प्रम कप : एपीएफको दोश्रो जित, गण्डकी बाहिरियो

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत सातौँ दिन मुलपानी मैदानमा सम्पन्न खेलमा विभागीय टोलि नेपाल एपीएफ क्लबले गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गर्दै दोश्रो जित दर्ता गरेको छ।

प्रतियोगिता अन्तर्गत एपीएफले पहिलो खेलमा प्रदेश-१ लाई पराजित गरेको थियो। गण्डकी प्रदेशले त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेशसंग हार बेहोर्दा प्रदेश-१ लाई पराजित गरेको थियो। तेश्रो हारपछि गण्डकी प्रतियोगिताबाट बाहिरिएको छ।

खेलमा गण्डकीले दिएको १०७ रनको लक्ष्य एपीएफले ४ विकेट गुमाएर १७.३ ओभरमा पुरा गर्यो।

एपीएफको लागि ओपनर आसिफ शेखले सर्वाधिक ७८ रन बनाए जुन क्रममा ५६ बलमा ५ चौका र ६ छक्का प्रहार गरे। सुमित महर्जनले १८ रन बनाए। आसिफले यस अघि प्रदेश-१ बिरुद्ध पनि ५९ रन बनाएका थिए।

ओपनर सुबास खकुरेल र रित गौतम पहिलो ओभरमै खाता नखोली चन्द्रकान्तबाट आउट भएपछि आसिफले तेश्रो विकेटको लागि सुमित महर्जनसंग ७३ रनको साझेदारी गर्दै टिमलाई जिततर्फ डोर्याएका थिए। आसिफलाई १८ औं ओभरमा बिशाल पौडेलले एलबिडब्लु आउट गरे।

गण्डकीको बलिंगमा चन्द्रकान्त पौडेल र बिशाल पौडेलले समान २ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको गण्डकी प्रदेशले ४६ ओभरमा सम्पूर्ण विकेट गुमाएर १०६ रन बनाएको थियो।

गण्डकीको लागि ओपनर समिर कंडेलले सर्वाधिक ३६ रन बनाए भने बिष्णु पाण्डे र दिपेश खत्रीले समान १५ रन तथा दिनेश बुढामगरले १२ रन बनाए।

एपीएफको बलिंगमा कमल सिंह ऐरीले सर्वाधिक ४ विकेट लिए। अविनाश बोहरा र शरद भेसावकरले समान २ विकेट तथा किशोर महतोले १ विकेट लिए।

स्कोरकार्डअंकतालिका 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy