पाकिस्तान सुपर लिगको छैठौं संस्करण पाकिस्तानको कराचीमा शनिवार सुरु भएको छ।
लिग अन्तर्गत शनिवार राति सम्पन्न उद्घाटन खेलमा इमाद वासिम कप्तानीको कराची किंग्सले सरफराज एहमद कप्तानीको क्वेटा ग्ल्याडीएटर्सलाई ७ विकेटले सहजै पराजित गर्यो।
नेसनल स्टेडियममा सम्पन्न खेलमा क्वेटाले दिएको १२२ रनको लक्ष्य कराचीले १३.५ ओभरमा ३ विकेट क्षेतीमा पुरा गर्यो। कराचीको लागि इंग्ल्यान्ड ब्याट्सम्यान जोए क्लार्कले सर्वाधिक ४६ रन बनाए जुन क्रममा २३ बलमा ६ चौका र ३ छक्का प्रहार गरे। मोहम्मद नाबीले १४ बलमा अविजित ३० रन तथा बाबर आजमले २० बलमा २४ रन बनाए। क्वेटाका बलर मोहम्मद हसनैनले २ तथा उस्मान शिन्वारीले १ विकेट लिए।
यस अघि टस हरेर ब्याटिंग गरेको क्वेटाले १८.२ ओभरमा सबै विकेट गुमाएर १२१ रन बनाएको थियो। उसको लागि क्रिस गेलले सर्वाधिक ३९ रन योगदान दिए जसले २४ बलमा ४ चौका र २ छक्का प्रहार गरे। आजम खानले १७ , कैस एहमदले १६ तथा बेन कटिंगले ११ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
कराचीको बलिंगमा पेसर अर्शद इक्बालले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा १ मेडन ओभर गर्दै १६ रन खर्चिए। वकास मक्सुदले २ तथा इमाद वासिम, मोहम्मद आमिर, आमिर यामिन र ड्यानियल क्रिस्टीएनले समान १ विकेट लिए।
लिग अन्तर्गत आइतबार दुई वटा खेलहरु हुनेछन्। नेपाली समय दिउसो २:४५ बजे लाहोर कलन्दर्स र पेशावर जाल्मीले तथा राति ७:४५ बजे इश्लामाबाद युनाइटेड र मुल्तान सुल्तानले प्रतिस्पर्धा गर्नेछन्।
लिगमा कराची किंग्स, इस्लामावाद युनाइटेड, मुल्तान सुल्तान्स, लाहोर कलंदर्स, पेशावर जाल्मी र क्वेटा ग्ल्याडीएटर्स गरि ६ वटा टिम सहभागी रहेका छन्।
यो पनि पढ्नुस :-
https://wicketnepal.com/gambhir-on-sandeep-ipl-mini-auc-wn21/
https://wicketnepal.com/ip-auc-kun-team-bideshi-kheladi-wn21/