रिशभ पन्तले शानदार शतक बनाउदा भारत अघि

२०७७ फाल्गुन २१, शुक्रबार १८:२२

रिशभ पन्तले शानदार ब्याटिंग गर्दा इंग्ल्यान्ड बिरुद्ध चौथो टेस्टको दोश्रो दिनको समाप्तिमा भारतले ८९ रनको पहिलो इनिंग्सको अग्रता हाँसिल गरेको छ।

पहिलो दिन टस जितेर ब्याटिंग रोजेको इंग्ल्यान्डले २०५ रनमा सबै विकेट गुमाएपछि पहिलो दिननै ब्याटिंग सुरु गरेको भारतले १ विकेट गुमाएर २४ रन बनाएको थियो।

२४/१ को अवस्थाबाट दोश्रो दिन ब्याटिंग सुरु गरेको भारतको सुरुवात खराब रह्यो। पहिलो दिन १५ रन बनाएर क्रिजमा रहेका चेतेश्वर पुजारा थप २ रन व्यक्तिगत योगफलमा जोड्दै ज्याक लिचबाट एलबिडब्लु आउट भए। त्यसको ३ ओभर पछि कप्तान बिराट कोहली खाता नखोली बेन स्टोक्सबाट क्याच आउट हुन पुगे। कोहली टेस्ट करियरमा ११३ इनिंग्समा ब्याटिंग गर्दा १२ औं पटक तथा इंग्ल्यान्ड बिरुद्ध ५ औं पटक खाता नखोली आउट भए। भारत ४१/३ को नाजुक अवस्थामा पुग्यो।

चौथो विकेटको लागि ओपनर रोहित शर्माले अजिंके रहानेसंग ३९ रनको साझेदारी गरे। २७ रन बनाएका रहानेलाई जेम्स एण्डरसनले क्याच आउट गर्दै साझेदारी तोडे। रोहितले त्यसपछि रिशभ पन्तसंग ४१ रनको साझेदारी गरे। अर्धशतकबाट १ रन टाढा रहंदा स्टोक्सले रोहितलाई एलबिडब्लु धरापमा पारे। रोहितले १४४ बलमा ७ चौका प्रहार गरे। त्यसपछि भारतको इनिंग्स रिशभ पन्तले सम्हाले।

पन्तले रभीचन्द्रन आश्विनसंग २५ रनको साझेदारी गरे। १३ रन बनाएका आश्विनलाई लिचले क्याच आउट गराए। त्यसपछि पन्त र वासिंगटन सुन्दरले शतकीय साझेदारी गर्दै इंग्ल्यान्डको पहिलो इनिंग्सको योगफल पार गर्दै भारतलाई अग्रता दिलाए। घरेलु भुमिमा पहिलो तथा करियरको तेश्रो टेस्ट शतक प्रहार गरेका पन्तलाई एण्डरसनले जो रुटबाट क्याच आउट गराउदै ११३ रनको साझेदारी तोडे।

पन्तले १०१ रन बनाउने क्रममा ११८ बलमा १३ चौका र २ छक्का प्रहार गरे। अर्धशतक पुरा गर्न ८२ बल लगाएका पन्तले त्यसपछिको ३३ बलमा शतक पुरा गरेका थिए। ११५ बलमा शतक पुरा गर्दा पन्तले इंग्ल्यान्ड कप्तान रुटलाई स्लग स्विप गर्दै छक्का प्रहार गरेका थिए। शतक पुरा गरे पछिको ओभरमा आक्रामक सट खेल्ने क्रममा उनले विकेट दिएका थिए।

पन्तको विकेट पछि वासिंगटन सुन्दरले अक्षर पटेलसग आठौँ विकेटको लागि ३५ रनको साझेदारी गरेका छन्। दिनको समाप्तिमा सुन्दर ११७ बलमा ८ चौका मद्दतले ६० रनमा तथा पटेल ३४ बलमा २ चौका मद्दतले ११ रन बनाएर अविजित छन्।

इंग्ल्यान्डको बलिंगमा जेम्स एण्डरसनले ३ विकेट ( २०-११-४०-३ ) तथा बेन स्टोक्स ( २२-६-७३-२ ) र ज्याक लिचले ( २३-५-६६-२ ) समान २ विकेट लिएका छन्।

पहिलो इनिंग्समा इंग्ल्यान्डले ७५.५ ओभरमा सम्पूर्ण विकेट गुमाएर २०५ रन बनाएको थियो। उसको लागि बेन स्टोक्सले ५५ तथा ड्यानियल लरेन्सले ४६ रन बनाएका थिए। भारतको बलिंगमा अक्षर पटेलले ४, रभीचन्द्रन आश्विनले ३ तथा मोहम्मद सिराजले २ विकेट लिएका थिए।

पन्तको कीर्तिमान

गिलक्रिस्टको बराबरी :  टेस्ट करियरको तेश्रो शतक बनाएका भारतीय विकेटकिपर ब्याट्सम्यान रिशभ पन्त इंग्ल्यान्ड, अस्ट्रेलिया र भारत गरि तिन वटै देशमा शतक बनाउने टेस्ट क्रिकेट इतिहासकै दोश्रो विकेटकिपर ब्याट्सम्यान बनेका छन्। यस अघि अस्ट्रेलियन पूर्व विकेटकिपर ब्याट्सम्यान एडम गिलक्रिस्टले मात्र यस्तो किर्तिमान बनाएका थिए।

छक्का प्रहार गर्दै शतक : रिशभले छक्का हिर्काउदै शतक बनाएको टेस्ट करियरमा दोश्रो पटक हो। टेस्ट क्रिकेटमा भारतीय ब्याट्सम्यानहरुमा रोहित शर्मा र गौतम गम्भीरले समान २ पटक तथा सबैभन्दा धेरै सचिन तेन्दुलकरले ६ पटक छक्का प्रहार गर्दै शतक पुरा गरेका छन्।

धेरैले पढेको :-

https://wicketnepal.com/k-mayor-cup-cap-sandeep-wn21/

https://wicketnepal.com/2-sonu-lai-mauka-didai-bagmati-team-wn21/

https://wicketnepal.com/ipl-14-chennai-le-practice-suru-garne-wn21/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy