पाकिस्तान सुपर लिग ड्राफ्टमा २ नेपाली खेलाडीको नाम

२०७५ कार्तिक २५, आईतवार १९:४०

Sandeep Lamichhane
  • विकेटनेपाल, कार्तिक २५ 

२०१९ फेब्रुवरीमा आयोजना हुने पाकिस्तान सुपर लिग ( पीएसएल टी -२० ) प्रतियोगिताको आइतबार घोषित ड्राफ्टमा २ जना नेपाली खेलाडी पनि रहेको सार्वजनिक भएको छ।

पाकिस्तान सुपर लिगले आफ्नो फेसबुक पेजमार्फत ड्राफ्टमा सहभागी हुने प्लाटिनम, डायमण्ड, गोल्ड, सिल्भर र इमर्जिङ्ग श्रेणीमा ड्राफ्टमा रहेका खेलाडीहरु आज सार्वजनिक गरेको हो।

लिगको ड्राफ्ट कार्यक्रम यही नोभेम्बर २० तारिकमा आयोजना हुने बताईएको छ जसबाट टिमहरुले खेलाडी छान्नेछन्।

स्टार लेग स्पिनर सन्दिप लामिछाने सहित अर्का नेपाली राष्ट्रिय टिमका तिब्र गति बलर सोमपाल कामि पनि ड्राफ्टमा रहेका छन्।

सन्दिप सबै बिदेशी लिगहरुमा अक्सन र ड्राफ्टमा रहने गरेका छन् र खेल्दै पनि आएका छन् भने सोमपाल कामि अफगानिस्तान प्रिमियर लिग पछि दोश्रो पटक ठुलो लिगको ड्राफ्टमा छन्। अफगानिस्तान प्रिमियर लिगको सेप्टेम्बरमा भएको ड्राफ्टमा सन्दिप सहित, सोमपाल कामि र पारस खड्का समेत थिए जसबाट सन्दिपमात्रै छानिएका थिए।

पाकिस्तान सुपर लिग सोमपाल बिदेशी खेलाडी कोटाको सिल्भर श्रेणीमा रहेका छन् भने सन्दिप लामिछाने बिदेशी खेलाडी अन्तर्गतनै अझ माथिल्लो गोल्ड श्रेणीमा रहेका छन्। गोल्ड श्रेणीमा रहेका सन्दिपको मूल्य ड्राफ्टमा कम्तिमा ५० हजार डलर तथा सिल्भर कोटामा रहेका सोमपालको मूल्य ड्राफ्टमा २२ हजार डलर हुने जानकारी विकेटनेपाललाई प्राप्त भएको छ।

सन्दिप रहेको गोल्ड श्रेणी ( बिदेशी ) मा सिकन्दर राजा, उपुल थारंगा, मार्लन स्यामुएल्स, केभिन ओ ब्रायन, रभी बोपारा, स्टेभेन फिन, आन्द्रे फ्लेचर, जेम्स भिन्स, ब्रेन्डन टेलर जस्ता खेलाडीहरु रहेका छन्।

यस्तै सोमपाल रहेको सिल्भर श्रेणीमा दसुन शनाका, रोहन मुस्तफा, पिटर बोरेन, अफताब आलम, इम्रुल केयस, अंशुमन रथ, नजीबुल्लाह जाद्रान, सौम्य सरकार, केल कोट्जर, जिभन मेंडीस, बाबर हायात जस्ता खेलाडीहरु रहेका छन्।

पाँचौ संस्करणको पाकिस्तान प्रिमियर लिगको ड्राफ्ट नोभेम्बर २० तारिकमा पाकिस्तानको इश्लामबादमा आयोजना हुनेछ। लिगको प्रत्येक टिममा कुल १६ जना खेलाडीहरु हुनेछन्।

लिगमा कुल ६ वटा टिम सहभागी छन् जसमा लाहोर कलन्दर्स, क्वेटा ग्ल्याडीएटर्स, कराँची किंग्स, पेशेवर जाल्मी, इश्मलामाबाद युनाइटेड रहेका छन् भने अर्को १ टिमको निर्क्योल हुन् बाँकीछ।

लिगको यस अघि २०१८ को संस्करण उपाधि इश्लामबाद युनाइटेडले जितेको थियो जुन टिम ड्यारेन सामीको कप्तानीमा रहेको थियो।

नेपाली गुगली ब्वाई सन्दिप लामिछाने यस अघि इन्डियन प्रिमियर लिग, क्यारेबियन प्रिमियर लिग, ग्लोबल टि-२० लिग क्यानडा, अफगानिस्तान प्रिमियर लिगमा खेलीसकेका छन् भने यसै महिना नोभेम्बर २३ देखि युएईमा आयोजना हुने टि-२० लिग र डिसेम्बर १९ देखि आयोजना हुने  चर्चित अस्ट्रेलियन लिग बिग ब्यास लिग तथा ५ जनवरी देखि आयोजना हुने बंगलादेश प्रिमीयर लिग खेल्न समेत छनौट भइसकेका छन्।

इन्डियन प्रिमियर लिगमा सन्दिप २० लाख भारतीय रुपैयाँमा बिक्रि भएका थिए भने क्यारेबियन प्रिमियर लिगमा ५ हजार डलर तथा ग्लोबल टि-२० लिग क्यानडामा ४० हजार डलरमा ड्राफ्टबाट सन्दिप छानिएका थिए। यस्तै अफगानिस्तान प्रिमियर लिगमा उनले १५ हजार डलर तथा टि-२० लिगमा ३० हजार डलर मूल्य पाएका थिए। बिग ब्यास लिगमा सन्दिपले ६०-७० हजार डलर पाउनेछन्।

आईपीएलको पछिल्लो संस्करणमा दिल्लीबाट खेलेका सन्दिपले ३ खेलमा ५ विकेट लिएका थिए भने ग्लोबल टि-२० लिगमा मोन्टरियल टाइगर्सको लागि खेल्ने क्रममा ५ खेलमा ८ विकेट लिएका थिए। यस्तै क्यारेबियन प्रिमियर लिगमा सेन्ट किट्स एण्ड नेभिस पेट्रीएट्सको लागि उनले ५ खेलमा कुल ७ विकेट लिएका थिए। अफगानिस्तान प्रिमियर लिगमा नगरहर लिओपार्डको लागि खेलेको १ मात्र खेलमा सन्दिपले २ विकेट लिएका थिए।

Sompal Kami
Sompal Kami

युएई टि-१० लिगमा सन्दिप केरला किंग्सको लागि, बिग ब्यास लिगमा मेलबर्न मेलबर्न स्टारको लागि तथा बंगलादेश प्रिमियर लिगमा स्यलहेट सिक्सर्सको लागि खेल्नेछन्।

यस्तै नेपाली राष्ट्रिय टिमका नियमित तिब्र गति बलर सोमपाल कामि हालसम्म कुनै बिदेशी लिगको हिस्सा नभए पनि आफ्नो प्रदर्शनको कारण प्रभावित बनाउदै आएका छन्। लगातार सुधारिएको बलिङ्ग र फिटनेसको स्तरको कारण सोमपालको प्रशंशा हुने गरेको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy