस्ता भन्दा पनि अब एउटा ओडीआई राष्ट्र भए पछि तपाईले प्रदर्शन गर्नुपर्छ। तपाईले खेलेको सबै रेकर्ड अब जोडिनेगर्छ त्यसैले राम्रो प्रदर्शन गर्नुपर्छ। एउटा टिमको रुपमा राम्रो प्रदर्शन गर्ने हो भने नतिजा हाम्रो पक्षमा आउनेछ।

युएई सिरिजको लागि नेपालको टिम – पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उप-कप्तान), अभिनाश बोहरा, बसन्त रेग्मी, भिम शार्की, बिनोद भण्डारी (विकेट किपर), दिपेन्द्र ऐरी, करण केसी, ललित राजबंशी, आरिफ शेख, पवन सर्राफ, प्रदीप ऐरी, रोहित पौडेल, सन्दिप लामिछाने, सोमपाल कामी, सन्दिप जोहरा

सिरिज अन्तर्गत नेपालले पहिलो एकदिवसीय जनवरी २५ , दोश्रो २६ र तेश्रो २८ तारिकमा खेल्नेछ। ३ वटै एकदिवसीय खेलहरु युएईको स्थानीय समय अनुसार ९:३० बजे अर्थात नेपाली समय ११:१५ बजे सुरु हुनेछ। एक दिवसीय सिरिज पछि टि-२० सिरिजको पहिलो खेल जनवरी ३१, दोश्रो फेब्रुअरी १ तथा तेश्रो फेब्रुअरी ३ तारिकमा खेलिनेछ। सबै टि-२० खेलहरु युएई स्थानीय समय दिउसो १ बजे अर्थात् नेपाली समय २:४५ बजे दिउसो सुरु हुनेछ।





थप समाचार

विश्वकपमा नेपालको खेलतालिका यस्तो छ

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

नेपाललाई हराउँदै वेस्ट इन्डिजलाई सिरिज

काठमाडौं । नेपाललाई हराउँदै वेस्ट इन्डिज ए ले पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा जित निकालेको छ । टियु क्रिकेट […]

सिरिज बराबरी गर्न नेपाललाई २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको सिरिजमा २-२ को बराबरी गर्न नेपालले २ सय १० रनको लक्ष्य पाएको […]

नेपालले टस हार्यो, टोलीमा आठ परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

विश्वकपका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि क्यानडाको टोली घोषणा भएको छ […]

वेस्ट इन्डिज ए सँग चौथो खेल खेल्दै नेपाल

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको चौथो खेल […]