प्रम कप लुम्बिनी छनोट : बाँकेलाई पराजित गर्दै रुपन्देही च्याम्पियन

२०७७ माघ १, बिहीबार २१:३०

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता पुरूषतर्फको लुम्बिनी प्रदेश स्तरीय छनोट खेलमा रुपन्देही प्रादेशिक च्याम्पियन बनेको छ।

बिहीबार रुपन्देहीको सिद्धार्थ रंगशालामा भएको खेलमा बाँकेलाई १०७ रनको फराकिलो अन्तरले पराजित गर्दै रुपन्देही च्याम्पियन भएको हो।बाँकेले उपविजेतामा चित्त बुझायो।

टस जितेर ब्याटिङ गरेको रुपन्देहीले निर्धारित ४० ओभरको खेलमा ८ विकेट क्षतिमा १८७ रनको योगफल बनाएको थियो। उसका लागि सन्दीप रजालीले सर्वाधिक ८९ रनको योगदान गरे।

यस्तै, प्रकाश केसीले ३५, कृष्ण कार्कीले १९ र विक्रम भुसालले १४ रन बनाए। बलिङमा बाँकेका अजय साहनी र आकाश विष्टले ३/३ तथा दीपेन्द्र राउत, सिद्धान्तराज साहीले १/१ विकेट लिए।

जवाफी ब्याटिङ गरेको बाँके २६ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर ८० रनमै समेटियो। उसका लागि रमेश सिंहले १९ र शुबेन्दु पाण्डेले १० रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।

बाँकेलाई सस्तैमा रोक्न रुपन्देहीका देब्रे हाते स्पिनर अनिल खरेलले ५ विकेट लिए। यस्तै, नितेश थापाले २, धिरज शाही, कृष्ण कार्की र दुर्गेश गुप्ताले समान १/१ विकेट लिए।

रुपन्देहीका सन्दीप रजाली म्यान अफ द फाइनल भई ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे भने रुपन्देहीकै विक्रम भुसाल म्यान अफ द सिरीज भई १० हजार रुपैयाँ प्राप्त गरे।

विजेता र उपविजेता टिमलाई नेपाल क्रिकेट संघका पूर्व केन्द्रीय सदस्य आशा गुरुङ लगायतले ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy