एलपीएल : परेराको अर्को आक्रामक इनिंग, जाफ्नाको विजय यात्रा कायमै

लंका प्रिमियर लिग अन्तर्गत मंगलबार सम्पन्न २ वटा खेलमा दाम्बुला भाइकिंग र जाफ्ना स्टालियन्स विजयी भएका छन्।

महिन्दा राजापाक्षे स्टेडियममा सम्पन्न दिनको पहिलो खेलमा दाम्बुलाले कोलोम्बो किंग्लासई २८ रनले पराजित गर्यो। दाम्बुलाले कप्तान दाशुन शनाकाको ५६ रनको मद्दतले बनाएको १७५ रनको जवाफमा ब्याटिंग गरेको कोलोम्बोले १८.४ ओभरमा १४७ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो। कोलोम्बोको लागि लौरी इभान्सले सर्वाधिक ५९ रन बनाएता पनि अन्य ब्याट्सम्यानले साथ दिन सकेनन्। दाम्बुलाओ बलिंगमा समित पटेल, मालिन्दा पुस्पकुमारा, अनवर अलि र पुलिना थरंगाले समान २ विकेट लिए।

जितपछि दाम्बुला र कोलोम्बोको ३ खेलमा समान २ जित र १ हार पछि समान ४ अंक भएको छ। नेट रन रेटमा कोलोम्बो अघि रहेको छ।

परेराको अर्को आक्रामक ब्याटिंग, जाफ्नाको तेश्रो जित 

दिनको दोश्रो खेलमा जाफ्ना स्टालियन्सले क्यान्डी टस्कर्सलाई ५४ रनले पराजित गर्यो।

जाफ्नाले दिएको १८६ रनको लक्ष्य पछ्याउने क्रममा क्यान्डीले १७.१ ओभरमा १३१ रन मात्र बनाउन सक्यो। क्यान्डीको लागि ब्रेण्डन टेलरले सर्वाधिक ४६ तथा असल गुनारत्नेले ३१ रन बनाए। जाफ्नाको बलिंगमा उस्मान शिनवारिले १७ रन खर्चेर सर्वाधिक ३ विकेट लिए। सुरंगा लक्मल, थिसारा परेरा र वानिन्दु हसरंगाले समान २ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको जाफ्नाले २० ओभरमा ८ विकेट गुमाएर १८५ रन बनाएको थियो।

जाफ्नाका कप्तान थिसारा परेराले मात्र २८ बलमा ५ चौका र ५ छक्का प्रहार गर्दै ६८ रन बनाए। उनले अघिल्लो खेलमा दाम्बुला बिरुद्ध पनि ४४ बलमा ९७ बनाएका थिए। यस्तै धनन्जय डी सिल्भाले ३८ बलमा ६१ रन बनाउने क्रममा ५ चौका र ३ छक्का प्रहार गरे। परेरा र डी सिल्भाले आक्रामक ब्याटिंग गर्दा अन्तिम ५ ओभरमा जाफ्नाले ६४ रन बनाएको थियो।

एक समय ४९ रनमै ४ विकेट गुमाएको जाफ्नाको लागि परेरा र डी सिल्भले पाँचौ विकेटको लागि ११८ रनको साझेदारी गरेका थिए।

क्यान्डीको बलिंगमा नभिन उल हकले सर्वाधिक ३ विकेट लिए। असेला गुनारत्नेले २ तथा नुवान प्रदिपले १ विकेट लिए।

अंकतालिका 

जितपछि जाफ्ना ३ खेलमा ३ वटै जित सहित अंकतालिकाको शिर्षमा कायमै रहेको छ। क्यान्डी भने ४ खेलमा १ जित र ३ हार पछि २ अंक बटुल्दै चौथो स्थानमा रहेको छ।

लिग अन्तर्गत बुधबार गाल र जाफ्ना तथा दाम्बुला र क्यान्डी बीच प्रतिस्पर्धा हुनेछ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy