प्रम कप : आर्मीको दोश्रो जित

२०७७ माघ ४, आईतवार १५:२७

कर्णाली प्रदेशलाई ८० रनले पराजित गर्दै त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार दोश्रो जित दर्ता गरेको छ। आर्मीले पहिलो खेलमा गण्डकी प्रदेशलाई ९८ रनले पराजित गरेको थियो। जितपछि आर्मी अंकतालिकामा ४ अंक सहित शिर्षस्थानमा कायमै रहेको छ।

मुलपानी मैदानमा सम्पन्न खेलमा आर्मीले दिएको १९६ रनको लक्ष्य पछ्याउने क्रममा कर्णालीले ३३.३ ओभरमा सबै विकेट गुमाएर ११५ रन मात्र बनाउन सक्यो।

स्कोरकार्ड , अंकतालिका खेलतालिका 

कर्णालीको लागि कप्तान रबिन्द्र जंग शाहीले सर्वाधिक ३०, हेमन्त ओलीले १६ तथा दिनेश अधिकारीले १२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

एक समय ६१ रनमा २ विकेट मात्र गुमाउदै लक्ष्यतर्फ अघि बढेको कर्णालीले थप ८ विकेट गुमाउदा थप ५४ रन मात्र योगफलमा जोड्न सक्यो।

आर्मीको बलिंगमा देब्रे हाते स्पिनर सुशन भारिले ४ विकेट ( ८.३-३-१९-४ ) तथा शाहब आलमले ३ विकेट ( १०-१-४४-३ ) लिए। रोहित पौडेलले २ तथा हरि चौहानले १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको आर्मीले ४३.१ ओभरमा सबै विकेट गुमाएर १९५ रन बनाएको थियो।

आर्मीको लागि ओपनर अनिल मण्डलले सर्वाधिक ८९ रन बनाए जुन क्रममा ११४ बलमा १४ चौका प्रहार गरे। यस्तै कप्तान बिनोद भण्डारीले ४१ रन, राजेश पुलामीले १६ रन, लोकेश बमले १३ रन तथा रोहित पौडेलले ११ रन बनाए।

खराब सुरुवात गरेको आर्मीले पहिलो ३ विकेट ४२ रनको योगफलमा गुमाएपछि मण्डल र भण्डारीले चौथो विकेटक लागि ११५ रनको साझेदारी गरेका थिए। उक्त साझेदारी टुटेपछि पुनः आर्मीको इनिंग्स धरासायी बन्न पुगेको थियो।

अनिल मण्डलले ८९ रन बनाए

कर्णाली प्रदेशको बलिंगमा दिनेश अधिकारी, राज शाह र दिवान पुनले समान २ विकेट तथा अनुज चुनरा, युनिष बिक्रम सिंह र रबिन्द्र शाहीले समान १ विकेट लिए।

आइतबारनै टियु मैदानमा सम्पन्न खेलमा डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लबलाई बागमती प्रदेशले ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गर्यो।

प्रतियोगिता अन्तर्गत सोमबार पनि दुईवटा खेलहरु संचालन हुनेछन्। टियु मैदानमा सुदूरपश्चिम र बागमती प्रदेश तथा मुलपानी मैदानमा गण्डकी प्रदेश र प्रदेश-१ ले प्रतिस्पर्धा गर्नेछन्।

स्कोरकार्ड , अंकतालिका खेलतालिका 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy