PSL : गर या मरको खेल जित्दै कराची प्लेअफमा, अजिजको आक्रामक इनिंग्स

जित्ने पर्ने खेलमा क्वेटा ग्ल्याडीएटर्सलाई १४ रनले पराजित गर्दै कराची किंग्स युएईमा जारि पाकिस्तान सुपर लिगको प्लेअफ चरण प्रवेश गरेको छ।

अबुधाबी स्थित शेख जायद स्टेडियममा सम्पन्न खेलमा कराचीले दिएको १७७ रनको लक्ष्य पछ्याउने क्रममा क्वेटाले २० ओभरमा ६ विकेट गुमाएर १६२ रन मात्र बनाउन सक्यो।

क्वेटाका कप्तान सरफराज एहमदले अविजित ५१ रन बनाएता पनि जितको लागि पर्याप्त भएन। जेक वेदरल्याण्डले २५ तथा हसन खानले २४ रन बनाए। कराचीको बलिंगमा मोहम्मद इल्यासले ३ विकेट ( ४-०-३९-३ ) तथा अर्शद इकबालले २ विकेट ( ४-०-३९-२ ) लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको कराचीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७६ रन बनाएको थियो।


कराचीको लागि शर्जिल खान र दानिश अजिजले समान ४५ रन बनाए। शर्जिलले ३४ बलमा ३ चौका र ४ छक्का तथा आक्रामक ब्याटिंग गरेका अजिजले १३ बलमा २ चौका र ५ छक्का प्रहार गरे। चाडविक वाल्टनले ३४ तथा बाबर आजमले २३ रन बनाए।

विस्फोटक ब्याटिंग गर्ने क्रममा दानिश अजीजले इनिंग्सको १९ औं ओभरमा ज्याक विल्डरमाउथलाई पहिलो बलमा चौका पछि लगातार चार वटा छक्का प्रहार गरेका थिए। उक्त ओभरमा ३३ रन बनेको थियो जुन पाकिस्तान सुपर लिग इतिहासकै सबैभन्दा महँगो ओभर हो।

क्वेटाको बलिंगमा आरिश खानले ४ विकेट ( ४-०-२८-४ ) लिए भने खुर्रम शहजाद र अब्दुल नासिरले समान १ विकेट लिए।

प्लेअफ पुग्ने टिमको टुंगो लाग्यो 

क्वेटालाई पराजित गरेपछि नेट रन रेटमा लाहोरलाई पछि पार्दै १० खेलमा ५ जित र ५ हारपछि १० अंक बटुल्दै कराची अंकतालिकामा चौथो स्थानमा रहँदै प्लेअफ चरण प्रवेश गरेको छ। समान अंक रहेता पनि लाहोर नेट रन रेटमा पछि पर्दै पाँचौ स्थानमा रह्यो। क्वेटाले भने पुछारमा लिगको अन्त्य गर्दा १० खेलमा २ जित र ८ हार बेहोर्यो। यस अघिनै इस्लामावाद युनाइटेड, मुल्तान सुल्तान, पेशावर जाल्मी प्लेअफ प्रवेश गरिसकेका छन्। लिग चरणको अन्तिम खेलमा शनिवारनै इस्लामावाद र मुल्तान बीच प्रतिस्पर्धा हुनेछ जसले प्लेअफ समीकरण तय गर्नेछ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy