एमएम कप : प्रेम तामाङको शानदार शतकमा पुलिसको लगातार दोस्रो जित

२०७५ पुष २२, आईतवार १६:४८

  • विकेटनेपाल- पुष २२ , आइतबार  

प्रेम तामाङले शानदार शतकीय इनिङ्स खेलेपछि नेपाल पुलिस क्लबले मनमोहन स्मृति कप एक दिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोश्रो जित हात पारेको छ।

शनिवार पुलिसले प्रदेश नम्बर-२ लाई ११२ रनले पराजित गरेको थियो। दोश्रो जितसंगै पुलिस प्रतियोगिताको सेमीफाइनल प्रवेश गर्ने पहिलो टिम समेत बनेको छ।

सुनसरीको इनरुवामा जारि प्रतियोगितामा पहिले ब्याटिङ गर्दै पुलिसले ५० ओभरमा ८ विकेट गुमाएर ३७३ रनको बिशाल योगफल तयार गरेको थियो। जवाफमा स्थानीय टिम शान्तिदिप इनरुवा ९६ रनमै समेटिन पुग्दा खेल पुलिसले २७७ रनले जित्यो।

शतक बनाउने क्रममा यु-१९ राष्ट्रिय टिमका पुर्व कप्तान समेत रहेका प्रेम तामाङले १२१ बलमा ४ छक्का र १६ चौका प्रहार गर्दै १३८ रन बनाए। प्रेमको शतक नेपाल पुलिस क्लबको खेलाडीले घरेलु क्रिकेटमा बनाएको पहिलो शतक हो।

यस्तै कुशल भुर्तेलले ७८ रन ( ५१ बलमा ३ छक्का र ९ चौका ) तथा ओपनर अमित श्रेष्ठले ६९ रन ( ५३ बलमा १ छक्का र १२ चौका ) बनाएका थिए।

शान्ति दिपका बलर सोनु मण्डलले सर्वाधिक ५ विकेट लिए पनि १० ओभरमा ८० रन खर्चन पुगे।

जवाफमा ३७४ रन लक्ष्य पछ्याउने क्रममा  शान्ति दिपले ३२.३ ओभरमा ९६ रन बनाउँदा सम्पूर्ण विकेट गुमाउन पुग्यो।

उत्कृस्ट बलिङ्ग गर्ने क्रममा पुलिसका नव प्रवेशी बलर तथा यु-१९ राष्ट्रिय क्रिकेट टिमका देब्रे हाते स्पिनर सागर ढकालले सर्वाधिक ३ विकेट ( ९-२-११-३ ) लिए। यस्तै ललित राजबंशीले २ विकेट लिंदा दिपेश श्रेष्ठ, रामनरेश गिरि र योगेन्द्र कार्कीले १/१ विकेट लिए।

पुलिसका तिब्र गतिका बलर तथा राष्ट्रिय क्रिकेटर रहिसकेका दिपेश श्रेष्ठले ६ ओभर बलिङ गर्ने क्रममा लगातार ५ ओभर मेडन गरेका थिए। उनले ६ ओभरमा १ विकेट लिंदा ४ रन मात्रै खर्चिए।

माघ ७ गतेसम्म चल्ने प्रतियोगितामा शान्ति दीप नेपाल इनरुवा तथा इनरुवा नगरपालिकाको संयुक्त आयोजना रहेको छ।

प्रतियोगिताको विजेताले उपाधिसँगै रु. ४ लाख १ हजार , उपविजेताले रु २ लाख १ हजार तथा सेमिफाइनलमा पुग्ने टोलीले रु २५/२५ हजार पाउनेछन्। यस्तै उत्कृष्ट खेलाडीले रु ५१ हजार प्राप्त गर्दा उत्कृष्ट बलर र ब्याट्सम्यानले जनही रु २० हजार १०० पुरस्कार पाउनेछन्। अनुशासित टोलीले १५ हजार र उदीयमान टोलीले १० हजार नगद पाउनेछन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy