पोखरा प्रिमियर लिग – पीपीएलको बिहिबार २ महत्वपूर्ण घोषणा हुँदै

  • विकेटनेपाल, असोज १० – बुधबार 

नेपाली क्रिकेटमा एभरेस्ट प्रिमियर लिग ( इपिएल ) र धनगढी प्रिमियर लिग ( डीपीएल ) पछि अर्को प्रिमियर लिग प्रतियोगिता पोखरा प्रिमियर लिग यही कार्तिक ९ गते देखि २० गतेसम्म आयोजना हुँदैछ।

क्विन्स इभेन्ट्सको आयोजनामा पोखरामा हुन लागेको प्रातियोगिता नेपालकै सर्वाधिक धनराशीको हुने जसमा ६ वटा सहरको प्रतिनिधित्व गर्ने टिम हुने यस अघिनै घोषणा गरिएको छ। धनगढी प्रिमियर लिगको बिजेताले २५ लाख तथा एभरेस्ट प्रिमियर लिगको बिजेताले २१ लाख रुपैयाँ पाएका थिए। यस्तै प्रत्येक टिमले २ जना बिदेशी खेलाडी खेलाउन पाउने प्रतियोगिताको प्रत्यक्ष प्रशारण हिमालय टिभी एचडीले गर्ने यस अघि सम्झौता भइसकेको छ।

२ ठुलो घोषणा हुँदै  

पोखरा प्रिमियर लिगले बिहिबार दिउसो पत्रकार सम्मेलन आयोजना गर्दै टिमको नाम र मार्की खेलाडीहरु घोषणा गर्न लागेको हो। प्रतियोगिताको घोषणा गरे पनि हालसम्म खेल्ने टिमहरु तथा मालिकको नाम सार्वजनिक गरिएको थिएन।

यस अघि एभरेस्ट प्रिमियर लिग र धनगढी प्रिमियर लिगमा पनि मार्की वा रणनीतिक खेलाडीको घोषणा गरेको थियो। हालसम्म नेपालमा भएका टि-२० लिगमा पारस खड्का,ज्ञानेन्द्र मल्ल, शरद भेसावकर, शक्ति गौचन,बिनोद भण्डारी, बसन्त रेग्मी, सोमपाल कामि, दिपेन्द्र ऐरि मार्की खेलाडी तथा कप्तानको भूमिका निर्वाह गरेका छन्।

पोखरा प्रिमियर लिग खेलिने मैदान

राष्ट्रिय टिमबाट सन्यास लिएका खेलाडी शक्ति गौचन , प्रिमियर लिगमा असफल रहँदै आएका बिनोद भण्डारी जस्ता खेलाडीहरु मार्की प्लेयरको रुपमा पुनः घोषित हुनेछन् वा छैनन् हेर्न रोचक हुनेछ।अर्कोतर्फ डिपीएल र पीपीएलले पनि टिमहरु सहरको नामबाट नामकरण गर्दा पीपीएलले कुन कुन सहरको नाममा टिम बनाउनेछ हेर्न लायक हुनेछ।

युएई क्रिकेट टिमका कप्तान रोहन मुस्तफाले केहि दिन अघि ट्विट गर्दै आफु बुटवल ब्लास्टर्स टिमबाट पीपीएल खेल्ने बताएका थिए जसको केहि बेरमानै उनले उक्त ट्वीट हटाएका गरेका थिए। टिमको नाम अधिकारिक रुपमा घोषणा नभएको हुँदा उनले ट्वीट हटाएको अनुमान गर्न मुस्किल छैन भने अर्कोतर्फ अधिकारिक घोषणा अघिनै बुटवल ब्लास्टर्स टिम पीपीएलमा रहने भने खुलासा उनैले गरेका छन्।

अक्सनमार्फत खेलाडी छनौट , कति हुनेछ मूल्य 

टिम र मार्की खेलाडीहरुको घोषणा गरेको केहि दिन भित्रै पोखरा प्रिमियर लिगको अक्सन आयोजना हुनेछ।

प्रतियोगितामा सहभागी प्रत्येक टोलीले आफ्नो स्क्वाडमा १५-१८ खेलाडीलाई समावेश गराउनु पर्नेछ। जस्मध्ये न्यूनतम १० खेलाडीको छनौट अक्सन मार्फत हुनेछ भने हरेक टोलीमा १ मार्की खेलाडी, २ बिदेशी खेलाडी र २ स्थानीय खेलाडीलाई ” लोकल आइकन ” का रुपमा टोलीमा लिनु पर्नेछ।

प्रतियोगितामा नाम दर्ता भएका खेलाडीहरुलाई ३ समुहमा विभाजन गरिने छ। पहिलो समुहमा क्याप्ड सिनियर, दोस्रो समुहमा क्याप्ड एज लेभेल र तेस्रो समुहमा अनक्याप्ड खेलाडी रहने व्यवस्था मिलाइएको छ।

क्याप्ड सिनियरको सुचीमा नेपाली सिनियर राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडीलाई राखिने छ। यस समुह अन्तर्गत पर्ने प्रत्येक खेलाडीको न्युनतम मुल्य ५० हजार रुपैयाँ रहनेछ भने अधिकतम मूल्य २ लाख ५० हजारसम्म रहने छ।

यस्तै क्याप्ड एज लेभलको सुचिमा नेपाली टोलीबाट यु-१५, यु-१७, यु-१९, यु-२१ र यु-२३ खेलेका खेलाडीहरु रहने छन्। यस समुहमा रहने खेलाडीको न्युनतम मूल्य ५० हजारबाट सुरु भएर अधिकतम मुल्य १ लाख ५० हजारसम्म पुग्नेछ।

अनक्याप्ड समुहमा भने नेपाली सिनियर राष्ट्रिय टोलि र उमेर समुहको टोलीबाट नखेलेका अन्य खेलाडीलाई समावेश गरिएको छ। यस सुचिमा रहने खेलाडीको मूल्यभने न्युनतम ३० हजारबाट अधिकतम १ लाख रुपैयाँसम्म रहनेछ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy