मुल्तान सुल्तानसंग ११० रनको विशाल अन्तरले हार पछि सरफराज एहमद कप्तानीको क्वेटा ग्ल्याडीएटर्स पाकिस्तान सुपर लिगको प्ले-अफ रेसबाट बाहिर भएको छ।
युएईको अबुधाबी स्थित शेख जायद स्टेडियममा सम्पन्न खेलमा मुल्तानले दिएको १८४ रनको लक्ष्य पछ्याउने क्रममा क्वेटाले १२.१ ओभरमै सबै विकेट गुमाएर ७३ रन मात्र बनाउन सक्यो। क्वेटाले बनाएको ७३ रन लिग इतिहासकै दोश्रो कम टिम योगफल हो। २०१७ मा लाहोर कलन्दर्स पेशावरसंग ५९ रनमा समेटिन पुगेको थियो जुन सबैभन्दा कम टिम योगफल हो।
११० रनको हार पाकिस्तान सुपर लिगको इतिहासमै सबैभन्दा ठूलो रन अन्तरको हार हो। यस अघि लिग इतिहासमा १०० भन्दा माथिको अन्तरले पराजित भएको थिएन। गत सिजन इश्लामावाद युनाइटेड लाहोर कलन्दर्ससंग ७१ रनले पराजित भएको यस अघिको सर्वाधिक रन अन्तरको हार थियो।
लक्ष्य पछ्याउने क्रममा क्वेटाका ओपनर जेक वेदरल्याण्डले सर्वाधिक १९ रन बनाए भने कप्तान सरफराज एहमदले १३, उस्मान खानले १२ तथा मोहम्मद नवाजले १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
मुल्तानको बलिंगमा लेग स्पिनर इमरान ताहिरले सर्वाधिक ३ विकेट लिए जुन क्रममा उनले २ ओभर बलिंग गर्दै १ मेडन ओभर सहित मात्र ७ रन खर्चिए। इमरान खानले २ विकेट तथा शाहनवाज धानी, सोहेल तन्भिर र ब्लेसिंग मुजराबानीले समान १ विकेट लिए। क्वेटाले इनिंग्सको चौथो ओभरमा दुई वटा तथा दशौँ ओभरमा तिन विकेट गुमाउन पुगेको थियो।

यस अघि टस हारेर ब्याटिंग गरेको मुल्तानले २० ओभरमा ५ विकेट क्षेतीमा १८३ रन बनाएको थियो।
मुल्तानको ब्याटिंगमा ओपनर शान मसुदले सर्वाधिक ७३ रन बनाए जुन क्रममा ४२ बलमा ७ चौका र ४ छक्का प्रहार गरे। यस्तै जोनाथन चार्ल्सले मात्र २४ बलमा ५ चौका र २ छक्का मद्दतले ४७ रन बनए। कप्तान मोहम्मद रिजवानले २१ तथा खुस्दिल शाहले अविजित २० रन बनाए।
क्वेटाको बलिंगमा खुर्रम शाहजादले २ विकेट तथा मोहम्मद नवाज, जाहिर खान र हसन खानले समान १ विकेट लिए।
अंकतालिका
जितपछि मुल्तान ८ खेलमा ४ जित र ४ वटै हार बेहोर्दै ८ अंक सहित अंकतालिकाको चौथो स्थानमा यथावत रहेको छ। क्वेटा भने ९ खेलमा २ जित र ७ हार पछि ४ अंकमा सिमित रहँदै पुछारमा रहेको छ।

