- विकेटनेपाल – १९ कार्तिक, सोमबार (पोखरा)
पोखरा रंगशालामा यहि कार्तिक ९ गतेदेखि पोखरा प्रिमियर लिग टि २० क्रिकेट प्रतियोगिता चलिरहेको छ। सोहि प्रतियोगिताको उपाधीको लागि मंगलबार हुने फाइनल खेलमा पारस खड्का कप्तानीको चितवन राइनोज र शरद भेसावाकर कप्तानीको पोखरा पल्टन भिड्दैछन्।
पोखरा पल्टन राउण्ड रोबिन लिगको समाप्तीमा अङ्कतालिकाको शीर्ष स्थानमा रहँदै फ़ाइनलमा प्रबेश गरेको हो भने चितवन राइनोजले दोश्रो स्थानमा रहँदै एलिमिनेटर खेलमा ज्ञानेन्द्र मल्ल कप्तानीको काठमान्डौ रोयल्सलाई पराजित गरेको थियो।
यस्तो थियो समूह-चरणमा दुबै टोलीको प्रदर्शन :
पोखरा पल्टन
शरद भेसावाकर कप्तान रहेको पोखरा पल्टनले प्रतियोगिताको उद्घाटन खेलमा सन्दिप लामिछानेको कप्तानीमा रहेको बिराटनगर टाईटन्सको सामना गरेको थियो। सो खेलमा पोखराका ब्याट्सम्यानहरुले उत्कृस्ट प्रदर्शन गरेपछि खेल ५८ रनले आफ्नो पक्षमा पारेको थियो।
यस्तै आफ्नो दोस्रो खेलमा सोमपाल कामीको बुटवल ब्लास्टर्ससँग ब्याटिंग नचल्दा पोखराले ३३ रनको हार बेहोरेको थियो।

तेस्रो खेलमा पारस खड्का कप्तानीको चितवन राइनोजलाई ५ विकेटले पराजित गरेको पोखरा चौथो खेलमा दिपेन्द्र ऐरीले आकर्षक पारि खेलेपछि अन्तिम २ ओभरमा २७ रन बचाउन नसक्दा २ विकेटले पराजित भयो।
राउण्ड रोबिन लिग अन्तर्गत दोस्रो चरणमा पुग्नको लागि जित्ने पर्ने खेलमा ज्ञानेन्द्र मल्लको काठमाण्डौ रोयल्सलाई ४ विकेटले पराजित गरेपछि काठमाण्डौ र चितवनको समान ६ अंक भएको थियो। तर तुलनात्मक शिर्ष नेट रनरेटका आधारमा पोखराले फाईनलमा स्थान बनाएको हो।
चितवन राइनोज
प्रतियोगिता अगाडी टिमलाई पेपरमा उतार्दा दाबेदारी प्रस्तुत गरेको पारस खड्काको कप्तानीमा रहेको टिमले खराब सुरुवात गर्दै पहिलो दुई खेलमा क्रमश: बुटवल ब्लास्टर्ससँग ७० रन र पोखरा पल्टनसँग ५ विकेटले पराजित भयो। त्यसपछि भने उत्कृस्ट पुनरागमन गरेको उसले क्रमश: ३ खेल जित्दै ६ अंकका साथ एलिमिनेटरमा स्थान पक्का गर्यो।

तेस्रो खेलमा धनगढी ब्लुजलाई १२६ रनले पराजित गरेको चितवनले चौथो खेलमा काठमाण्डौ रोयल्सलाई १३ रनले पराजित गर्यो भने समूहको जित्नैपर्ने अन्तिम खेलमा बिराटनगर टाईटन्सलाई ४ विकेटले पराजित गर्दै एलिमिनेटरको स्थान पक्का गर्यो।
यस्तो छ पारस-शरदको अघिल्ला खेलहरुको नतिजा
पोखरा प्रिमियर लिग अन्तर्गत समूह चरणमा भएको भिडन्तमा पोखरा पल्टनले ५ विकेटले बाजी मारेको थियो। टस जितेर पहिले ब्याटिंग गरेको चितवन राइनोजले पारस खड्काको ४४ रन तथा सन्नी पटेलको अविजित ४६ रनको मद्दतमा १४० रनको योगफल तयार पारेको थियो। पोखराका लागि बिक्रम भुसालले सर्बाधिक २ विकेट हात पारेका थिए।
जवाफमा रवि इन्दर सिंहले ६५ रन र कप्तान शरद भेसावकरले आक्रामक ३७ रनको पारि खेलेपछि पोखराले १६ बल अगावै लक्ष्य पुरा गरेको थियो। चितवनका लागि करण केसीले सर्बाधिक ३ विकेट लिएपनि जित दिलाउन सकेका थिएनन्।
यस्तै पारस खड्का र शरद भेसावकर बिचको टिम नेपालको घरेलु टि-२० प्रतियोगिताको फ़ाइनलमा भिड्न लागेको तेस्रो पटक हो। यसअघि सन् २०१७ को एभरेस्ट प्रिमियर लिगमा पारस खड्काको बिराटनगर वारियर्सले शरद भेसावाकरको भैरहवा ग्लाडीएटर्सलाई १ रनले पराजित गरेको थियो। यस्तै धनगढी प्रिमियर लिगको पहिलो संस्करणमा पारस खड्काको टिम चौराहा धनगढीले शरद भेसावकरको बिराटनगर किंग्सलाई पराजित गरेको थियो।