प्रम कप बागमती छनोट : पवनको शतकमा ललितपुरको जित

प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगिताको लागि बागमती प्रदेश छनोट प्रतियोगिता अन्तर्गत आइतबार सम्पन्न खेलहरुमा ललितपुर र काठमाडौँ विजयी भएका छन्।

टियु मैदानमा सम्पन्न खेलमा काठमाडौँले नुवाकोटलाई २ विकेटले पराजित गर्यो जुन क्रममा नुवाकोटले दिएको २०९ रनको लक्ष्य काठमाडौँले ४० ओभरमा ८ विकेट नोक्सानीमा भेटायो।

काठमाडौँको लागि बिभत्सु थापाले सर्वाधिक ५१, बिपिन बिक्रम शाहीले ४२, जितेन्द्र सिंह ठकुरीले ३१ तथा रजत तिमल्सिनाले २२ रन योगदान दिए। २८ रनको योगफलमा ३ विकेट गुमाएको अवस्थामा बिभत्सु थापा र बिपिन बिक्रम शाहीले चौथो विकेटको लागि ९७ रनको साझेदारी गरेका थिए। नुवाकोटको बैंगमा अभिराज यादवले ३, राजेश रिमालले २ तथा दिपेन्द्र प्याकुरेल र साकार रावतले समान १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको नुवाकोटले ४० ओभरमा ९ विकेट गुमाएर २०८ रन बनाएको थियो। उसको लागि कप्तान तथा ओपनर राजेश रिमालले सर्वाधिक ८१ रन बनाए। आयुष बस्नेतले २७, पवन राइले २३ तथा अनुप श्रेष्ठले २० रन बनाए।

काठमाडौँको बलिंगमा इशान पाण्डेले ३, सन्जम रेग्मीले २ तथा अरियो पौडेल र सुमन उदयले समान १ विकेट लिए।

ललितपुरको विशाल जित 

मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा ललितपुरले त्रिभुवन युनिभर्सिटी ( टियु ) लाई १२४ रनले पराजित गर्यो जुन क्रममा ललितपुरले दिएको २६९ रनको लक्ष्य पछ्याएको टियुले ४० ओभर ब्याटिंग गरेता पनि ९ विकेट गुमाएर १४५ रन मात्र बनाउन सक्यो।

टियुका ओपनर तथा राष्ट्रिय क्रिकेटर पृथु बास्कोटाले ४९, सुशान्त तिमल्सिनाले २८ तथा निराकार राइले १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। पृथु र सुशान्तले पहिलो विकेटको लागि ७४ रनको साझेदारी गरेका थिए। ललितपुरको बलिंगमा आशुतोष घिरैयाले ३ तथा सुमित झा र बिपिन आचार्यले समान २ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको ललितपुरले निर्धारित ४० ओभरमा ७ विकेट गुमाएर २६८ रन बनाएको थियो। ललितपुरको लागि यु-१९ राष्ट्रिय क्रिकेटर रहीसकेका पवन श्रेष्ठले शतकीय योगदान दिए। श्रेष्ठले १०३ बलमा अविजित ११७ रन बनाए जुन क्रममा १० चौका र ३ छक्का हिर्काए। टियुको बालिगमा पृथु बास्कोटाले ४ , सुशान्त तिमल्सिनाले २ तथा सुरेश साउदले १ विकेट लिए।

प्रतियोगिता अन्तर्गत समुह ‘बि’ बाट चितवन जिल्ला फाइनल प्रवेश गरिसकेको छ। आइतबार काठमाडौँ र मकवानपुर तथा भक्तपुर र नुवाकोट बीचको खेल हुनेछ जसपछि समुह ‘ए’ बाट फाइनल पुग्ने टिम पक्का हुनेछ।

प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगिता माघको पहिलो साता काठमाडौँमा आयोजना हुने बताइएको छ तर अधिकारिक रुपमा मिति भने सार्वजनिक गरिएको छैन।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy