युसुफ पठानद्वारा सन्यास घोषणा, जसको नाममा छ यस्तो रोचक रेकर्ड

२०७७ फाल्गुन १४, शुक्रबार १७:३६

३७ वर्षीय भारतीय अलराउण्डर युसुफ पठानले सबै फर्म्याटको क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्।

भारतको लागि ५७ वटा एकदिवसीय अन्तर्राष्ट्रिय र २२ वटा टि-२० अन्तर्राष्ट्रियमा प्रतिनिधित्व गरेका पठानले घरेलु क्रिकेट खेलेता पनि भारतीय टिमको लागि अन्तिम पटक २०१२ मा खेलेका थिए। त्यसपछि छनोटकर्ताको नजरमा पठान परेनन्। भारतको लागि खेल्ने क्रममा पठान ब्याट र बल दुवैबाट प्रभाव पार्ने खेलाडीको रुपमा चिनिने गर्थे।

“म सबै फर्म्याटको खेलबाट सन्यास लिएको घोषणा गर्छु। म मेरो परिवार, साथीहरु, समर्थकहरु, टिम र सम्पूर्ण देशलाई माया र साथको लागि हृदयदेखि धन्यवाद दिन चाहन्छु। म निश्चित छु कि मलाई आगामी दिनमा पनि हौसला दिनु हुनेछ।” सन्यास घोषणा गर्दै पठानले बताएका छन्।

दायाँ हाते ब्याट्सम्यान पठानले ५७ एकदिवसीयमा २७.० को औशतले २ शतक र ३ अर्धशतक मद्दतले ८१० रन बनाएका थिए। यस्तै २२ वटा टि-२० अन्तर्राष्ट्रियमा उनले १८.१५ को औशतले २३६ रन बनाएका थिए। बलिंगतर्फ अफस्पिनर पठानले एकदिवसीयमा ३३ विकेट तथा टि-२० मा १३ विकेट लिएका थिए।

सन् २००७ को दक्षिण अफ्रीकामा सम्पन्न पहिलो टि-२० विश्वकपको फाइनलमा पठानले भारतको लागि डेब्यु गरेका थिए। फाइनलमा ओपनर बिरेन्द्र सेहवाग घाइते हुँदा उनले मौका पाएका थिए। सो खेलमा भारत ५ रनले विजयी हुँदै विश्वकप जितेको थियो। भारतको लागि डेब्यु र विश्वकपनै जित्ने एक मात्र क्रिकेटर बनेका पठानले अचम्मको कीर्तिमान नाम गरेका थिए। उक्त खेलमा पठानले ओपनिंग ब्याटिंग गर्दै ८ बलमा १ चौका र १ छक्का मद्दतले १५ रन तथा बलिंगमा १ ओभर बलिंग गर्दै ५ रन खर्चेर विकेटविहिन रहेका थिए।

पठानको नाममा आईपीएलमा दोश्रो छिटो शतक बनाउने रेकर्ड रहेको छ। उनले २०१० आईपीएलमा राजस्थान रोयल्सको प्रतिनिधित्व गर्ने क्रममा मुम्बई इन्डीएन्स बिरुद्ध ३७ बलमा शतक बनाएका थिए। त्यस क्रममा उनले ८ छक्का र ९ चौका प्रहार गरेका थिए। आईपीएलमा सबैभन्दा छिटो शतक बनाउने ब्याट्सम्यान क्रिस गेल हुन् जसले पठानको रेकर्ड तोड्दै २०१३ मा बैंगलोरको प्रतिनिधित्व गर्दा पुने बिरुद्ध मात्र ३० बलमा शतक पुरा गरेका थिए।

२००७ मा टि-२० विश्वकप तथा २०११ मा भारतले एकदिवसीय विश्वकप जित्दा जित्दा पठान भारतीय टिमको सदस्य रहेका थिए

आईपीएलमा पठानले अन्तिम पटक २०१९ मा सनराइजर्स हैदरावादको प्रतिनिधित्व गरेका थिए। हैदरावादले रिलिज गरेपछि २०२० सिजनमा उनलाई कुनै पनि टिमले लिएको थिएन। आईपीएलमा पठानले १७४ खेल खेल्दा ३ हजार २ सय ४ रन बनाएका थिए जुन क्रममा उनको स्ट्राइक रेट १४२.९७ रहेको थियो। यस्तै उनले ७.४ रन प्रतिओभर खर्चदै ४२ विकेट पनि लिएका थिए।

पठानले तिन पटक आईपीएल उपाधि समेत जितेका छन्। २००७ मा राजस्थान रोयल्सले तथा २०१२ र २०१४ मा कोलकाताले उपाधि जित्दा उनि टिमको महत्वपूर्ण सदस्य रहेका थिए।

पठानले आगामी मार्च ५ देखि सुरु हुने रोड सेफ्टी वर्ल्ड सिरिजमा भारत लेजेन्डस टिमको प्रतिनिधित्व गर्नेछन्।

धेरैले पढेको :-

https://wicketnepal.com/narendr-modi-stadium-pitch-root-wn21/

https://wicketnepal.com/2-din-mai-test-banyo-ysta-kirtiman-wn21/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy