- विकेटनेपाल-१७ कार्तिक, शनिवार (पोखरा)
सन्नी पटेलले बिष्फोटक ब्याटिंग गर्दै अविजित ५१ रन जोडेपछि चितवन राइनोजले बिराटनगर टाईटन्स बिरुद्धको अन्तिम लिग खेलमा ४ विकेटको रोमाञ्चक जित दर्ता गरेको छ। जितसंगै चितवन अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ।
चितवन र बिराटनगरको अन्तिम लिग खेलको नतिजा पश्चात पोखरा पल्टन अंकतालिकामा शिर्ष स्थानमा रहँदै सोझै प्रतियोगिताको फाइनल प्रवेश गरेको छ। यस्तै क्रमश दोस्रो र तेस्रो स्थानमा रहेका चितवन राइनोज र काठमाण्डौ रोयल्सले भने फाइनल प्रवेशका लागि आइतवार एलिमिनेटरमा भिड्ने छन्।
पोखरा रंगशालाको क्रिकेट मैदानमा सम्पन्न रोमान्चक लिग खेलमा चितवनले बिराटनगरमाथि ४ विकेटको जित दर्ता गर्दा भारतीय खेलाडी सन्नी पटेल चितवनका लागि नायक साबित बने।

सन्दिप लामिछानेले सानदार बलिङ्गगर्दै हरि शंकर शाहा, पारस खड्का, आरिफ शेख र भूबन कार्कीलाई पभेलियन फर्काएपछि दबाबमा आएको चितवनलाई जितका लागि अन्तिम दुई ओभरमा २६ रनको आवश्यकता रहेको थियो।
लामिछानेले गरेको खेलको १९ औं ओभरमा चितवनका सन्नी पटेल र सोनु तामाङ्गले १८ रन लुटेपछी चितवन खेलमा फर्कियो। सो ओभरमा सन्नीले दुई छक्का र सोनुले १ चौका प्रहार गर्दै खेल बिराटनगरबाट टाढा पुर्याए।
जितका लागि अन्तिम ओभरमा अब ८ रन बाँकी रहँदा किशोर महतोको दोस्रो र तेस्रो बलमा लगातार चौका प्रहार गर्दै सन्नीले चितवनलाई एलिमिनेटरसम्म पुर्याए।
अविजित ५१ रन प्रहार गर्ने क्रममा सन्नीले २४ बलमा ४ चौका र समान छक्का प्रहार गरे। यस्तै सोनु तामांगले अविजित ११ रन बनाउने क्रममा १० बलमा २ चौका प्रहार गरे। खेलको प्लेयर अफ दि म्याच सन्नी पटेल घोषित भए।

सन्नी र सोनु अघि चितवनका लागि आरिफ शेख ३५, स्मित पटेल २१ र अनिल साह १३ रन बनाएर आउट भएका थिए।
बिराटनगरको बलिङ्गमा सन्दिप लामिछानेले सर्वाधिक ४ विकेट लिएपनि टोलीलाई जित दिलाउन सकेनन्। आफ्नो ४ ओभरको स्पेलमा सन्दिपले १ मेडन सहित २५ रन खर्चिए। यस्तै सुनिल धमला र शाहब आलमको नाममा समान १-१ विकेट रह्यो।

यसअघि पहिलो इनिंगमा टस जितेर ब्याटिंगमा उत्रिएको बिराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४५ रनको योगफल तयार गरेको थियो।
बिराटनगरको इनिंगमा जैद आलमले सर्वाधिक ५१ तथा सुनिल धमलाले ४७ रनको योगदान गरेका थिए। आलमको प्रतियोगितामा यो लगातार तेस्रो अर्धशतक समेत हो।
ओपनिङ्ग गर्न उत्रिएका जैदले ४७ बलमा ६ चौका र २ छक्का सहित ५१ रन जोडेका थिए। त्यसक्रममा उनले सुनिल धमलासंग पहिलो विकेटका लागि ८७ रनको साझेदारी गरेका थिए।
सुनिल व्यक्तिगत ४७ रनको स्कोरमा स्मित पटेलको शिकार बने। ४५ बल खेलेका सुनिलले ७ चौका प्रहार गरेका थिए।
यस्तै पुस्प थापाले अविजित ११, प्रदिप ऐरी ११ र राजेश पुलामीले ८ रन जोडेका थिए।
चितवनको बलिङ्गमा स्मित पटेल र पारस खड्काको नाममा समान २-२ विकेट रह्यो। आ-आफ्नो ४ ओभरको स्पेलमा पारस र स्मितले क्रमश २९ र २७ रन खर्चिएका थिए।











