आईसीसी विश्वकप लिग-२ अन्तर्गत ओमानमा जारि आयोजक ओमान, पपुवा न्यु गिनी र स्कटल्याण्ड बीचको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत दोश्रो खेलमा ओमानले पपुवा न्यु गिनीलाई ११० रनले सहजै पराजित गरेको छ।
अल अमिरात मैदानमा सम्पन्न खेलमा ओमानले दिएको २५१ रनको लक्ष्य पछ्याएको पपुवा न्यु गिनीले ४२.२ ओभरमा १४० रन मात्र बनाउन सक्यो। विश्वकप लिग -२ मा पपुवा न्यु गिनीको जितको प्रतीक्षा लम्बिएको छ जसले हालसम्म खेलेको सबै १० खेलमा हार व्यहोरेको छ। सिरिज अन्तर्गत पहिलो खेलमा स्कटल्याण्डले पपुवा न्यु गिनीलाई ६ विकेटले पराजित गरेको थियो।
लक्ष्य पछ्याउने क्रममा पपुवा न्यु गिनीका जेसन किलाले ३६, असाद भालाले २७ तथा लेगा सीयाकाले २२ रन बनाए। ओमानको बलिंगमा कप्तान जिशान मक्सुदले सर्वाधिक ४ विकेट ( १०-१-२८-४ ) , आयान खानले ३ विकेट ( ७.२-१-१२-३ ), अकिब इल्यासले २ विकेट ( ९-०-३४-२ ) र बिलाल खानले १ विकेट ( ४-२-१२-१ ) लिए।
यस अघि टस हारेर फिल्डिंग गरेको ओमानले निर्धारित ५० ओभरमा ७ विकेट क्षेतीमा २५० रन बनाएको थियो। उसको लागि सुरज कुमारले सर्वाधिक ६२ रन बनाए जुन क्रममा अविजित रहँदै ७० बलमा २ चौका र २ छक्का प्रहार गरे। यस्तै आयान खानले ४४, अकिब इल्यासले ३४, नसिम खुसिले २७, जिशान मक्सुदले २६, कश्यप प्रजापतिले २२ तथा कलेमुल्लाहले अविजित १९ रन बनाए।
१४० रनमा ५ विकेट गुमेको अवस्थामा सुरज कुमारले छैठौं विकेटको लागि सन्दिप गौडसंग ४४ रनको, सातौँ विकेटको लागि नसिम खुसिसंग ३४ रनको तथा आठौँ विकेटको लागि कलेमुल्लाहसंग ३२ रनको साझेदारी गरेका थिए।
पपुवा न्यु गिनीको बलिंगमा कबुवा मोरियाले २ विकेट लिंदा नोसैना पोकाना, नोर्मन भानुवा, चाड सोपर, असद भाला र चार्ल्स अमिनीले समान १ विकेट लिए।
आईसीसी विश्वकप लिग-२ अंकतालिकामा ओमान १५ खेलमा १२ जित र ३ हार पछि २४ अंक सहित शिर्ष स्थानमा कायमै रहेको छ। अमेरिका १६ खेलमा १४ अंक सहित दोश्रो, स्कटल्याण्ड ९ खेलमा ५ जित सहित ११ अंक सहित तेश्रो, नेपाल ८ खेलमा ८ अंक सहित चौंथो स्थानमा छ। समान ८ अंक रहेको नामिबिया पाँचौ , युएई ७ अंक सहित छैठौं र पपुवा न्यु गिनी १० खेलमा अंकविहिन रहँदै सातौँ स्थानमा छ।