ललितपुर पेट्रिएट्सलाई ९ विकेटले पराजित गर्दै पोखरा राइनोजले एभरेस्ट प्रिमियर लिगमा पहिलो जित दर्ता गरेको छ। ललितपुरको भने दुवै खेलमा पराजित भएको छ।
खराब आउटफिल्डका कारण ढिला सुरु भएपछि ७ ओभरमा झारिएको खेलमा टस हारेर पहिले ब्याटिंग गर्दै ललितपुरले दिएको ५२ रनको लक्ष्य पोखराले ६.३ ओभरमा १ विकेट गुमाएर भेटायो।
पोखराको लागि दक्षिण अफ्रिकी ब्याट्सम्यान रिचर्ड लेभीले अविजित ३८ रन बनाए जुन क्रममा २२ बलमा ५ चौका र १ छक्का प्रहार गरे। रित गौतमले १२ रन बनाए। लेभी र गौतमले ३९ रनको ओपनिंग साझेदारी गरेका थिए।
जितको लागि २ ओभरमा १३ रन आवस्यक रहंदा छैठौं ओभरमा अज्मतुल्लाह ओमरजाईले रित गौतमको विकेट लिंदै मात्र २ रन खर्चिएपछि खेल रोमान्चक बनेको थियो। तर अन्तिम ओभरको पहिलो २ बलमा पवन सर्राफलाई चौका र छक्का प्रहार गर्दै लेभीले जित सहज बनाए।
यस अघि टस हारेर ब्याटिंग गरेको ललितपुर पेट्रिएट्सले निर्धारित ७ ओभरमा ६ विकेट गुमाएर ५१ रन बनाएको थियो। उसको लागि सन्दुन विराक्कोडीले सर्वाधिक १९ रन बनाए भने नारायण जोशीले ११ तथा ओशाडा फर्नान्डोले १० रन बनाए। कप्तान कुशल भुर्तेल ३ रन, पवन सर्राफ ५ रन तथा अज्मतुलाह ओमरजाईले १ रन बनाए।
पोखराको बलिंगमा प्लेयर अफ द म्याच चुनिएका दायाँ हाते पेसर नन्दन यादवले सर्वाधिक ३ विकेट ( २-०-११-३ ) लिए भने बिक्रम सोबले २ ( २-०-११-२ ) तथा केसरिक् विलियम्सले १ विकेट ( २-०-१५-१ ) लिए।
लिग अन्तर्गत पोखराको यो पहिलो जित हो। यस अघि पोखरा र भैरहवा ग्ल्याडीएटर्स बीचको खेल वर्षाका कारण प्रभावित हुँदा एक/एक अंक बाँडेको थियो। ललितपुरको यो दोश्रो हार हो जसले यस अघि काठमाडौँ किंग्स-११ संग हार व्यहोरेको थियो।