आयरल्याण्डका अर्का स्टार खेलाडी एभरेष्ट प्रिमियर लिगमा : इपिएल टि-२०

आयरल्याण्ड राष्ट्रिय टिमका बिष्फोटक ब्याट्सम्यान पौल स्टर्लिंग एभरेष्ट प्रिमियर लिग (ईपिएल टि-२०) प्रतियोगिताको तेस्रो संस्करणको लागि नेपाल आउने भएछन्।

आउँदो मङ्सिर २२ गतेदेखि काठमाडौंमा सुरुहुने ६ टिम सम्मेलित प्रतियोगितामा प्रत्येक टिममा ३ बिदेशी खेलाडी हुनैपर्ने नियम रहेको छ। सोहि नियम स्वरूप प्रतियोगिताको एक टोलि चितवन टाइगर्सले स्टर्लिंगलाई बिदेशी खेलाडीको रुपमा भित्र्याएको हो। चितवनले बिहिबार प्रेस बिज्ञप्ति जारी गर्दै स्टर्लिगलाई टोलीमा समावेश गरेको जानकारी गराएको हो।

आयरल्याण्डको लागि ओपनिंग ब्याटिंग गर्ने स्टर्लिंगले कुल १०० एक दिवसीय अन्तर्राष्ट्रिय र ५२ टि-२० अन्तर्राष्ट्रिय को अनुभव बटुलेका छन्। बिष्फोटक ब्याटिंगका लागि चिनिने स्टर्लिंगको नाममा ३३४६ एक दिवसीय तथा ११८१ टि-२० अन्तर्राष्ट्रिय रन रहेको छ।

विश्वभरका बिभिन्न टि-२० लिगमा पौल स्टर्लिंग सहभागी हुँदै आएका छन्। युएईमा जारी टि-१० लिगमा सन्दिप लामिछानेसंगै केरेला नाइट्सको टोलीमा रहेका उनले इंग्ल्याण्डको काउन्टी टोलि मिडलसेक्सबाट टि-२० प्रतियोगिता खेल्ने गर्दछन्। स्टर्लिंगको नाममा १७४ टि-२० खेलमा १४२.८६ को आक्रामक स्ट्राइक रेटमा ४१९६ रन रहेको छ।

बुधवार राति मात्र स्टर्लिंगले टि-१० लिग अन्तर्गत पख्तुन्सलाई पराजित गर्न केरेला नाइट्सको तर्फबाट बिष्फोटक ब्याटिंग गरेका थिए। टस हारेर ब्याटिंग गर्दै पख्तुन्सले दिएको ११० रनको लक्ष्या पछ्याउन मैदान उत्रिएको केरेलाका लागि स्टर्लिंगले ४ छक्का र ३ चौका सहित ४० रन जोडेका थिए।

स्टर्लिंग सहभागी चितवन टाइगर्सले यसअघि इंग्ल्याण्डका पुर्व यू-१९ कप्तान म्याक्स होल्डेन र न्युजील्याण्डका जेम्स फुलरलाई आफ्ना दुई बिदेशी खेलाडीको रुपमा घोषणा गरेको थियो। यद्यपी होल्डेन इंग्ल्याण्ड “ए” टोलीका छनौट भएका र फुलरले पारिवारिक कारण देखाउंदै प्रतियोगितामा सहभागी हुन नसक्ने बताएका छन्।

चितवन टाइगर्सका मालिक किशोर भट्टराईले फुलर र होल्डेनको स्थानमा समेत स्तरीय दुई बिदेशी खेलाडी ल्याउने योजना रहेको समेत बताएका छन्।

दिपेन्द्र ऐरी मार्की खेलाडी रहेको चितवनमा पृथु बाँस्कोटा, भिम शार्की, दिलिप नाथ, सन्दिप सुनार, ललित भण्डारी, शाहव आलम, कमल सिंह ऐरी जस्ता खेलाडीहरु रहेका छन्। यस्तै चितवनले केहि साता अघि सम्पन्न क्लोज बिडिंग मार्फत आदील खान, सागर ढकाल र इशान पाण्डेलाई समेत टोलीमा समेटेको थियो।

एभरेष्ट प्रिमियर लिग (इपिएल) मङ्सिर २२ गते देखि सुरु भइ फाइनल खेल पौष ७ गते ( डिसेम्बर ८ – डिसेम्बर २२ ) खेलिनेछ। कुल १५ दिन संचालन हुने प्रतियोगितामा २ दिन ( मङ्सिर २७ गते र पौष ६ गते ) बाहेक सम्पूर्ण दिन खेलहरु संचलान हुनेछन्।

प्रतियोगितामा काठमाडौं किंग्स ११, भैरहवा ग्लाडीएटर्स, बिराटनगर वारियर्स, पोखरा राइनोज, ललितपुर प्याट्रीयट्स र चितवन टाइगर्स गरि ६ टोलीको सहभागिता रहनेछ।

यस बर्षको संस्करणमा सिकन्दर राजा (काठमाडौं किंग्स एघार), केभिन ओ ब्रायन (काठमाडौं किंग्स एघार), रोहन मुस्तफा (काठमाडौं किंग्स एघार), पौल स्टर्लिंग (चितवन टाइगर्स), मोहम्मद नाबिद (भैरहवा ग्लाडीएटर्स), कायल कोट्जर (पोखरा राइनोज) जस्ता नाम चलेका बिदेशी खेलाडीहरुले सहभागिता जनाउदै छन्।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy