प्रधानमन्त्री कपको प्रत्यक्ष प्रशारण कान्तिपुरले गर्ने

कार्तिक १३ गते आइतबार देखि सुरु हुने प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको प्रत्यक्ष प्रशारण कान्तिपुर टेलिभिजनले गर्ने भएको छ।

विकेटनेपाललाई क्यान श्रोतबाट जानकारी प्राप्त भए अनुसार शनिवार क्यान र कान्तिपुर टिभी बीच प्रशारण सम्झौता भएको हो।दुवै पक्षले अधिकारिक रुपमा भने सम्झौता बारे जानकारी गराएको छैन।

प्रधानमन्त्री कप लगायत नेपाल क्रिकेट संघले आयोजना गर्ने घरेलु राष्ट्रिय प्रतियोगिताहरुको यस अघि डीश होम मिडियाको ‘एक्सन स्पोर्ट्स’ च्यानलले प्रत्यक्ष प्रशारण गर्दै आएको थियो। पहिलो पटक प्रधानमन्त्री कपको प्रशारण कान्तिपुरले गर्ने भएको हो।

यस अघि एक्सन स्पोर्ट्सले क्यानको सबै घरेलु राष्ट्रिय प्रतियोगिता गर्ने सम्झौता गरेता पनि उक्त सम्झौता नवीकरण नभएपछि कान्तिपुर अघि सरेको हो। कान्तिपुरले विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको प्रत्यक्ष प्रशारण गरिसकेको छ। कान्तिपुरको मुख्य च्यानल या अन्य च्यानलबाट प्रत्यक्ष प्रशारण आउनेछ भने जानकारी प्राप्त भएको छैन।

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता कार्तिक १३ देखि २६ गतेसम्म संचालन हुनेछ। प्रतियोगितामा तिन विभागीय टोलि पुलिस, आर्मी र एपीएफ बाहेक सात प्रदेश गरि दश टिम सहभागी छन्।

सहभागी १० टिमलाई दुई समुहमा बिभाजन गरिएको छ। समुह ‘ए’ मा मधेश प्रदेश, नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश र प्रदेश-१ छन्। समुह ‘ए’ मा नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश छन्। सबै टिमले समुह चरणमा एक/एक खेल खेलेपछि समुहको शिर्ष दुई टिम सेमीफाइनल प्रवेश गर्नेछन्।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy