‘सहि अवसर आए राजनीतिमा आउने बारे सोच्नेछु’ – पारस

२०७८ श्रावण २१, बिहीबार ०९:४९

नेपालको राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खडकाले सही अवसर आए राजनीतिमा आउन सक्ने बताएका छन् । “अवसर आउँछ भने म पछि हट्दिनँ। सही अवसर आए म त्यसबारे सोच्नेछु। मेरो सहभागिताले कस्तो असर पार्न सक्छ भन्ने हिसाबले मैले जहिल्यै आफूलाई तुलना गरेको छु। यदि म कुनै पार्टीसँग जोडिएर नेपाललाई कुनै न कुनै तरिकाले ‘भ्यालु एड’ गर्न सकेँ भने म तयार हुनेछु।” पारसले बताए।

अन्तर्राष्ट्रिय क्रिकेटबाट मङ्गलबार सन्यासको घोषणा गरेका पारसले सञ्चारकर्मीको जिज्ञासालाई एकमुष्ट सम्बोधन गर्न आयोजना गरेको पत्रकार भेटघाटमा उक्त धारणा राखेका हुन्। काठमाडौंमा बिहिबार अपरान्ह आयोजित भेटघाटमा उनले तत्काल आफू क्रिकेट विकास र प्रवर्धनका लागि ब्यवस्थापकीय जिम्मेवारीमा आउने लक्ष्य राखेको बताए-“ब्यवस्थापकीय जिम्मेवारीमा आउन चुनावमा जानुपर्छ, शून्य समयमा त्यसका लागि अभ्यास गर्नेछु ।”

“राम्रो खेलाडी क्याप्टेन बन्न सकेका छैनन्। राम्रो क्याप्टेन, राम्रो प्रशिक्षक बन्न सकेका छैनन्। खेलाडीहरू व्यवस्थापक बन्न सकेका छैनन्। क्रिकेट बाहेकको जुन पोलिटिकल लाइन छ। सही अवसर आए म त्यसबारे सोच्नेछु” उनले बताए।

क्रिकेटमा ब्यवस्थापकीय जिम्मेवारीमा सङ्घका पदाधिकारी वा प्राविधिक क्षेत्रतर्फ भने जिज्ञासामा पूर्व कप्तान पारसले नीति निर्माण गर्ने गरी क्रिकेट विकासका लागि कार्यान्वयन गर्ने स्थानमा पुग्ने इच्छा ब्यक्त गरे। उनले आफू सन् २०११ मा राष्ट्रिय क्रिकेट टोलीको कप्तान नियुक्त हुँदादेखि नै ब्यवस्थापकीय जिम्मेवारीले क्रिकेटलाई पुर्याउन सक्ने योगदानबारे अवगत् भएको अनुभव सुनाए। उक्त अनुभवकै आधारमा आफू ब्यवस्थापकीय जिम्मेवारी आउन रोजेको खुलाए ।

पारसले ब्यवस्थापकीय जिम्मेवारीमा पुग्न क्यानको अधिवेशन कुर्नुपर्ने हुन्छ । जसका लागि दुई वर्ष समय बाँकी छ । पदाधिकारीका लागि छनोट हुन राष्ट्रिय टोलीबाट अवकास लिएको कम्तिमा दुई वर्ष समय बिताएकाे हुनुपर्ने ब्यवस्थाकै कारण उहाँले सन्यास लिएको बुझिन्छ । यद्दपी नेपालले सन् २०१८ अगष्ट तीनमा अन्तर्राष्ट्रिय एकदिबसीय क्रिकेट खेल्न आईसीसीबाट मान्यता पाएको दिनकै अवसर पारेर सन्यासको घोषणा गरेका हुन्।

नेपालमा जिल्ला, प्रदेश र सङ्घ गरी तीन तहमा क्रिकेट सङ्घको विभाजन गरिए झैं क्रिकेट खेल्ने प्रारुप पनि त्यसै बमोजिम अगाडि बढ्नुपर्ने उनले सुझाव दिए । क्रिकेट विकासका लागि आफूले अबको तीन चार महिनाभित्रै एकेड्मी सञ्चालन गर्ने तयारी गरेको उनले खुलाए। ब्यवस्थापकीय जिम्मेवारीमा पुग्नु अघिसम्मको शून्य समय कसरी उपयोग गर्ने सम्बन्धमा पारसले छिट्टै एकेड्मी सञ्चालन गरेर खेलाडी उत्पादनको कार्य सुरु गर्ने बताए।

अचानक सन्यास लिनुको कारणबारे प्रष्ट्याउदै उनले भने,“उमेर ३४ वर्ष मात्रै भए पनि नेपाली क्रिकेटमा मैले करिब लामो समय बिताएको छु, तसर्थ यो हतारको उद्घोष होइन। क्रिकेटले नै मलाई सबथोक दिएको छ । सबै कुरा पाएको छु । यति हुँदाहुँदै पनि सन्यासका लागि यो सही समय हो भनेर निर्णय लिएको हुँ”

सन्यास घोषणाको भिडियो हेर्नुस 

https://www.youtube.com/watch?v=8xCX5PmAs28

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy