डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डीएन्स युएईमा जारि आईपीएलको पहिलो चरणबाटै बाहिरिएको छ। शुक्रबार राति अबुधाबी स्थित शेख जायद स्टेडियममा सम्पन्न खेलमा सनराइजर्स हैदरावादलाई ४२ रनले पराजित गरेता पनि नेट रन रेटमा कोलकातासंग पछि परेपछि मुम्बईको यो सिजन यात्रा समाप्त भएको हो।
खेलमा मुम्बईले पहिले ब्याटिंग गर्दै २३५ रन बनाएको थियो जसपछि नेट रन रेटमा कोलकातालाई पछि पार्न ६५ रन या त्यो भन्दा कम योगफलमा हैदरावादलाई समेट्न सक्नु पर्थ्यो जसमा मुम्बई असफल रह्यो। मुम्बई र कोलकाताले समान १४ खेलमा समान ७ जित र ७ हार बेहोर्दै १४ अंक बटुलेता पनि कोलकाता नेट रन रेटमा अघि रहँदै चौंथो स्थानमा रहेर प्लेअफ प्रवेश गरेको हो। कोलकाताको नेट रन रेट +०.५८७ छ भने मुम्बईको +-०.११६ छ।
मुम्बईले दिएको २३६ रनको विशाल लक्ष्य पछ्याउने क्रममा हैदरावादले पुरै २० ओभर ब्याटिंग गरेता पनि ८ विकेट क्षेतीमा १९३ रन मात्र बनाउन सक्यो। हैदरावादका कप्तान मनिष पाण्डेले ४१ बलमा ७ चौका र २ छक्का मद्दतले ६९ रन बनाए भने जेसन रोयले ३४, अभिषेक शर्माले ३३ तथा प्रियम गर्गले २९ रन बनाएता पनि जितको लागि पर्याप्त रहेन। मुम्बई बलर जस्प्रित बुम्राह ( ४-०-३९-२ ) , नाथन कोल्टर नाइल ( ४-०-४०-२ ) र जेम्स निशमले ( ३-०-२८-२ ) समान २ विकेट तथा ट्रेन्ट बोल्ट र पियुष चावलाले समान १ विकेट लिए।
यस अघि टस जितेर ब्याटिंग गरेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट क्षेतीमा २३५ रन बनाएको थियो। यो योगफल मुम्बईको आईपीएल इतिहासकै सबैभन्दा ठुलो योगफल हो। यस अघि मुम्बईले २०१७ मा पन्जाब बिरुद्ध २२३ रन बनाएको थियो जुन रेकर्ड आज तोडिएको हो।
मुम्बईको ब्याटिंगमा ओपनर इशान किशनले सर्वाधिक ८४ रन तथा सुर्यकुमार यादवले ८२ रन बनाए। किशनले ३२ बलमा ११ चौका र ४ छक्का तथा यादवले ४० बलमा १३ चौका र ३ छक्का प्रहार गरे। रोहित शर्माले १८, काईरन पोलार्डले १३ तथा हार्दिक पान्ड्याले १३ रन योगदान दिए।
आक्रामक ब्याटिंग गरेका किशनले मात्र १६ बलमा अर्धशतक पुरा गरेका थिए जुन मुम्बईको लागि आईपीएल इतिहासकै छिटो अर्धशतक हो। किशनले पावरप्लेको ६ ओभरमै ६३ रन बनाएका थिए जुन आईपीएल इतिहासमै पावरप्लेको ६ ओभर भित्र बनाएको तेश्रो सर्वाधिक रन हो। यस्तै इनिंग्सको पहिलो ४ ओभरमा अर्धशतक बनाउने किशन मात्र दोश्रो ब्याट्सम्यान हुन्। यस अघि २०१८ र २०१९ मा केएल राहुलले दिल्ली बिरुद्ध २.५ ओभरमा र चेन्नाई बिरुद्ध ४ ओभरमा अर्धशतक पुरा गरेका थिए।
हैदरावादको बलिंगमा जेसन होल्डरले सर्वाधिक ४ विकेट ( ४-०-५२-२ ) लिए। यस्तै राशिद खान ( ४-०-४०-२ ) र अभिषेक शर्मा ( १-०-४-२ ) ले समान २ विकेट र उम्रान मलिकले १ विकेट ( ४-०-४८-१ ) लिए।
आईपीएलको प्लेअफ समीकरण पुरा : आईपीएलको लिग चरणको सम्पूर्ण खेलहरु सकिएको छ। सबै टिमले १४ खेल खेलेका छन् जसपछि प्लेअफ समीकरण समेत तय भएको छ। दिल्ली क्यापिटल्स २० अंक सहित पहिलो, चेन्नाई १८ अंक सहित दोश्रो, बैंगलोर १८ अंक सहित तेश्रो तथा कोलकाता १४ अंक सहित चौंथो स्थानमा रहेर प्लेअफ पुग्यो।
लिगको प्लेअफ चरणको खेलहरु आइतबार ( अक्टोबर १० ) देखि सुरु हुनेछ। पहिलो क्वालीफायरमा अक्टोबर १० तारिखमा दिल्ली क्यापिटल्स र चेन्नाई सुपर किंग्सले प्रतिस्पर्धा गर्नेछन् जसको विजेता फाइनल पुग्नेछ। यस्तै इलिमीनेटरमा अक्टोबर ११ तारिखमा बैंगलोर र कोलकाता बीच प्रतिस्पर्धा गर्नेछ जसको विजेताले फाइनल प्रवेशको लागि पहिलो क्वालीफायरको विजेतासंग अक्टोबर १३ मा खेल्नेछ। फाइनल खेल अक्टोबर १५ तारिखमा दुबईमा खेलिनेछ।