प्रधानमन्त्री कप पुरुष र महिला राष्ट्रिय प्रतियोगिता पुष दोश्रो साता आयोजना हुने

२०७७ मंसिर १५, सोमबार २०:२३

नेपाल क्रिकेट संघले पुरुष र महिला प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको आयोजना गर्ने भएको छ। दुवै प्रतियोगिताको लागि खेलाडी छनौट गर्न क्यानले सम्पूर्ण प्रादेशिक क्रिकेट संघहरुलाई पत्राचार गरेर जानकारी गराएको छ।

प्रधानमन्त्री कप पुरुष प्रतियोगिताको आयोजना काठमाडौँमा तथा महिलाको दांगको लमहीमा आयोजना हुनेछ। दुवै प्रतियोगिता पुष ११ गते सुरु हुने बताउदै सम्पूर्ण जिल्ला संघहरुलाई मङ्सिर २१ गते भित्र जिल्ला टिम छनौट गर्न क्यानले पत्राचार गरेको छ।

क्यानले जिल्ला टिमको तयारीको लागि २० हजार रुपैयाँ र १ दर्जन बल उपलब्ध गराउने बताएको छ। साथै संघले टिमको छनौट निस्पक्ष गर्न समेत जिल्लासंघलाई जिम्मेवारी दिएको छ। संघले जिल्ला छनौट पछि आयोजना हुने प्रादेशिक प्रतियोगिता पौष ७ गते भित्र सम्पन्न गर्ने पनि जानकारी गराएको छ।

यस अघि जस्तै काठमाडौँमा मुलपानी क्रिकेट मैदान र टियु मैदान गरि २ वटा मैदानमा पुरुषतर्फको खेलहरु संचालन हुनेछन्। महिलातर्फकको खेल लमही क्रिकेट मैदानमा आयोजना हुनेछ। गत वर्ष महिला प्रधानमन्त्री कपको आयोजना महेन्द्रनगरमा भएको थियो।

दांगको लमही क्रिकेट मैदानमा प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिता आयोजना हुनेछ

प्रतियोगिताको फर्म्याट कस्तो हुने बारे क्यानले जानकारी गराएको छैन। यस अघि सहभागी टिमहरुलाई २ वटा समुहमा छुट्याएर सिंगल राउण्ड रोबिनमा खेलहरु खेलाउदै आइएको थियो।

अन्तिम पटक प्रधानमन्त्री कपको आयोजना २०१९ मे र जुन महिनामा भएको थियो। नेपाल पुलिस क्लबले उपाधि जित्ने क्रममा फाइनलमा आर्मीलाई ४ विकेटले पराजित गरेको थियो। त्यसपछि यसै वर्षको सुरुवातमा क्यानले प्रतियोगिता आयोजना गर्ने तयारी गरेता पनि कोरोनाका कारण आयोजना सम्भव भएको थिएन।

व्याप्त कोरोना महामारीको दौरान आयोजना हुने हुँदा प्रतियोगितामा क्यानले खेलाडीहरुलाई कसरि व्यवस्थापन गर्नेछ हेर्नलायक हुनेछ।

पिएम कपमा ७ प्रदेश र तीन विभागीय टोली गरी कुल १० टोलीबीच प्रतिस्पर्धा हुने छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पिएमकपको लागि ४० लाख रुपैयाँ छुट्याएको छ । अन्य रकम क्यानले प्रायोजनबाट उठाउनुपर्ने हुन्छ । ओडिआई मान्यता देश नेपालको पिएमकप एकमात्र राष्ट्रिय एक दिवसिय प्रतियोगिता हो ।

क्यान निलम्बनमा हुँदा राखेपले पिएमकप सन् २०१७ देखि सुरु गरेको थियो । पहिलो संस्करणको फाइनल वर्षाको कारण प्रभावित हुँदा उपाधि नेपाल आर्मी र नेपाल पुलिस क्लबले संयुक्त रुपमा बाँडेका थिए । दोस्रो संस्करण २०१८ को फाइनलमा एपिएफले आर्मीलाई ६ विकेटले हराउँदै उपाधि जितेको थियो । तेस्रो संस्करण २०१९ मा पुलिसले आर्मीलाई ४ विकेटले हराउँदै उपाधि जितेको थियो ।

यस अघिका तीन संस्करणमा क्यान नहुँदा पिएम कपको लागि जिल्ला र प्रदेश छनोट भने हुन सकेको थिएन ।

उपाधि विजेताले २० लाख र उप विजेताले १० लाख रुपैयाँ प्राप्त गर्दै आएका छन् ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy