बिष्फोटक ब्याटिंग गर्दै रबि इन्द्र सिंहले ९० रन जोडेपछि पोखरा पल्टनले पहिलो संस्करणको पोखरा प्रिमियर लिगको उपाधि हात पारेको छ। मंगलवार सम्पन्न रोमाञ्चक फाइनल खेलमा पोखराले चितवन राइनोजलाई ३ विकेटले पराजित गर्यो।
पहिले ब्याटिंग गर्दै चितवनले दिएको १६१ रनको लक्ष्य पोखराले खेल सकिन ४ बल बाँकी रहंदा ७ विकेट गुमाएर पुरा गर्यो।

पोखरालाई जित दिलाउन रबि इन्दर सिंहले सानदार ब्याटिंग गर्दै ९० रनको इनिंग खेले। तेस्रो नम्बरमा ब्याटिंग गर्न उत्रिएका रबिले ५८ बलमा १३ चौका र ३ छक्का सहित ९० रन जोडे। रबि खेलको प्लेयर अफ दि म्याच समेत घोषित भए।
ठूलो लक्ष्य पछ्याउने क्रममा पोखरा पल्टनको सुरुवात राम्रो हुन सकेको थिएन। ओपनर कुशल भुर्तेल ४ रनको स्कोरमा पभेलियन फर्किंदा टोलीको स्कोर ४/१ रहेको थियो।

तेस्रो नम्बरमा ब्याटिंग गर्न आएका रबि इन्दर सिंहले त्यसपश्चात आसिफ शेखसंग दोस्रो विकेटका लागि ६१ रनको साझेदारी गर्दै पल्टनको चेजलाई गति दिए। आसिफ व्यक्तिगत १२ रन जोड्दा सन्नी पटेलकोट सिधा थ्रोमा रन आउट हुन पुगे।
आसिफको विकेट पश्चात ब्याटिंग गर्न हिटरको रोल उत्रिएका मोहम्मद नाबिदले बिष्फोटक ब्याटिंग गर्दै मात्र १४ बलमा २५ रन जोडे। मात्र १४ बलमा नाबिदले १ चौका र ३ छक्का प्रहार गरे।
यस्तै पल्टनका लागि कप्तान शरद भेसावाकर २२ , रोहित पौडेल 0 रन बनाएर पभेलियन फर्किए। बिनोद भण्डारी भने ५ रन बनाएर अविजित रहे।
चितवनको बलिङ्गमा भूबन कार्कीले २ विकेट लिए। यस्तै पारस खड्का, सन्नी पटेल र करन केसीको नाममा समान १-१ विकेट रह्यो।
यसअघि पहिलो इनिंगको समाप्तिमा चितवन राइनोजले ५ विकेट गुमाएर १६० रन जोडेको थियो। उसको इनिंगमा पारस खड्काले सर्वाधिक ५१ रन जोडेका थिए। यस्तै सन्नी पटेलले ४३ रनको योगदान गरेका थिए।
प्रतियोगिताको पहिलो अर्धशतक बनाउने क्रममा पारसले ५१ रनको योगदान गरेका थिए। ३७ बल खेलेका पारसले ९ चौका सहित ५१ रन जोड्दै अनिल साहसंग दोस्रो विकेटका लागि ७६ रनको साझेदारी गरेका थिए।
अनिल व्यक्तिगत ३७ रन जोड्दा मोहम्मद नाबिदको शिकार बनेका थिए। त्यसक्रममा उनले ३ चौका र १ छक्का प्रहार गरेका थिए।

पारसको विकेटपछि ब्याटिंगमा उत्रिएका सन्नी पटेलले प्रतियोगितामा आफ्नो लय कायम राख्दै बिष्फोटक ब्याटिंग गरेका थिए। २१ बल खेलेका सन्निले ३ चौका र ४ छक्का प्रहार गरेका थिए।

यस्तै आरिफ शेख १४ रन बनाएर अविजित रहँदा हरि शंकर शाहा ८ र करन केसी ० रन बनाएर पभेलियन फर्किएका थिए।
पोखराको बलिङ्गमा कृष्ण कार्कीले सर्वाधिक २ विकेट लिएका थिए। ४ ओभरको स्पेलमा ३६ रन खर्चिएका कार्कीले करन केसी र सन्नी पटेललाई पभेलियन फर्काएका थिए। यस्तै मोहम्मद नाबिद र ललित राजबंशीको नाममा समान १-१ विकेट रहेको थियो।

