बिनोदको शतकमा आर्मीद्वारा गण्डकीलाई कठिन लक्ष्य

राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अन्तर्गत नेपाल क्रिकेट संघको आयोजनामा प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता काठमाडौँमा सुरु भएको छ। प्रतियोगिता अन्तर्गत समुह ‘ए’ अन्तर्गतको पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशले प्रतिस्पर्धा गरिरहेका छन्।

टियु मैदानमा जारि खेलमा टस जितेर ब्याटिंग रोजेको त्रिभुवन आर्मी क्लबले निर्धारित ५० ओभरमा ६ विकेट गुंयेर २८७ रन बनाउदै गण्डकीलाई २८८ रनको कठिन लक्ष्य प्रस्तुत गरेको छ।

स्कोरकार्ड 

आर्मीको लागि कप्तान बिनोद भण्डारीले शतकीय योगदान दिए। करियरकै पहिलो शतक बनाउने क्रममा भण्डारीले ७६ बलमा ९ चौका र ५ छक्का मद्दतले अविजित १११ रन बनाए। उनले ७३ बलमा शतक पुरा गरेका थिए जुन क्रममा ४९ औं ओभरमा अमृत गुरुङको छैठौं बलमा १ रन लिएका थिए।

आर्मीको लागि राजु रिजालले ४५ रन, लोकेश बमले ४२ रन, राजेश पुलामीले ३८ रन, भिम शार्कीले १५ रन, हरि कृष्ण झाले १४ रन योगदान दिए।

आर्मीका ओपनर हरिकृष्ण झा र राजु रिजालले ६३ रनको ओपनिंग साझेदारी गरे। १९ औं ओभरमा झालाई बिपिन खत्रीले क्याच आउट गराए। त्यस पछि आर्मीले लगातार विकेट गुमाउन पुग्यो। बिपिनले २१ औं ओभरमा राजु रिजाललाई एलबिडब्लु आउट गराए। २२ औं ओभरमा रोहित पौडेल र २६ औं ओभरमा भिम शार्कीलाई बिशाल पौडेलले पेभेलियन फर्काए।

१११/४ को अवस्थामा पुगेको आर्मीको इनिंगलाई कप्तान बिनोद भण्डारीले उकासे। भण्डारीले पाँचौ विकेटको लागि राजेश पुलामीसंग ७३ रनको साझेदारी गरे। ४० औं ओभरमा पुलामीलाई दिपेश खत्रीले क्याच आउट गराए। त्यसपछि भण्डारीले लोकेश बमसंग शतकीय साझेदारी गरे। १० ओभरमा दुवैले १०३ रनको साझेदारी गरे। इनिंग्सको अन्तिम बलमा लोकेश बमलाई चन्द्र पौडेलले स्टम्प आउट गरे।

गण्डकी प्रदेशको बलिंगमा बिपिन खत्री ( १०-१-७५-२ ) र बिशाल पौडेल ९ १०-०-५७-२ ) ले समान २ विकेट तथा दिपेश खत्री ( १०-१-३४-१ ) र चन्द्र पौडेल ( १०-०-६३-१ ) ले समान १ विकेट लिए।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy