पोखराले भित्र्यायो अर्का बिदेशी खेलाडी : इपिएल टि-२०

२०७५ मंसिर ७, शुक्रबार १६:१०

  • विकेटनेपाल-मङ्सिर ७, शुक्रवार 

मङ्सिर २२ गतेबाट सुरु हुने एभरेष्ट प्रिमियर लिग टि-२० (इपिएल) क्रिकेटका लागि हरेक टोलीले बिदेशी खेलाडी भित्र्याउने क्रम जारी छ। यसै बिच पोखरा राइनोजले आफ्नो दोस्रो बिदेशी खेलाडीको नाम पनि सार्वजनिक गरेको छ।

एभरेस्ट प्रिमियर लिगमा एउटा टिमले १५ जना खेलाडीको टिममा ३ जना बिदेशी खेलाडी राख्नैपर्ने र ३ जना खेलाडीलाई अन्तिम ११ मा पनि समाबेस गर्नुपर्ने नियम रहेको छ।

शक्ति गौचनको कप्तानीमा रहेको टोलि राइनोजले यस अघिनै स्कटल्याण्डका कप्तान कायल कोट्जरलाई आफ्नो बिदेशी खेलाडीको रुपमा घोषणा गरेको थियो। यस्तै अष्ट्रेलियन मुलका नेथन डोडलाई समेत पोखराले प्रतियोगितामा मुख्य प्रशिक्षकको रुपमा अघिल्लो साता नियुक्त गरेको थियो।

इंग्ल्याण्डका घरेलु क्रिकेटर पल कोग्लिनले इपिएलमा पोखरा राइनोजबाट खेल्ने भएका हुन्। शुक्रवार जारी गरिएको प्रेस बिज्ञप्तिमा पोखराले कोग्लिनलाई टोलीमा समावेश गरिएको जानकारी दिएको छ।

Paul Coughlin
Paul Coughlin

इंग्ल्याण्डको घरेलु क्रिकेटमा कोग्लिनले नोट्टीन्घमशायरको लागि खेल्दै आएका छन् भने डर्हमको लागि पनि खेलीसकेका छन्।

दायाँ हाते ब्याट्सम्यान तथा मध्यम गतिका अलराउण्डरसंग घरेलु क्रिकेटमा ३२ प्रथम श्रेणी खेल, २६ लिस्ट ए खेल र ३३ टि-२० खेलको अनुभव रहेको छ। सन् २०१७ को घरेलु टि-२० सिजनमा कोग्लिनले डर्हमको कप्तानी समेत गरेका थिए।

यसै बर्ष वेस्ट इन्डिज ‘ए’ टिम बिरुद्ध इंग्ल्याण्ड लायन्स टिमको प्रतिनिधित्व गर्ने मौका समेत कोग्लिनले पाईसकेका छन्। उक्त खेलमा स्याम कुरान, केटन जेन्निङ्ग्स लगायत इंग्ल्याण्ड क्रिकेटरहरु समेत खेलेका थिए।

Paul Coughlin
Paul Coughlin

प्रथम श्रेणी क्रिकेटमा इंग्ल्याण्ड लायन्सको प्रतिनिधित्व गरिसकेका कोग्लिनले ५१ इनिंगमा ११६८ रन जोडेका छन् भने बलिंगतर्फ समेत ५२ इनिंगमा ७५ विकेट लिएका छन्। यस्तै २२ टि-२० इनिंगमा कोग्लिनको नाममा १३७.८९ को स्ट्राइक रेटमा ४३३ रन रहेको छ।

शक्ति गौचनको कप्तानीमा रहेको पोखरा राइनोजमा बिनोद भण्डारी, देव साह, सुनिल धमला, सौरव खनाल, सुसान भारि, सुबेन्दु पाण्डे, नन्दन यादव, किशोर महतो, बिपिन खत्री, राजेश पुलामी र बिक्रम सोब जस्ता खेलाडी रहेका छन्। गत सिजन पोखराको बिदेशी खेलाडीको रुपमा ताज वाली, इस्रारुल्लाह र आसिफ अलि खेलेका थिए।

एभरेष्ट प्रिमियर लिग (इपिएल) मङ्सिर २२ गते देखि सुरु भइ फाइनल खेल पौष ७ गते ( डिसेम्बर ८ – डिसेम्बर २२ ) खेलिनेछ। कुल १५ दिन संचालन हुने प्रतियोगितामा २ दिन ( मङ्सिर २७ गते र पौष ६ गते ) बाहेक सम्पूर्ण दिन खेलहरु संचलान हुनेछन्।

प्रतियोगितामा काठमाडौं किंग्स ११, भैरहवा ग्लाडीएटर्स, बिराटनगर वारियर्स, पोखरा राइनोज, ललितपुर प्याट्रीयट्स र चितवन टाइगर्स गरि ६ टोलीको सहभागिता रहनेछ।

यस बर्षको संस्करणमा सिकन्दर राजा (काठमाडौं किंग्स एघार), सन्नी पटेल ( ललितपुर प्याट्रीएट्स ) , गौरभ तोमर ( ललितपुर प्याट्रीएट्स )  , केभिन ओ ब्रायन (काठमाडौं किंग्स एघार), रोहन मुस्तफा (काठमाडौं किंग्स एघार), पौल स्टर्लिंग (चितवन टाइगर्स), मोहम्मद नाबिद (भैरहवा ग्लाडीएटर्स), कायल कोट्जर (पोखरा राइनोज) जस्ता नाम चलेका बिदेशी खेलाडीहरुले सहभागिता जनाउदै छन्।

इपिएलको अघिल्लो संस्करणको उपाधि पारस खड्काको टिम बिराटनगर वारियर्सले शरद भेसावकर कप्तानीको भैरहवा ग्लाडीएटर्सलाई पराजित गरे जितेको थियो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy