सन् २०१८ देखि एकदिवसीय अन्तर्राष्ट्रिय खेल्न थालेपछि ३ वर्षको अवधिमा मात्र १० वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेलेको छ। यस अवधिमा नेपाली क्रिकेट टिम र खेलाडीहरुले बिभिन्न कीर्तिमानहरु कायम गरेका छन्। पपुवा न्यु गिनीसंगको दुई वटा एकदिवसीय अन्तर्राष्ट्रियको सिरिजमा नेपाली टिम र खेलाडीहरुसंग यस अघि बनेका बिभिन्न कीर्तिमानहरु तोडेर नयाँ कीर्तिमान बनाउने अवसर रहेको छ। त्यस्ता केहि कीर्तिमानहरुको सूची प्रस्तुत गरेका छौँ –
१. सर्वाधिक व्यक्तिगत स्कोर : एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म नेपाली ब्याट्सम्यानले मात्र एउटा शतक प्रहार गर्न सकेका छन्। पारस खड्काले युएई बिरुद्ध २०१९ जनवरीमा नेपालको लागि एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो र एक मात्र शतक बनाएका थिए। त्यस क्रममा उनले बनाएको ११५ रननै नेपालको सर्वाधिक व्यक्तिगत स्कोर हो। पपुवा न्यु गिनीसंग दुई वटा खेलमा नेपाली ब्याट्सम्यान सामु पारसको उक्त रेकर्ड तोड्ने अवसर रहेको छ।
२. सर्वाधिक साझेदारी : एकदिवसीय अन्तर्राष्ट्रियमा कुनै पनि विकेटको लागि नेपाली ब्याटिंग जोडीको सर्वाधिक साझेदारी ८४ रनको हो। अमेरिका बिरुद्ध गत वर्ष कुशल मल्ल र बिनोद भण्डारीले छैठौं विकेटको लागि गरेको उक्त साझेदारीको कीर्तिमान पपुवा न्यु गिनीसंग तोड्ने अवसर नेपाली ब्याट्सम्यानहरुसंग रहेको छ।
३. ओपनिंग साझेदारी : एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालको सर्वाधिक ओपनिंग साझेदारी ६१ रनको हो। ज्ञानेन्द्र मल्ल र बिनोद भण्डारीले २०१९ को युएई भ्रमणमा ओपनिंग गर्दै सिरिजको दोश्रो खेलमा ६१ रन बनाएका थिए। ओमान टुरमा नेपालको ओपनिंग ब्याटिंग कुशल भुर्तेल र आसिफ शेखले गर्ने सम्भावना प्रवल छ। दुवैले नेदरल्याण्ड-मलेसियासंगको त्रिकोणात्मक सिरिजमा ओपनिंग गर्दै लगातार दुईवटा शतकीय साझेदारी गर्दै विश्वकीर्तिमान बनाएका थिए। कुशल र आसिफको जोडीले टि-२० अन्तर्राष्ट्रियमा थुप्रै कीर्तिमान बनाए जस्तै एकदिवसीय फर्म्याटमा पनि निरन्तरता दिने अवसर छ।
४. सर्वाधिक रनकर्ता : एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालको लागि सर्वाधिक रन बनाउने कीर्तिमान पनि पारस खड्काको नाममा रहेको छ। पारसले १० खेलमा ३१५ रन बनाएका छन्। दोश्रो स्थानमा रहेका कप्तान ज्ञानेन्द्र मल्लले १० खेलमा २२२ रन बनाएका छन् भने तेश्रो धेरै दिपेन्द्र ऐरीले १५९ रन बनाएका छन्। पारसलाई पछि पार्न ज्ञानेन्द्र मल्लले थप ९४ रन बनाउनु पर्नेछ। पपुवा न्यु गिनीसंग दुई खेलमा मल्लले पारसको यो कीर्तिमान तोड्दै नेपालको एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक रन कर्ताबन्ने अवसर रहेको छ।
५. छिटो अर्धशतक : नेपालको लागि छिटो एकदिवसीय अन्तर्राष्ट्रिय अर्धशतक बनाउने ब्याट्सम्यान सोमपाल कामि हुन् जसले नेदरल्याण्ड बिरुद्ध पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय जितको दौरान २०१८ मा ३८ बलमै अर्धशतक पुरा गरेका थिए। पपुवा न्यु गिनी बिरुद्ध कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, बिनोद भण्डारी जस्ता आक्रामक ब्याट्सम्यानहरुसंग सोमपालको यो रेकर्ड तोड्ने अवसर छ।
६. सर्वाधिक टिम योगफल : नेपालको एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक टिम योगफल २५५ रन हो जुन नेपालले युएईलाई २०१९ मा पराजित गर्दा लक्ष्य पछ्याउने क्रममा बनाएको थियो। पहिले ब्याटिंग गर्ने क्रममा नेपालको उच्च योगफल २४९ रन हो जुन ओमान बिरुद्ध नेपालले गत वर्ष घरेलु सिरिजमा बनाएको थियो। पपुवा न्यु गिनी बिरुद्ध दुई खेलमा नेपालको सर्वाधिक टिम योगफलको रेकर्ड टुट्न सक्नेछ।
यी मध्ये कुन रेकर्ड पपुवा न्यु गिनीसंग दुई खेलमा टुट्ला ?