देब्रे हाते स्पिनर निसर्ग पटेलले घातक बलिंग तथा ओपनर स्टेभेन टेलरले आक्रामक ब्याटिंग गर्दा ओमान भ्रमण अन्तर्गत पहिलो एकदिवसीयमा अमेरिकाले पपुवा न्यु गिनी ( पीएनजी ) लाई सहजै पराजित गरेको छ। विश्वकप लिग-२ अन्तर्गत ओमान र नेपालसंग त्रिकोणात्मक सिरिज खेल्नु अघि अमेरिकाले पपुवा न्यु गिनीसंग दुई वटा एकदिवसीय खेल्दैछ।
अल अमिरात क्रिकेट मैदान ( टर्फ २ ) मा पपुवा न्यु गिनीले दिएको १५९ रनको लक्ष्य अमेरिकाले २८.२ ओभरमै ३ विकेट क्षेतीमा भेटायो। पपुवा न्यु गिनी बिरुद्ध अमेरिकाको यो लगातार तेश्रो जित हो। यस अघि विश्वकप लिग-२ अन्तर्गत खेलिएको दुवै खेलमा अमेरिकाले पपुवा न्यु गिनीलाई पराजित गरेको थियो।
लक्ष्य पछ्याउने क्रममा ओपनर स्टेभेन टेलर र सुशान्त मोदानीले १०७ रनको साझेदारी गर्दै अमेरिकाको जितको आधार तयार गरे। १७ औं ओभरमा आउट हुनु अघि टेलरले एकदिवसीय अन्तर्राष्ट्रियमा व्यक्तिगत उत्कृस्ट स्कोर बनाए जुन क्रममा मात्र ५६ बलमा ७ चौका र ७ छक्का प्रहार गरे। यस क्रममा २७ वर्षीय देब्रे हाते ब्याट्सम्यान टेलरले ३१ बलमा अर्धशतक बनाएका थिए भने देब्रे हाते स्पिनर जेसन किलाले गरेको छैठौं ओभरमा ४ छक्का र १ चौका मद्दतले २८ रन बनाएका थिए।
टेलरको विकेटपछि मोदानी २४ रन बनाएर आउट भए। तेश्रो विकेटको लागि निसर्ग पटेल र गजानन्द सिंहले ३९ रनको साझेदारी गरे। सिंह ९ रन बनाएर आउट भए पछि पटेलले अविजित ४३ रन तथा जस्करन मलहोत्राले ३ रन बनाउदै टिमलाई जितसम्म पुर्याए। पीएनजीको बलिंगमा दामीएन राभु र चार्ल्स अमिनीले समान १ विकेट लिए।
यस अघि टस जितेर ब्याटिंग गरेको पपुवा न्यु गिनीले ४४.२ ओभरमा सबै विकेट गुमाएर १५८ रन बनाएको थियो। उसको लागि कप्तान असद भालाले सर्वाधिक ६१ रन, सिसि बाउले ३१ रन योगदान दिए। भाला र बाउ बीच चौथो विकेटको लागि ५६ रनको साझेदारी इनिंग्समा सर्वाधिक रह्यो। ९९ रनमा ३ विकेट गुमाएको अवस्थामा निसर्ग पटेलले ४ विकेट लिंदै पीएनजीको मध्यक्रम तहसनहस पारेका थिए।
अमेरिकाको बलिंगमा देब्रे हाते स्पिनर निसर्ग पटेलले एकदिवसीय अन्तर्राष्ट्रिय करियरकै उत्कृस्ट स्पेल दर्ता गर्ने क्रममा १० ओभरमा ३० रन खर्चेर ४ विकेट लिंदै पपुवा न्यु गिनीको मध्यक्रम ध्वस्त पारे। यस्तै अर्का देब्रे हाते स्पिनर नोस्थुश केन्जिंगेले पनि करियरकै उत्कृस्ट बालिग गर्ने क्रममा ३ विकेट ( ६.२-१-२२-३ ) लिए। कप्तान सौरभ नेत्रभाल्करले २ ( ७-०-२३-२ ) तथा एल्मोर हचकिन्सनले १ विकेट ( ६-०-१२-१ ) लिए।
अमेरिका र पीएनजी बीच दोश्रो एकदिवसीय अन्तर्राष्ट्रिय सेप्टेम्बर ९ तारिख ( बिहिबार ) खेलिनेछ। त्यस अघि नेपालले पपुवा न्यु गिनीसंग सेप्टेम्बर ७ तारिख ( मंगलबार ) खेल्ने तालिका रहेको छ।