लगातार चौथो हार पछि किंग्स-११ पन्जाब आईपीएल २०२० अंकतालिकामा पुछारमा रहेको छ। लिगको सुरुवात दिल्लीसंगको सुपर ओभर हारबाट गरेको पन्जाबले दोश्रो खेलमा बैंगलोरलाई ९७ रनको विशाल अन्तरले पराजित गर्दै पहिलो जित दर्ता गरेको थियो। तर त्यसपछि केएल राहुल कप्तानीको टिमले राजस्थान, मुम्बई, चेन्नाई र हैदरावादसंग हार बेहोर्यो।
टिमको असफलताको पछाडी केहि कमजोरीहरु प्रस्ट देखिएको छ जस मध्ये एउटा प्रमुख कारण ग्लेन म्याक्सवेल जस्ता ठूला नाम फेल हुनु हो। ६ खेलमा म्याक्सवेलले १, ५ , १३ , ११ , ११* र ७ रन बनाएका छन् जसले कथा आफै बयान गर्छ। पन्जाबलाई अब गर या मरको अवस्था आइरहेको बेला पूर्व इंग्ल्यान्ड कप्तान केभिन पिटरसनले म्याक्सवेलको बिकल्प सोच्नु पर्ने बताएका छन्।
“पन्जाबले अब म्याक्सवेलको बिकल्प सोच्नुपर्छ। तपाईले विदेशी खेलाडीको ठाउँ त्यसरी राख्नु हुँदैन। ग्लेन म्याक्सवेल यो आईपीएलमा रननै बनाएका छैनन्।”
“राहुलले आफ्नो विदेशी खेलाडीहरुबाट सहयोग पाएका छैनन्। हो पुरनले जरुर रन बनाए तर म्याक्सवेललाई अब निकाल्नु पर्छ या अब बढीमा १ खेल अधिक मौका दिनुपर्छ।” कमेन्ट्रिको दौरान पिटरसनले बताए।
वेस्टइन्डिज ब्याट्सम्यान निकोलस पुरनबारे पनि यस अघि आलोचना भैरहेको थियो तर हैदरावाद बिरुद्ध ३७ बलमा ७७ रन बनाउदै उनले आलोचकहरुलाई शान्त बनाएका छन्।
पन्जाबका प्रशिक्षक अनिल कुम्बलेले हैदरावादसंगको खेल दौरान अन्तर्वार्तामा क्रिस गेलले मौका पाउने बारे जिज्ञाशा राख्दा गेललाई हैदरावादसंग खेलाउने योजना बनाएता पनि उनि फुड पोइजनिंग भएका कारण खेल्न नसकेको बताएका थिए। कुम्बलेले आगामी खेलमा गेलले मौका पाउने संकेत गरे। पिटरसनले गेललाई खेलाउनको लागि कप्तान राहुलले म्याकसवेललाई हटाउने कठिन निर्णय लिनु पर्ने बताए –
“म्याक्सवेल टिमको लागि ठूलो खेलाडी हुन् तर उनले प्रदर्शन देखाउन सकेका छैनन्। त्यसैले उनको बिकल्पमा अर्को खेलाडी भित्र्याउनु पर्छ।”
“र गेल, अनिल कुम्बलेले बताएका थिए कि उनको पेटमा केहि समस्या छ। गेलले जादु त देखाउन सक्लान् तर उनलाई कति नम्बरमा ब्याटिंग गराउने ? मलाई लाग्दैन उनि ३-४ नम्बरमा ब्याटिंग गर्न सक्छन किनकि उनको विकेट बीचमा दौड कमजोरछ।” पिटरसनले बताए।
म्याक्सवेललाई २०१८ को अक्सनमा पन्जाबले १०.७५ करोड भारतीय रुपैयाँमा टिममा लिएको थियो। त्यसभन्दा अघि दिल्लीले उनलाई अक्सनमा ९ करोड भारुमा किनेको थियो। म्याक्सवेललाई हरेक सिजन महँगो मूल्यमा किनीएता पनि उनको प्रदर्शन भने औशत रहने गरेको छ। आईपीएलमा म्याक्सवेलले खेलेको ७५ खेलमा उनले २२.२३ को औशतले १,४४५ रन बनाउन सकेका छन्। आईपीएलमा म्याक्सवेलले अन्तिम अर्धशतक २०१६ मा बनाएका थिए।
भारतीय पूर्व क्रिकेटर बिरेन्द्र सेहवागले म्याक्सवेलको अब अर्को सिजन अक्सनमा मूल्य १० करोड बाट झरेर १-२ करोड पुग्ने बताएका छन् –
“उनलाई यति ठूलो रकम खर्चिने गरिन्छ तर परिणाम जस्ताको तस्तै हुन्छ। फ़्रेन्चाइज् टिम उनको पछाडी किन भागिरहन्छन् म बुझ्न सक्दिन। आगामी अक्सनमा उनको मूल्य १० करोडबाट झरेर १-२ करोडको आसपास हुनेछ र यस्तो हुनुपनि पर्छ।” सेहवागले क्रिक्बजसंगको कुराकानीमा बताए।
IPL : दिल्लीको विजय यात्रामा राजस्थान बन्ला बाधा ? यस्तो छ दुवै टिमको सम्भावित ११
पन्जाब-हैदरावाद खेलमा बने ८ रेकर्ड
सन्दिप र सुनम सहभागी ‘लंका प्रिमियर लिग’ ड्राफ्ट नयाँ मितिमा हुने
सन्दिप र सुनम लंका प्रिमियर लिगको ड्राफ्टमा, को हुन् सुनम गौतम
IPL : अरेन्ज क्याप रेसको टप-५ मा बेयरस्टो र वार्नरको आगमन, अंकतालिकाको अवस्था के छ