कुवेत बिरुद्ध गर या मरको स्थितिको खेल जित्दै नेपालले टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) प्रतियोगिता अन्तर्गत दोश्रो जित दर्ता गरेको छ। दोश्रो जितसंगै अब नेपालको टि-२० विश्वकप छनौट हुने सम्भावना बलियो भएको छ। भोलि आइतबार हुने खेलमा आयोजक सिंगापुरलाई पराजित गर्न सके नेपालले युएईमा अक्टोबरमा आयोजना हुने टि-२० विश्वकप छनौट खेल्नेछ। टस जितेर नेपालले बलिंग रोजेपछि ब्याटिंग गरेको कुवेतले दिएको १४२ रनको लक्ष्य नेपालले सहजै १५.५ ओभरमा पछ्यायो। आक्रामक इनिंग खेल्दै अर्धशतक बनाएका कप्तान पारस खड्का खेलको प्लेयर अफ द म्याच चुनिए।
नेपालको जितका उत्कृस्ट प्रदर्शन गर्ने ४ खेलाडी
१. बसन्त रेग्मी
नेपालसंगको खेल अघि कुवेतले कतारलाई पराजित गर्ने क्रममा १९७ रनको विशाल योगफल तयार गरेको थियो। नेपाललाई पनि कुवेतले त्यस्तै ब्याटिंग गर्ला भने दबाब रहेको थियो। तर बसन्त रेग्मीले उत्कृस्ट बलिंग गर्दा कुवेतले खुलेर ब्याटिंग गर्ने सकेन। रेग्मीले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए जुन क्रममा १५ रन बनाएका ओपनर सानदारुवान र २५ रन बनाएका अद्नन इदरेसलाई छैठौं ओभरमा आउट गरे। दुवै ब्याट्सम्यानले साझेदारी बनाउन लाग्दा रेग्मीले साझेदारी तोड्दै खेलमा नेपाललाई हावी गराएका थिए।
आज ३ विकेट लिए संगै बसन्त नेपालको लागि टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक विकेट लिने बलर बनेका छन्। उनले कुल २५ विकेट लिंदा २३ विकेट लिएका सोमपाल कामिलाई पछि पारेका हुन्।
२. सन्दिप लामिछाने
बसन्त रेग्मीले माथिल्लो क्रमको विकेट लिए पछि कुवेत मध्यक्रम ध्वस्त पार्ने काम सन्दिपले गरे। यस क्रममा सन्दिपले नवौं ओभरमा १३ रन बनाएका बिलाल ताहिरको विकेट लिए। सोहि ओभरमा खाता नखोल्दै उस्मान वाहिदलाई पनि उनले पेभेलियन फर्काए। उनि त्यतिमै रोकिएननन् र १५ औं ओभरमा शिराज खानको विकेट पनि लिए। उनले ४ ओभर बलिंग गर्दै २१ रन खर्चेर ३ विकेट लिए।
३. पारस खड्का
खेलको प्लेयर अफ द म्याच समेत चुनिएका कप्तान पारसले कुवेतले दिएको १४२ रनको लक्ष्य पछ्याउने क्रममा नेपाललाई आक्रामक सुरुवात दिलाए र खेलमा कुवेतलाई हावी हुने मौकै दिएनन्। टि-२० करियरको तेश्रो अर्धशतक बनाउने क्रममा पारसले ४२ बलमा ११ चौका र १ छक्का प्रहार गर्दै ६८ रन बनाए। यस क्रममा उनले पहिलो विकेटको लागि ज्ञानेन्द्र मल्लसग ४४ रनको तथा दोश्रो विकेटको लागि शरद भेसावकरसग ७८ रनको साझेदारी गरे।
३ वटा अर्धशतक बनाउने पारस नेपालको एक्लो खेलाडी बनेका छन्। यस अघि उनले २०१५ मा नेदरल्याण्ड तथा यसै महिना मलेसियासंग अर्धशतक बनाएका थिए। टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५०० रन बनाउने पहिलो नेपाली खेलाडी बन्न पारस मात्र ५ रनले पर रहेका छन्।यस्तै पारसले कुवेतसंग ११ चौका प्रहार गरे जुन नेपाली खेलाडीले टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा एकै खेलमा प्रहार गरेको सर्वाधिक चौका हो।
४. शरद भेसावकर
लक्ष्य पछ्याउने क्रममा ज्ञानेन्द्र मल्ल १९ रन बनाएर आउट भए पछि एउटा किनारमा आक्रामक ब्याटिंग गरिरहेका पारस खड्कालाई अर्को किनारमा साथको आवस्यकता थियो। शरदले त्यही गरे र पारससंग दोश्रो विकेटको लागि ७८ रनको साझेदारी गर्दै जित सहज बनाए। शरदले ३० बलमा ४ चौका र १ छक्का मदतले अविजित ३८ रन बनाए।
३८ रन बनाए संगै शरद टि-२० अन्तर्राष्ट्रियमा नेपालको लागि धेरै रन बनाउने सुचीमा दोश्रो स्थानमा उक्लिएका छन्। शरदको १६ खेलमा ३०३ रन पुगेको छ। पहिलो स्थानमा पारसको ४९५ रन तथा तेश्रो स्थानमा ज्ञानेन्द्रको २९५ रन रहेको छ।