गायक प्रमोद खरेल डिपिएलको गुडविल एम्बासेडर

२०७४ चैत्र १०, शनिबार २१:३५

  • विकेटनेपाल – १० चैत्र, शनिवार

यहि चैत्र १७ गतेबाट धनगढीमा सुरुहुने धनगढी प्रिमियर लिग (डिपिएल) को दोस्रो सिजनमा चर्चित गायक प्रमोद खरेल प्रतियोगिताको “गुडविल एम्बासेडर” घोषणा गरिएका छन्।

आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुबाश शाहीले प्रेष बिज्ञप्ति जारी गर्दै चर्चित गायक प्रमोद खरेललाई प्रतियोगिताको गुडविल एम्बासेडरका रुपमा छनौट गरिएको जानकारी दिएका हुन्। आयोजकका अनुसार प्रतियोगिताको उद्घाटन समारोहमा समेत गायक प्रमोद खरेलको बिशेष प्रस्तुति रहने छ। गायक खरेलले डिपिएलको पहिलो संस्करणको शिर्ष गीतमा समेत स्वर दिएका थिए।

गायक प्रमोद खरेल नेपाली क्रिकेटका ठुला समर्थक हुन्। नेपाली क्रिकेट टोलिको समर्थनमा सामाजिक संजालमा आफ्ना भनाइ राख्न देखि क्रिकेटसंग सम्बन्धित गीत गाउन केहीमा पनि खरेल पछी पर्दैनन्। उनको स्वरमा रहेका क्रिकेट सम्बन्धि गीतहरु, संसार जित्ने साहस छ यो छाती मा, डिपिएलको शिर्ष गीत आदि नेपाली क्रिकेट समर्थकमाझ प्रख्यात छन्।

डीपीएलको दोस्रो संस्करणको खेल तालिका सार्वजनिक भइसकेको छ। चैत्र १७ गतेबाट धनगढीमा सुरुहुने प्रतियोगिताको पहिलो खेलमा सोमपाल कामी रणनीतिक खेलाडी रहेको टिम चौराहा धनगढीले ज्ञानेन्द्र मल्ल रणनीतिक खेलाडी रहेको काठमाडौं गोल्डेनसको सामना गर्ने छ। खेल दिउँसो १:०० बजेबाट सुरुहुने छ।

केहिदिन अघि मात्र आईसीसीबाट मान्यता प्राप्त गरेको दोस्रो सिजनको डीपीएलको बिजेताले २५ लाख रुपैयाँ पाउनेछ जुन नेपाली घरेलु क्रिकेटकै सर्बाधिक पुरस्कार राशी हो। यस्तै उपविजेताले रु. १० लाख, तेश्रो हुने टिमले रु. ३ लाख तथा चौथो हुने टिमले रु. २ लाख पुरस्कार पाउनेछ। यस्तै उत्कृष्ट हुने खेलाडीले टिभीएस अपाचे १८० सिसिको मोटरसाइकल पाउनेछ भने प्रत्येक खेलको म्यान अफ द म्याचले रु. १० हजार पाउनेछ। आयोजकले प्रतियोगिताको पुरस्कारको लागि मात्रै ५० लाख रुपैयाँ कम्तिमा खर्च हुने बताएको छ। प्रतियोगिताको अनुमानित लागत ३ करोड रुपैयाँ रहेको छ।

प्रतियोगितामा खेलाडी छनौट गर्नका लागि गत महिना सम्पन्न अक्सन मार्फत सम्पन्न बसन्त रेग्मी, करन केसी, सागर पुन र आरिफ शेख सर्वाधिक महंगा खेलाडी बनेका थिए। बसन्त रेग्मीलाई बिराटनगर किंग्स, करन केसी र आरिफ शेखलाई महेन्द्रनगर युनाईटेड र सागर पुनलाई रुपन्देही च्यालेन्जर्सले रु १,५०,००० को बोलि लागाएका थिए। सबै खेलाडी “ए” श्रेणीका खेलाडी हुन्। अक्सनमा ‘ए’ श्रेणी मा रहेका खेलाडीहरुको न्यूनतम मूल्य १ लाख बाट बोलि लाग्न सुरु हुने र अधिकतम १ लाख ५० हजारसम्म बोलि लाग्ने नियम थियो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy