पीएसएल : लाहोरको जितमा हफिज, जमान र रौफ उत्कृस्ट

फखर जमान र मोहम्मद हफिजले उत्कृस्ट साझेदारी गर्दा क्वेटा ग्ल्याडीएटर्सलाई पराजित गर्दै लाहोर कलन्दर्स पाकिस्तान सुपर लिग अंकतालिकामा लगातार दोश्रो जित पछि शिर्ष स्थानमा पुगेको छ। क्वेटा भने दुवै खेलमा हार पछि अंकतालिकाको पुछारमा रहेको छ।

नेसनल स्टेडियम कराचीमा सम्पन्न खेलमा क्वेटाले दिएको १७९ रनको लक्ष्य लाहोरले मात्र १ विकेट गुमाएर १० बल बाँकी रहँदै पुरा गर्यो।

लक्ष्य पछ्याउने क्रममा लाहोरका ओपनर फखर जमानले सर्वाधिक ८२ तथा मोहम्मद हफिजले ७३ रन बनाए। जमानले ५२ बलमा ८ चौका र २ छक्का तथा हफिजले ३३ बलमा ५ चौका र ६ छक्का प्रहार गरे। प्लेयर अफ द म्याच जमानले पहिलो विकेटको लागि कप्तान सोहेल अख्तरसंग ६४ रनको साझेदारी गरेका थिए। नवौं ओभरमा अख्तर आउट भएपछि जमान र हफिजले दोश्रो विकेटको लागि अविजित ११५ रनको साझेदारी गरे।

आक्रामक ब्याटिंग गरेका हफिजले २४ बलमा अर्धशतक पुरा गरेका थिए जुन लिगमा उनको व्यक्तिगत सबैभन्दा कम बलको अर्धशतक हो।

क्वेटाको बलिंगमा जाहिद मोहम्मदले १ मात्र विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको क्वेटाले २० ओभरमा ६ विकेट क्षेतीमा १७८ रन बनाएको थियो।

क्रिस गेलले अर्धशतक बनाएता पनि क्वेटाको जितको लागि पर्याप्त रहेन

१२ रनमा पहिलो २ विकेट गुमेपछि तेश्रो नम्बरमा ब्याटिंग गरेका क्रिस गेलले तेश्रो विकेटको लागि कप्तान सरफराज एहमदसंग शतकीय साझेदारी गरे। १४ औं ओभरमा सरफराजलाई हरिस रौफले क्याच आउट गर्दै तथा १५ औं ओभरमा गेललाई राशिद खानले बोल्ड गर्दै लाहोरलाई खेलमा फर्काएका थिए। अन्तिममा मोहम्मद नवाजले आक्रामक ब्याटिंग गरे।

गेलले ४० बलमा ५ चौका र ५ छक्का प्रहार गर्दै सर्वाधिक ६८ रन बनाए। सरफराजले ३३ बलमा ५ चौका मद्दतले ४० रन तथा मोहम्मद नवाजले २० बलमा ३ छक्का मद्दतले अविजित ३३ रन बनाए।

लाहोरको बलिंगमा दायाँ हाते पेसर हरिश रौफले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा ३८ रन खर्चिए। शाहिन अफ्रिदी, अहमद डानियल र राशिद खानले समान १ विकेट लिए।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy