महिला प्रधानमन्त्री कप राष्ट्रिय टि-२० प्रतियोगिता अन्तर्गत पहिलो दिनको दोश्रो खेलले डिफेन्डिङ च्याम्पियन एपीएफले कर्णाली प्रदेशलाई २०४ रनको विशाल अन्तरले पराजित गरेको छ। समुह ‘ए’ अन्तर्गतनै सम्पन्न दिनको पहिलो खेलमा लुम्बिनी प्रदेशले प्रदेश-२ बिरुद्ध सहज जित दर्ता गरेको थियो।
२०४ रनको हार प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगितामा सबैभन्दा ठूलो अन्तरको हार हो। स्कोरकार्ड
दाङको लमही क्रिकेट मैदानमा सम्पन्न खेलमा एपीएफले दिएको २३६ रनको विशाल लक्ष्य पछ्याउने क्रममा कर्णालीले १४.१ ओभरमा ३१ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो।
कर्णालीको कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। कप्तान लक्ष्मी रिमालले सर्वाधिक ६ तथा दिक्ष्या पुरीले अविजित ५ रन योगदान दिईन्। ५ जना ब्याट्सउमनहरु खाता नखोली आउट भए।
एपीएफको बलिंगमा अफ स्पिनर करुणा भण्डारी एक्लैले ५ विकेट हात पारिन् जुन क्रममा उनले ३.१ ओभर बलिंग गर्दै २ मेडन ओभर सहित मात्र २ रन खर्चिन्। राजमती ऐरीले २ ( २-०-६-२ ) तथा सोनु खड्का ( २-१-३-१ ) र रेखा रवाल ( २-०-३-१ ) ले समान १/१ विकेट आफ्नो नाम गरे।
एपीएफको कीर्तिमानी योगफल
लमही क्रिकेट मैदानमा टस जितेर ब्याटिंग रोजेको एपीएफले २० ओभरमा ४ विकेट गुमाएर २३५ रन बनाएको थियो।
प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० क्रिकेटमा यो सबैभन्दा ठूलो योगफल हो। प्रधानमन्त्री कपको अघिल्लो संस्करणमा कर्णाली प्रदेश बिरुद्ध प्रदेश-३ ले १५६ रन बनाएको थियो।
एपीएफको लागि कप्तान सिता राना मगरले सर्वाधिक ६८ रन बनाईन्। सिताले ५९ बलमा ८ चौका प्रहार गरिन्। यस्तै सरिता मगरले ३४ बलमा ६ चौका मद्दतले ४४ रन बनाईन्। ज्योति पाण्डेले ३२, इन्दु बर्माले २२ रन बनाईन्।
कर्णालीले अतिरिक्तको रुपमा ६७ रन खर्चियो जसमा ४१ वाइड, १८ नो बल, ७ बाइ र १ लेग बाइ सामेल थियो।
उत्कृस्ट सुरुवात गर्ने क्रममा ओपनर ज्योति पाण्डे र सिता मगरले ९७ रनको ओपनिंग साझेदारी गरे। नवौं ओभरमा ज्योतिलाई निशा पराजुलीले क्याच आउट गराए। ज्योतिको विकेटपछि सिताले सरिता मगरसंग ९९ रनको साझेदारी गरे। १८ औं ओभरमा सितालाई अन्जु गुरुङले बोल्ड गरे। सरिता मगर र इन्दु बर्मा बीच तेश्रो विकेटको लागि ३४ रनको साझेदारी गरे।
कर्णालीको बलिंगमा दिक्षा पुरीले २ ( ४-०-४२-२ ) विकेट तथा निशा पराजुली ( ४-०-३४-१ ) , अन्जु गुरुङ ( ४-०-५१-१ ) ले समान १ विकेट हात पारे।