टि-२० विश्वकप : फिलिप्सको शानदार शतकमा न्युजिल्यान्डको उत्कृस्ट जित

अस्ट्रेलियामा जारि टि-ट्वान्टी विश्वकप अन्तर्गत सुपर-१२ चरणको समुह ‘१’ को खेलमा न्युजिल्यान्डले श्रीलंकालाई पराजित गर्दै सेमीफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ।

सिड्नी क्रिकेट ग्राउण्डमा न्युजिल्यान्डले दिएको १६८ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १९.२ ओभरमा सबै विकेट गुमाएर १०२ रन मात्र बनायो।

श्रीलंकाको लागि कप्तान दासुन शनाकाले ३५ तथा भानुका राजापक्षले ३४ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। लक्ष्य पछ्याउने क्रममा २४ रनमै ५ विकेट गुमाएको श्रीलंकालाई न्युजिल्यान्डले निरन्तर दबाबमा राख्यो।

न्युजिल्यान्डको बलिंगमा ट्रेन्ट बोल्टले ४ विकेट लिए जुन क्रममा ४ ओभरमा मात्र १३ रन खर्चिए। मिचेल स्यान्टनर र इश सोढ़ीले २/२ तथा टिम साउदी र लकी फर्गुसनले १/१ विकेट लिए।

फिलिप्सको शानदार शतक 

टस जितेर ब्याटिंग गर्ने क्रममा न्युजिल्यान्डले १५ रन बनाउदा पहिलो ३ विकेट गुमायो। चौंथो नम्बरमा ब्याटिंग गरेका ग्लेन फिलिप्सले त्यसपछि एक किनार सम्हाल्दै अन्तिम ओभरसम्म ब्याटिंग गरे। त्यस क्रममा फिलिप्स टि-२० विश्वकपमा शतक बनाउने न्युजिल्यान्डको दोश्रो ( पहिलो ब्रेण्डन म्याकलम ) तथा विश्वकै एघारौं ब्याट्सम्यान बन्न पुगे।

६१ बलमा शतक पुरा गरेका फिलिप्सले अन्तिम ओभरमा आउट हुनु अघि ६४ बलमा १० चौका र ४ छक्का मद्दतले १०४ रन बनाए। उनले चौंथो विकेटको लागि डेरेल मिचेलसंग ८४ रनको महत्वपूर्ण साझेदारी गरे। मिचेलले २२ रन बनाए। मिचेल स्यान्टन रले अविजित ११ रन बनाए।

श्रीलंकाको बलिंगमा कसुन रजिथाले २ तथा महेश तिक्षना, धनन्जय डी सिल्भा, वानिन्दु हसरंगा र लाहिरु कुमाराले १/१ विकेट लिए।

अंकतालिका 

जितपछि समुह ‘१’ अंकतालिकामा न्युजिल्यान्ड ५ अंक सहित शिर्षमा यथावत छ जसले ३ खेल खेल्दा २ जित हात पार्यो भने एक खेल नतिजाविहिन रह्यो। तेश्रो खेलमा एक जित र दुई हार पछि श्रीलंका २ अंक सहित पुछारमा छ। न्युजिल्यान्डले आगामी खेल इंग्ल्यान्ड र आयरल्याण्डसंग खेल्ने बाँकी छ। यस्तै श्रीलंकाले अफगानिस्तान र इंग्ल्यान्डसंग खेल्न बाँकी छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy