दोश्रो इलिमीनेटरमा इश्लामावाद युनाइटेडलाई ८ विकेटले पराजित गर्दै वहाव रियाज कप्तानीको पेशावर जाल्मी युएईमा जारी पाकिस्तान सुपर लिगको फाइनल प्रवेश गरेको छ। पेशावरले लिग इतिहासमा यस अघि २०१७ देखि २०१९ सम्म तिन पटक फाइनल यात्रा तय गरेको थियो जुन क्रममा २०१७ मा एक पटक लिगको उपाधि जितेको थियो।
बिहिबार हुने फाइनलमा पेशावरले मुल्तान सुल्तान्ससंग उपाधिको लागि प्रतिस्पर्धा गर्नेछ। मुल्तानले क्वालीफायरमा इश्लामावादलाई पराजित गर्दै फाइनल पुगेको थियो। पेशावरले पहिलो इलिमीनेटरमा कराचीलाई ५ विकेटले पराजित गरेको थियो।
शेख जायद स्टेडियम, अबुधाबीमा इश्लामावादले दिएको १७५ रनको पेशावरले १९ बल बाँकी रहँदै मात्र २ विकेट गुमाएर पुरा गरेको हो।
लक्ष्य पछ्याउने क्रममा ओपनर कमरान अकमल ८ रन बनाएर आउट भएपछि हज्रतुल्लाह जजाईले जोनाथन वेल्ससंग १२६ रनको साझेदारी गर्दै टिमलाई सहज जिततर्फ डोर्याए। ४४ बलमा ६ चौका र ४ छक्का मद्दतले ६६ रन बनाएका जजाईलाई १५ औं ओभरमा मोहम्मद वासिमले बोल्ड गरे। उत्कृस्ट लयमा रहेका २४ वर्षीय अफगानिस्तान ब्याट्सम्यान जजाईले पहिलो इलिमीनेटरमा पनि खेल जिताउने ७७ रनको इनिंग्स खेलेका थिए।
जजाईको विकेट पछि क्रिजमा आएका शोयब मलिकले मात्र १० बलमा ५ चौका र १ छक्का मद्दतले अविजित ३२ रन बनाउदै जितसम्म डोर्याए। जोनाथन वेल्सले अविजित ५५ रन बनाउने क्रममा ४३ बलमा ६ चौका र ३ छक्का प्रहार गरे।
इश्लामावादको लागि हसन अलि र मोहम्मद वासिमले समान १ विकेट लिए।
.@PeshawarZalmi’s secret weapon! Another match winning knock from @zazai_3 🙌🏼 #HBLPSL6 | #MatchDikhao | #IUvPZ pic.twitter.com/ROcG2in1Uh
— PakistanSuperLeague (@thePSLt20) June 22, 2021
यस अघि टस हारेर ब्याटिंग गरेको इश्लामावादले निर्धारित २० ओभरमा ९ विकेट क्षेतीमा १७४ रन बनाएको थियो।
इश्लामावादको लागि नवौं नम्बरमा ब्याटिंग गरेका हसन अलिले आक्रामक ब्याटिंग गर्दै मात्र १६ बलमा ५ चौका र ३ छक्का मद्दतले ४५ रन बनाए। यस्तै कोलिन मुनरोले २९ बलमा ४४ रन बनाए। ब्रेण्डन किंगले १८, मोहम्मद वासिमले अविजित १७ तथा कप्तान शदाब खानले १५ रन बनाए।
११० रनमा ८ विकेट गुमाएको अवस्थामा हसन अलिले इनिंग्सको अन्तिममा विस्फोटक ब्याटिंग गरेका थिए। अलिले वहाव रियाजले गरेको १९ औं ओभरमा १८ रन तथा उमेद आसिफले गरेको १७ औं ओभरमा २२ रन बनाए।
पेशावरको बलिंगमा वहाव रीयाज ( ४-१-३५-२ ) र उमेद आसिफ ( ३-०-४४-२ ) ले समान २ विकेट लिए। यस्तै मोहम्मद इमरान, मोहम्मद इरफान र अर्मद बटको नाममा समान १ विकेट रह्यो।